१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गुणस्तरहीन काम भएको भन्दै नगरपालिकाद्वारा निर्माण कार्यमा रोक

उदयपुर – उदयपुरको कटारी नगरपालिका १३ स्थित सिद्धिचरण लोकमार्गको गहुँबारी–ठाँटी खण्डमा निर्माणाधिन सडक कालोपत्रे र आरसिसी ढलानको काम गुणस्तरहीन भएको भन्दै नगरपालिकाले सोमबारदेखि काममा रोक लगाएको छ। इलाका प्रशासन कार्यालय कटारी, इलाका प्रहरी, उदयपुर उद्योग बाणिज्य संघ र नगरपालिकाका प्राविधिकसहित गएको टोलीले आइतबार अनुगमन गर्दा गुणस्तरहीन भएको ठहर गर्दै काममा रोक लगाएको हो।

मिर्चया–ओखलढुंगा जोड्ने सिद्धिचरण लोकमार्गको कटारी–घुर्मीबीचको गहुँबारीदेखि ठाँटी भन्ज्याङसम्मको १.२ किलोमिटरको कालोपत्रे तथा ४ सय ९७ घनमिटर आरसिसी ढलानको काम मापदण्ड अनुसार नभएको अनुगमन टोलीको ठहरसँगै थप काम गर्न रोक लगाइएको कटारी नगरपालिकाकी उपमेयर भिमकुमारी राउतले बताइन्। अनुगमन टोली संयोजक राउतले नगरपालिकाका इन्जिनियर र प्राविधिकले परीक्षण गर्दा कालोपत्रे र आरसिसी ढलान दुवैको काम मापदण्डभन्दा कमजोर देखिएकाले अर्को निर्णय नभएसम्मका लागि काम नगर्न निर्देशन दिएको बताइन्।

‘हामीले इन्जिनियर, प्रशासक, प्रहरी, जनप्रतिनिधि र उद्योग बाणिज्य संघ पदाधिकारी लिएर अनुगमन गर्दा कालोपत्रेर ढलान दुवैको काम मापदण्ड मिचेर बनाएको भेट्यौं’ उपमेयर राउतले भनिन् ‘नगरबासीबाट पटक पटक गुनासो आएकाले सर्बपक्षीय टोली ल्याएर अनुगमन गर्दा काममा खोट भेटिएकाले हाललाई काम रोक्न निर्देशन दिइएको हो।’ इप्रका कटारीका प्रशासकीय अधिकृत सुनिल पौडेलले कालोपत्रे र ढलानको काम गुणस्तरहीन भएको पाइएको बताए।

स्थानीयको गुनासो आएपछि यसअघि पनि नगर प्राविधिक र उद्योग बाणिज्य संघ प्रतिनिधिसहितको टोलीले सडकको काम अनुगमन गरेको र त्यत्तिबेलै काम गुणस्तरहीन देखेपछि सुधारेर गर्न सुझाएको उनले बताए। तर, अर्को पटक अनुगमन गर्दा पनि सुधार नदेखिएकाले काम रोक्नुपरेको उनको भनाइ छ। ‘साता दिनअघि हेर्दा राम्रो थिएन त्यसैले सुधार गर्न सुझाएका थियौं’ अधिकृत पौडेलले भने ‘तर, अहिलेसम्म नसुध्रेको भन्दै जनताले बोलाएपछि नगरपालिकाको नेतृत्वमा अनुगमन गर्न आयौं, अहिले पनि उस्तै देखियो।’

पटक पटक हुने दुर्घट्नाले वर्षेनी आधादर्जन यात्रुको मृत्यु हँदै आएको सो खण्डको  ठाँटी भन्ज्याङमा सडक फराकिलो पार्ने योजना अनुसार भन्ज्याङलाई दुवैतर्फबाट ग्राउडिङ (रिटेनिङ) वाल लगाएर केही चौडा बनाइएको छ भने भन्ज्याङवारी कालोपत्रे र आरसिसी ढलानको काम थालिएको छ। १.२ किलोमिटर कालोपत्रे र १ सय मिटर आरसिसी ढलानको काम भईरहेको भन्ज्याङको पारिपटि १ सय मिटर आरसिसी ढलानको काम सकिने तरखरमा छ।

पूर्वाञ्चल सडक डिभिजन कार्यालय लाहानबाट भइरहेको कालोपत्रेको जिम्मा अम्बे कन्स्ट्रक्सन जनकपुरले लिएको छ भने आरसिसी ढलानको जिम्मा विकास निर्माण सेवा सिराहाले लिएको सडक कार्यालयले जनाएको छ। तर, कालोपत्रे र आरसिसी ढलान दुवै काम गुणस्तरहीन भएको जनप्रतिनिधि, स्थानीय व्यापारी र सर्वसाधारणको गुनासो आएपछि इलाका प्रशासन, प्रहरी र उद्योग बाणिज्य संघसँगै कटारी नगरपालिकाले कान ठाडो पारेका हुन्।

 

प्रकाशित: २९ जेष्ठ २०७५ ०८:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App