१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

एकै दिनमा ४ जना बिरामी बितेपछि...

तेजिला आँखा, निकै राम्री एक सोह्र वर्षीया केटीको टिचिङ अस्पताल महाराजगञ्जमा डा. भगवान कोइरालाले ओपन हार्टको सर्जरी गरेका थिए । कोइरालाले सफलतापूर्वक सर्जरी गरेपछि नर्सको जिम्मा लगाएर घरतिर गए । यता बिरामीलाई नर्सहरुले स्याहार गरिरहेका थिए । के कस्ता औषधि दिइएको छ सबै कुराको राम्रोसँग ख्याल गरेका थिए । अकस्मात ती बिरामी नानीले रिङ्गटा लाग्यो भनिन्, औषधिले काम गरेन हतारहतार नर्सहरुले डा. भगवान कोइरालालाई फोन गरे । हस्याङफस्याङ गर्दै राति–राति डा. भगवान कोइराला अस्पताल आइपुगे । जसै गरे पनि उक्त बिरामीलाई बचाउन सकेनन् । ती नानीको हार्टको सर्जरी गरेदेखि निरन्तर सेवामा खटिएकी थिइन् स्टाफ नर्स गंगा थापा । जब ती बिरामीलाई मृत घोषणा गरियो गंगाका आँखामा आसु थामिएन । उनी बाथरुमभित्र छिरेर रोइन् । 

ती किशोरीका तेजिला आँखाले उनलाई लखेटिरह्यो । २/३ दिनसम्म उनलाई खान रुचेन, कसैसँग बोल्न मन लागेन उनलाई ती बिरामी मरेपछि निकै ठूलो पीडा महसुस भयो । 

३० वर्ष भइसकेको छ स्टाफ नर्स गंगा थापाले अस्पतालमा बिताएका २/४ वटा यस्ता घटना छन् जसले उनलाई लखेटिरहन्छ । उनका बुवा सिरहा जिल्लाको लाहानको एक उपस्वास्थ्य चौकीको अहेव थिए । त्यो समयमा अहेव भए पनि सबैले डाक्टर साहेब नै भन्थे । उनको घरमा पनि बिरामीहरु उपचार गर्न आउथेँ । त्यो देखेर उनलाई पछि बिरामीको उपचार गर्ने हुन पाए भन्ने लाग्थ्यो रे । जसै उनी एसएलसी पास भइन् उनलाई यहाँभन्दा माथि पढाउन नसक्ने भएर अब बिहे गर्नुपर्ने कुरा परिवारले राख्यो । तर उनी बिहे गर्ने कुरामा राजी भइनन् उनले परिवारसँग भनिन्, ‘मेरो बिहे गर्ने पैसाले मलाई पढाइदिनोस् ।’ घरका मान्छे टसका मस भए । 
एक वर्ष उनी त्यसै बसिन्, अर्काे वर्ष उनका बुवाका साथी धु्रव राई हिरो बनेर आइदिए । उनले छोरीलाई विराटनगर मेडिकल कलेज पढाउनुपर्ने राय सल्लाह उनका परिवारलाई दिएछन् त्यसपछि उनका बुवाले विराटनगरमा लगेर भर्ना गरिदिए । उनले छात्रवृत्ति पाइन् र राम्रोसँग पढाइ पूरा गरिन् । 

एकै रातमा लगालग ४ बिरामी बित्दा

उनको जागिरको पहिलो दिन थियो । महाराजगञ्ज टिचिङ अस्पतालमा काम सुरु गरेकी थिइन् उनले । उनको ड्युटी मेल वार्ड दमको बिरामी भएतिर थियो । रातको त्यस्तै १० बजेको थियो । एकजना बिरामीको श्वास माथि गइरह्यो । उनलाई बचाउन सबै प्रकारको उपाय गर्दा पनि सफल भइएन । ती बिरामीको मृत्यु भयो । बिरामीको मृत्यु भएपछि कागजपत्र मिलाएर मृत बिरामीलाई निकालेका मात्र के थियौं फेरि अर्काे बिरामी त्यसैगरी मरे । दोस्रो बिरामीको कागज बनाएर नभ्याउँदै फेरि अर्काे फेरि अर्काे गरेर लगालग ४ जना बिरामी मरे । उनको त सात्तो गयो । उनी आफैँ सात महिनाकी गर्भवती थिइन् । मृत्युलाई नजिकबाट नियालेपछि उनलाई साह्रै डर लाग्यो । त्यही डरले उनकी सहकर्मीको ३ महिनाको गर्भ खेर गयो । त्यस घटनापछि उनलाई लाग्यो, धत्तेरी कस्तो विषय पढिएछ । ‘मलाई त पूरै नराम्रो फिल भयो, सकेसम्म धेरै बिरामीलाई बचाउँछु भनेर स्टाफ नर्स पढेको सुरुमै बचाउन सकिएन । उनी भन्छिन्, ‘यसरी गरेको काम सफल नहुँदा कामै पो छौडौँ कि भन्ने भयो तर बिस्तारै बुझ्दै गएँ । सबै बिरामीलाई त बचाउन सकिन्न, आखिर ढिलो चाँडो न हो ।’

