१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हुदह विमानस्थल सरकारी फौजको नियन्त्रणमा

साना – साउदी अरब नेतृत्वको गठबन्धनको समर्थन रहेको यमनी फौजले बन्दरगाह सहर हुदहको मुख्य विमानस्थल हुथी विद्रोहीबाट आफ्नो नियन्त्रणमा लिन सफल भएको छ।

विद्रोहीको नियन्त्रणबाट हुदहको प्रमुख विमानस्थलबाट मुक्त गराउन सफल भएको सरकारी सेनाले हाल विमानस्थल वरपर बारुदी सुरुङ भए नभएकोबारे इन्जिनियरबाट अनुसन्धान कार्य भइरहेको बताएको छ।

‘अरब गठबन्धनको सहयोग रहेको सरकारी फौजले हुथी विद्रोहीको नियन्त्रणमा रहेको हुदहको प्रमुख विमानस्थल मुक्त गराउन सफल भएको छ,’ यमनी सेनाको सञ्चार कार्यालयलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।

हुदहको प्रमुख विमानस्थल गुमाएको बारे हुथी विद्रोहीले भने हालसम्म कुनै पनि धारणा व्यक्त नगरेको बिबिसीले जनाएको छ। भोकमरीको महामारीबाट पीडित लाखौं यमनी नागरिकको जीवनरेखाका रूपमा लिइएको हुदह बन्दरगाह वा सहरको मध्य भागतिर अहिले भने कुनै लडाइँ नभएको बताइएको छ । हुदह मात्रै हुथी विद्रोहीको नियन्त्रणमा रहेको एउटा प्रमुख बन्दरगाह हो। हुदह बन्दरगाहको हालको अवस्थाबारे छलफल गर्न संयुक्त राष्ट्रसंघीय विशेष प्रतिनिधि मार्टिन ग्रिफिथ्स शनिबार राजधानी साना पुगेको फ्रान्सेली समाचार एजेन्सी एएफपीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

राजधानी सानाको नियन्त्रण गरिरहेको हुथी विद्रोहीलाई थप लडाइँ रोक्न संयुक्त राष्ट्रसंघको विशेष निगरानी रहने कमिटीलाई हुदहको नियन्त्रण हस्तान्तरण गर्नका लागि राष्ट्रसंघीय विशेष प्रतिनिधि ग्रिफिथ्सले प्रस्ताव गर्ने अनुमान गरिएको छ।

विद्रोहीको नियन्त्रणमा रहेको हुदह बन्दरगाहलाई मुक्त गर्नका लागि संयुक्त अरब इमिरेट्सको निर्देशनमा सरकारी फोजले बुधबारबाट आक्रमण सुरु गरेको थियो। विमानस्थललाई विद्रोहीबाट मुक्त गराएपछि सरकारले हुदह बन्दरगाहलाई आक्रमण नगर्ने र प्रमुख भौतिक संरचनाको संरक्षण गर्ने बताएको छ । यसैबीच संयुक्त अरब इमिरेट्सको सैन्य स्रोतले भने यमनको प्रमुख फौज, संयुक्त अरब इमिरेट्स र सुडानको फौज हुदहलाई पूर्ण रूपमा नियन्त्रणमा लिनका लागि तयारी अवस्थामा रहेको बताएको छ।

राजधानी सानासहित यमनको उत्तरपश्चिमी क्षेत्रलाई हुथी विद्रोही तथा विद्रोही गठबन्धनले कब्जामा लिइ राष्ट्रपति अब्द्रबबुह मन्सुर हादीलाई विदेश भाग्न बाध्य बनाएपछि सन् २०१४ बाट यमनमा द्वन्द्व सुरु भएको थियो। इरानको प्रोक्सीका रूपमा हेरिएका हुथी विद्रोहीको शक्तिमा वृद्धि हुन थालेपछि साउदी अरबसहित अन्य आठ सुन्नी अरब राज्यले सन् २०१५ को मार्च महिनाबाट हादीको सरकार पुनर्बहालीका लागि सैन्य अभियान सुरु गरेका थिए।

प्रकाशित: ३ असार २०७५ ०३:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App