१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पोर्चुगलविरुद्ध इरान, दुवै राष्ट्र स्पष्ट जितको खोजिमा

सारांस्क – इरानले सोमबार पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई जारी विश्वकपमा गोल गर्नबाट रोक्न सके उनीहरूका लागि त्यो ऐतिहासिक नतिजा बन्नेछ।

राेनाल्डो जारी प्रतियोगितामा पोर्चुगलका लागि गोल गर्ने एक मात्र खेलाडी हुन् । पहिलो खेलमा स्पेनविरुद्ध ह्याट्रिक गरेका रोनाल्डोले दोस्रो खेलमा मोरक्कोलाई १–० ले पराजित गर्दा समेत निर्णयक गोल गरेका थिए । जारी विश्वकपमा रोनाल्डोसँगै बेल्जियमका रोमेलु लुकाकुले ४ गोल गरेका छन् । ५ गोल गर्दै इङ्ल्यान्डका कप्तान ह्यारी केन अहिलेसम्म सर्वाधिक गोलकर्ता बनेका छन्।

त्यस्तै इरानको रक्षापंक्ति जारी विश्वकपकै सबैभन्दा बलियो मानिएको छ । विश्वपक छनोटका १० खेलमध्ये ९ मा गोलको सामना नगरेको इरानले जारी विश्वकपमा मात्र १ गोल खाएको छ । समूहको अन्तिम खेलमा पोर्चुगललाई पराजित गर्न सके इरानी टोलीका साथै प्रशिक्षक कार्लोस क्विरोजका लागि पनि त्यो अर्थपूर्ण नतिजा हु्नेछ । जसको नेतृत्वमा पोर्चुगलले २०१० को विश्वकप खेलेको थियो । उक्त विश्वकपको अन्तिम १६ मा स्पेनलाई १–० को नतिजा सुम्पिएकपछि रोनाल्डोले टोलीको हारको जिम्मेवारी क्विरोजले लिनुपर्ने बताएपछि यी दुईबीचको सम्बन्ध चिसिएको थियो।

२०१४ को ब्राजिल विश्वकपमा पनि इरानको प्रशिक्षण सम्हालेका क्विरोजले सोमबार पोर्चुगलविरुद्ध हुने खेललाई ‘सातवर्षे इरानी प्रशिक्षण अवधिकै सबैभन्दा रोचक र महत्वपूर्ण’ खेलको संज्ञा दिए । ‘सबैले हाम्रो प्रतियोगिताको अघिल्लो चरण प्रवेश सम्भावना समाप्त भइसक्यो भन्ने सोचेका छन्, तर हाम्रो अन्तिम १६ प्रवेशको सम्भावना जीवितै छ,’ क्विरोजले भने, ‘हामी हाम्रो सपनाका लागि अन्तिमसम्म लड्नेछाैं । हामीलाई हाम्रो यात्रा कठिन छ थाहा छ तर हामी यहाँ सबै खाले प्रतिद्वन्द्वी र उनीहरूका चुनौती सामना गर्नका लागि आएका हाैं । हामी सहज चुनौती चाहँदैनौं । दिनप्रतिदिन सुधारिएको प्रदर्शन गर्दै अघि बढिरहेका छौं।’

पहिलो खेलको इन्जुरी समयमा आत्मघाती गोलबाट भाग्यमानी साबित हुँदा मोरक्कोलाई १–० ले पराजित गरेको इरानले दोस्रो खेलमा स्पेनलाई १–० ले नतिजा सुम्पिएको थियो । स्पनेविरुद्ध बराबरी गोल फर्काए पनि उक्त गोल भिडियो सहायक रेफ्री (भिएआर) ले अस्वीकृत गरेको थियो । समूह ‘बी’ मा समाान ४ अंक जोडेका स्पेन र पोर्चुगल पहिलो र दोस्रो स्थानमा छन् । ३ अंक जोडेको इरान तेस्रो र अंकविहीन मोरक्को अन्तिम स्थानमा छन्।

इरानलाई पहिलो पटक विश्वकपको अन्तिम १६ को टिकट काट्न पोर्चुगलविरुद्ध जित आवश्यक छ । पोर्चुगलसँग बराबरी खेलेमा इरानको अघिल्लो चरण प्रवेश सम्भावना स्पेन र मोरक्कोबीच हुने समूहको अर्को खेलमा निर्भर हुनेछ । जहाँ मोरक्कोले स्पेनलाई २–० ले पराजित गर्नुपर्नेछ । ‘इरान टोलीको रक्षापंक्ति बलियो छ । त्यसैले हामीले इरानविरुद्ध सुखद नतिजा ल्याउन आक्रामक खेल्न आवश्यक छ,’ पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले भने।

प्रकाशित: ११ असार २०७५ १७:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App