एक्सिडेन्ट परेका बिरामी देख्दै डर लाग्ने

‘अरूलाई लाग्दो हो नर्सहरु जागिर खाइरहेका छन् । आफ्नो काम पूरा गरेका न हुन्,’ गंंगा भन्छिन्, ‘आफूले औषधिउपचार गराइरहेका बिरामी बाँचेर घर फर्कँदा संसारकै खुसीमै परेँजस्तो हुन्छ तर बिरामीलाई बचाउन नसक्दा साह्रै नमज्जा लाग्छ, एक किसिमको तनाव महसुस हुन्छ ।’ मोटरसाइकल एक्सिडेन्ट परेका एकजना २८÷३० वर्षका युवा आएछन् । उनको शरीर क्षतविक्षत थियो सम्झिँदा पनि आङै सिरिङ हुन्छ गंगा भावुक हुँदै भन्छिन्, ‘परिवारका एक्ला छोरा रहेछन् गर्धनमा ठूलो चोट लागेको थियो । कहिले होसमा आउलान् र बोल्लान् भन्ने थियो तर होसै नखुली एक्सपाएर भए ।’ त्यस घटनाले उनलाई जापानमा ट्रेनिङ लिन जाँदाको घटना सम्झना भयो । उनी भन्छिन्, ‘उता जापानमा योभन्दा पनि खतरा एक्सिडेन्ट परेका बिरामीलाई बचाउँछन् तर हाम्रोमा स्रोत र साधनको कमीले बचाउन सकिन्न, उता भएको भए बाँच्थ्यो भन्ने कुराले मलाई साह्रै पिरोल्छ ।’ ती बिरामी एक्सपाएर भएपछि उनलाई बिरामी परिवारको सदस्यलाई भन्दा धेरै चिन्ता लागेको उनले बताइन् । 

भालुले चिथोरेका ती बिरामी 

ओखलढुंगाका एक यस्ता बिरामी ल्याइए । जसलाई भालुले चिथोरेको थियो । उनको अनुहारको बायाँमा भाग घाउनै घाउ थियो । उनलाई सरसहयोग गरेर अस्पताल ल्याएछन् तर थप उपचारका लागि पैसा रहेनछ । बिरामी त्यहीँ छाडेर त्यसै हिँडेछन् ल्याएका मान्छेहरु । हेर्दा नै ती बिरामीको अवस्था दयनीय थियो, मैलो कपडा, कछाड मात्र बेरेका, धेरै दिनदेखि नधोएको गञ्जी, थोत्रो जुत्ता । यस्तो अवस्था देखेपछि डाक्टर र प्रशासनको सरसहयोगले उनको सफल उपचार गराएको घटना गंगाले कहिल्यै बिर्सिनन् । उनी भन्छिन्, ‘१५ दिनपछि उनी निको भएर घर जान हामीले बाटो खर्चको व्यवस्था गरिदियौं । उनले हामीतर्फ हरेर हाँसे, त्यस्तो देख्दा, आमाले बच्चाको अनुहार देखेपछि बच्चा जन्माउँदा भएको पीडा भुलेजस्तै भयो मलाई ।  उनको उपचारका लागि मैले निकै दौडधुप गरेकी थिएँ ।’

रोगले धेरै नै च्यापेका बिरामी हेर्दा उनलाई तनाव महसुस भइरहन्थ्यो । हुन त पढाउँदा उनीहरुलाई तटस्थ भएर बस्न लाज, डर, घिन नमान्नु र धेरै बिरामीको नजिक पनि नपर्नु, आफ्नो कर्तव्यबाट नचुक्नु भनेर सिकाइन्थ्यो । तर, मानव न हो निको भएर जाँदा खुसी लाग्ने, नभए दुःख लाग्ने, घरमा पनि त्यसको प्रभाव पर्ने गंगाले बताइन् । ‘बिरामीकै कारण चाडपर्वमा पनि घरमा बस्न मन नलाग्ने, अस्पताल नै जाउँजाउँ हुने, कसैसँग बस्ने कुराकानी गर्ने गरे पनि मन भने अस्पतालमै हुने, सुरुसुरुमा त परिवारमा अलि अप्ठ्यारो हुने समय बित्दै जाँदा घरपरिवार सबैको सहयोग पाइयो,’ उनले भनिन्, ‘यो पेसा नै यस्तो हो भनेर घर परिवारले पूरै सहयोग ग-यो ।’ 

प्रकाशित: ३० जेष्ठ २०७५ ०९:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App