भट्टाले भत्काउँदैछ पाँचखालको सुन्दरता

सोमबार, ०४ असार २०७५, ०८ : ५५ शिवहरि घिमिरे  | @shivsamir

काभ्रेपलाञ्लाचोक - राजा मानदेवको प्रामाणिक ऐतिहासिक दरबार क्षेत्र र काभ्रेपलाञ्चोक भगवतीको सिरोभाग। दनुवार समुदायको उत्पत्ति थलो। बस्तीसँगै जोडिएको झिकुखोला जलाधार क्षेत्र। छेवैमै पाँचखाल जंगल र ऐतिहासिक रानीपोखरी। ‘पाँचखाल क्षेत्र राजा मानदेव र अंशुबर्माको ऐतिहासिक दरबार र रानीपोखरीले बेग्लै ठाउँ मानिन्छ,’ पाँचखाल उपत्यकाको इतिहास र पुरातत्व अध्ययन गरिरहेका श्रीकृष्ण धिमालले भने, ‘तर सरोकारवाला निकायले यसको इतिहास बुझ्ने प्रयास नगर्दा पुराना महत्वपूर्ण धरोहर गुमाउने अवस्थामा पुग्यौं।’

पाँचखाल नगरभित्र सय मिटरको फरकमा सञ्चालित इँटा भट्टाले उपत्यकाको स्वरूप नै परिवर्तन गरिदिएको छ। सहरको पुरानो मौलिकता भट्टाकै कारण खोसिँदै छ। यी भट्टा स्कुल, स्वास्थ्य केन्द्र, जंगल, नदी र ऐतिहासिक रानीपोखरीको आडैमा छन्। जसले कृषि नगरका रूपमा परिचित स्वच्छ र हराभरा पाँचखाल क्षेत्रलाई सखाप पारेका छन्। बस्तीमा इँटा भट्टा व्यवसाय थालेपछि ९० प्रतिशत स्थानीय चिन्तामा छन्। भट्टाकै कारण कृषि नगर क्षेत्र साघुरिँदै गएको र प्रदूषण बढ्दै गएको स्थानीय बासिन्दा बताउँछन्। यसलाई जोगाउन स्थानीयले गत शनिबार ‘पाँचखाल उपत्यका वातावरण बचाउ’ नारासहित अन्तरक्रिया र सार्वजनिक सुनुवाइ कार्यक्रम गरे। यसको प्रतिनिधित्व गरेका थिए– अभियानका संयोजक सूर्यबहादुर भेटुवाल। ‘हामीले सार्वजनिक कार्यक्रममा मेयर महेश खरेललाई डाकेका थियौं, तर हजारौ स्थानीयको गुनासो सम्बोधन गर्न उहाँ आउनु भएन,’ उनले भने, ‘९० प्रतिशत मानिस सडकमा आउँदा पनि मेयर सा’पले चासो दिनु भएन।’ जिल्ला प्रशासन कार्यालय, वातावरण मन्त्रालय, पाँचखाल नगरपालिका, जिल्ला प्रहरी कार्यालय लगायतलाई पटक–पटक भट्टा बन्द गर्न पहल गरिएको उनले बताए। ‘भट्टाले यहाँको जनजीवनमा ठूलो असर पारेको छ, सबैतिर प्रदूषण मात्रै देखिन्छ,’ उनले थपे, ‘तर, स्थानीयको समस्या जिम्मेवार निकायले सुनेनन्।’

त्यसो त यहाँ पाँच हजार वर्ष पुराना रानीपोखरी र दरबार क्षेत्र रहेको भूमि छ। ‘मैले खेतका गह्रा खन्ने क्रममा २६ इन्चको ‘वाल’ (पर्खाल) भेट्टाएँ, त्यहाँ मानदेवको पालामा बनेका इँटा, ढुंगा भेट्टाएँ,’ स्थानीय प्रकाश ढकाललले भने, ‘यो मानेको टार (मानदेवको दरबार) भएको स्थान हो।’

यहाँ भेटिएका इँटा र पुराना सिक्का (मानांक) मानदेवकै पालाको रहेको अध्ययनकर्ता श्रीकृष्ण धिमालले बताए। उनले भने, ‘सिक्काका दुई पाटामा एकातिर पाली भाषामा भोगिनी लेखिएको छ र अर्कातिर सिंहको चित्र छ। पहिले यो ऐतिहासिक दरबार क्षेत्र थियो, अहिले त्यही ठाउँबाट इँटा बनाउने माटो निकालिन्छ। दरबार क्षेत्र भएको ठाउँको जमिन खारेर २० फिट गहिरो पारिएको छ।’

बूढापाकाहरूका अनुसार यो क्षेत्रमा पहिले रानीपोखरी, रानीपानीको कुवा र मानदेवको दरबार थियो। ‘पुरानी (रानी) को कुवाँदेखि ऐतिहासिक रानीपोखरीसम्म लगभग एक किमि पुराना इँटा समायोजन गरेर बनाइएका पाइपहरू रहेछन्,’ स्थानीय टंक ढकाल (७९) ले भने।

