१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्रधानमन्त्री भेट्न हजारौं किलोमिटर पैदल

नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको वाचा पूरा नगरेको र उक्त वाचालाई अवगत गराउने भन्दै एक हजार तीन सय ५० किलोमिटर पैदल हिँडिसकेको एक व्यक्तिले अस्पतालमा छोटो समय बसेपछि पुनः आफ्नो यात्रा सुरु गरेका छन्।

भारतको पूर्वी राज्य ओरिसाबाट उत्तरमा रहेको राजधानी दिल्लीतर्फ मुक्तिकान्त विस्वाल नामका ती मानिसले पुनः पैदल यात्रा सुरु गरेको बिबिसीले जनाएको छ । यात्राकै क्रममा उनी आफ्नो निर्दिष्ट स्थानबाट दुई सय १८ किलोमिटर पर आग्राको एक अस्पतालमा रहेका थिए।

आफ्नो राज्यमा रहेको अस्पतालको स्तारोन्नति गरिदिने भन्ने प्रधानमन्त्री मोदीको प्रतिबद्धता सम्झाउनका लागि आफूले हजारौं किलोमिटरको दूरी पैदलै हिँडिरहेको विस्वाललाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
हातमा भारतीय झन्डा बोकेर विस्वालले अप्रिल १६ बाट नयाँ दिल्लीतर्फको यात्रा सुरु गरेका थिए । तर गर्मीयामको बढ्दो तापक्रमका कारण उनको स्वास्थ्यमा समस्या आएपछि उनले आग्राको अस्पतालमा छोटो उपचार गराएको बिबिसीले जनाएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले सन् २०१५ मा ओरिसा राज्यमा रहेको अस्पताललाई अति सुविधासम्पन्न बनाइने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले राजधानी दिल्लीमा रहेको अल इन्डिया इन्सिट्युट अफ मेडिकल साइन्सलाई जस्तै ओरिसाको इस्पाट जनरल अस्पतालको सुविधा थप गरेर प्रख्यात बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
आफूले प्रधानमन्त्री मोदीलाई भेटेर इस्पाट जनरल अस्पतालको स्तोरोन्नति गर्नेबारे गरेको प्रतिबद्धता पूरा गर्न आग्रह गर्ने विस्वालले बिबिसीलाई बताए ।

‘प्रधानमन्त्रीले मलाई भेट्छन् वा भेट्दैनन् भन्ने मलाई थाहा छैन,’ विस्वालको भनाइ उद्धृत गर्दै बिबिसीले जनाएको छ । ‘यदि उनले मलाई भेटेनन् भने म भोक हडतालमा बस्छु,’ विस्वालले बताए । प्रधानमन्त्री मोदीले भने अझैसम्म विस्वालको मागलाई प्रतिक्रिया नदिएको बिबिसीले जनाएको छ । प्रधानमन्त्रीलाई भेट्न पैदल नै हजारौं किलोमिटर हिँडिरहेको बारे विस्वालले गरेको ट्विटलाई भारतको प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका नेताले रिट्विट गरेपछि यस विषयले सञ्चारमाध्यममा राम्रो स्थान पाइरहेको छ ।

भारतको प्रमुख प्रतिपक्षी दल कंग्रेस अध्यक्ष राहुल गान्धीले नै विस्वालको ट्विटलाई रिट्विट गरेका थिए । आफ्नो यात्राबारे गरिएको ट्विटलाई गान्धीले रिट्विट गर्नुले आफूले गर्व महसुस गरिरहेको बताएका विस्वालले गान्धीले आफ्नो अभियानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको समेत जिकिर गरेको बिबिसीले उल्लेख गरेको छ ।

कंग्रेस अध्यक्ष गान्धीले सहयोग गर्ने प्रतिबद्धता जनाएको बताएपनि उनले कसरी सहयोग गर्ने छन् भन्नेबारे भने विस्वालले केही बताएका छैनन् । विस्वाल यही साताको अन्त्यसम्म राजधानी दिल्ली आइपुग्ने अनुमान गरिएको बिबिसीले जनाएको छ।

 

प्रकाशित: ५ असार २०७५ ०२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App