सय वर्षीया लालकुमारी धिमालले पनि यो क्षेत्रमा रानीपोखरी र दरबार क्षेत्र रहेको सुनाइन्। ‘हामी सानोमा गाईगोरु चराउने स्थान नै रानीपोखरी हो, झिगुखोला पारि रहेको रानीपानी भन्ने ठाउँमा अहिले पनि कुवा छ । त्यो, रानीले पानीखाने कुवा रहेछ,’ उनले बाल्यकाल सम्झँदै भनिन्, ‘रानीले स्नान गर्ने पोखरी भएकाले यसलाई रानीपोखरी भनिएको रहेछ।’ उनका अनुसार पहिले–पहिले खेतबारी खन्ने क्रममा माटाका साना–साना भाडाभित्र पैसा भेटिन्थे।

पाँचखालभित्र सय मिटरको फरकमा सञ्चालन भएका सातभन्दा बढी भट्टाले पूरै सहरलाई कुरूप र प्रदूषित बनाएको छ । यी भट्टा पाँचखाल नगरपालिकाका वडा नम्बर ७, ८, ९ र १२ मा सञ्चालित छन्। जय भिमसेन इँटाभट्टा, पलाञ्ञ्चोक भगवती इँटाभट्टा, उपकार इँटाभट्टा, नवदुर्गा इँटाभट्टा, सुवर्णेश्वरीलगायत भट्टा नगरपालिकामा समेत दर्ता छैनन् । २४ सै घण्टा सञ्चालनमा आउने भट्टाले कालो धुवाँ फाल्ने गरेका छन्।

नवदुर्गा इँटाभट्टाका सञ्चालक जितेन्द्र खायमलीले आफूले अन्य व्यवसाय गर्न नजानेकाले इँटाभट्टा सञ्चालन गर्दै आएको बताए। उनले भने, ‘मैले मात्रै होइन यहाँ अरूले पनि यस क्षेत्रमा इँटा व्यवसाय गर्दै आएका छन्, वातावरण हेरेर मात्रै भएन, आफूले जानेको व्यवसाय पनि गर्न पाउनुप-यो। हामीले धेरैलाई रोजगार दिएका छौं।’ अर्का व्यवसायी राजकुमार श्रेष्ठले पाँचखाललाई औद्योगिक सहरका रूपमा चिनाउन भट्टा सञ्चालन गर्दै आएको बताए। ‘स्थानीयलाई समस्या भएको कुरा म स्वीकार गर्छु,’ उनले भने, ‘यहाँका सबै इँटाभट्टा मेरो नियन्त्रणमा छन्, हामीले व्यावसायिक रूपमा अघि बढ्न लागि यसरी व्यवसाय गरेका हौं।’

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले नगरपालिकाले बन्द गर्नु भनेर पत्र पठाएपछि मात्रै आफूले बन्द गर्न सक्ने बताए। ‘अहिले सबै अधिकार स्थानीय तहलाई छ, हामीलाई धेरै स्थानीयले इँटाभट्टाले असर ग-यौं भनेर पत्र पनि पठाउनु भएका छ । तर नगरपालिकाको सिफारिसबिना हामीले केही गर्न सक्दैनौं।’ यसको समाधान पाँचखाल नगरपालिकाले नै गर्नुपर्ने भन्दै उनी पन्छिए।

पाँचखाल नगरपालिकाका मेयर महेश खरेरले पनि माथिल्लो निकायलाई देखाउँदै यसबारे खासै बोल्न चाहेनन्। उनले जिल्ला प्रशासन कार्यालयले बन्द गर्न सक्ने बताए। ‘हामीले मात्रै बन्द गर्न सक्दैनौं, यसमा मुख्य हात जिल्ला प्रशासन कार्यालयको हुन्छ।’ उनले ‘मानव समुदायलाई असर पार्ने गरी स्कुल, स्वास्थ्य केन्द्र, जंगल, नदी र ऐतिहासिक रानीपोखरीजस्ता स्थानहरूमा मानव सभ्यतालाई नै नाश गर्ने गरी इँटाभट्टा सञ्चालन गर्न नपाइने बताए।

पाँचखाल नगरपालिका वडा नम्बर ७ का अध्यक्ष पुष्कर ढकालले वातावरणमैत्री ढंगबाट इँटाभट्टा सञ्चालन हुनुपर्ने बताए। वातावरणलाई असर नपु-याउने किसिमले सञ्चालन गरिने जुनसुकै प्रकारका उद्योगलाई स्वागत गरिने जानकारी दिए। ‘उद्योगका नाममा स्थानीयको स्वास्थ्यमा खेलबाड गर्न पाइँदैन,’ उनले भने, ‘प्रक्रिया पु-याएर वातावरणमैत्री ढंगबाट सञ्चालन नगरेमा त्यस्ता उद्योगहरूलाई बन्द गर्नुपर्छ, हामीले यहाँका भट्टा बन्द गर्छौं।’







यसमा तपाईको मत

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad