१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

स्थानीयको विरोध छिचाेल्दै बुवाको किरियामा छोरीहरु

बुबाको १३ दिने काजकिरिया अन्तर्गत कोरामा बसेका शिक्षा र सुरक्षा । तस्बिर : नागरिक

सर्लाही– बुबाआमाको काजकिरिया छोराले मात्र गर्नुपर्छ भन्ने परम्परा तोड्दै जिल्लास्थित हरिवनमा तीन बहिनी आफ्नो बुबाको १३ दिने काज किरियामा सहभागी भएका छन्।

हरिवन नगरपालिका–९ निवासी ४२ वर्षीय उत्तम पौडेलको मृत्यु भएपछि छोरीहरु किरिया बसेका हुन्। जेठी छोरी शिक्षा र माइली सुरक्षा कोरामा बसेका छन् भने कान्छी विद्याले डालो बोक्ने जिम्मेवारी लिएकी छिन्। पत्नी निर्मला पौडले भने महिनाबारी भएकाले काममा सहभागी नभएको र शीिररिक रुपमा स्वस्थ भएपछि बस्ने शिक्षक समेत रहेका छिमेकी यमनाथ उप्रेतीले जानकारी दिए।

‘ठूलो संघर्ष गरेर छोरीहरु आफ्नो बुबाको काजकिरियामा सहभागि भएका छन्’, उप्रेतीले भने, ‘सदियौँदेखि चल्दै आएको परम्परा तोड्नका लागि उनीहरुलाई निकै गाह्रो प-यो।’ बुबा ९७ वर्षीय नन्दलाल शारीरिक रुपमा अशक्त भएका र छोरा नभएका पौडेलको काममा दाजुभाईका छोरालाई राख्ने कुरा चलेपनि छोरीहरुले हाँमी आफै बस्छौं भनेर आँट गरेको उप्रेतीले सुनाए।

‘हामीपनि छोरा सरह सन्तान हौं’, बुबाको किरियामा सहभागी २० वर्षीया शिक्षाले भनिन्, ‘त्यसैले छोराले गरेजस्तै बुबाआमाको काजकिरिया गर्न सक्छौं।’ उनीसँगै कोरामा बसेकी १८ वर्षीया सुरक्षाले पनि आफूहरु छोरा सरह गर्न सक्ने बताइन। कान्छी १५ वर्षीया विद्या भने दिदीहरुलाई खाना खुवाउन खोलासम्म जाँदा सामानहरु रहेको डालो बोक्ने गर्छिन्।

शनिबार दिउँसो खेतको आलीमा लडेको अवस्थामा मृत फेला परेका पौडेलको आइतबार बिहान बागमती नदीमा दाहसंस्कार गरिएको छ। दाहसंस्कारका क्रममा चित्तामाथि राखिएको पौडेलको शवलाई छोरीहरुले दागबत्ती दिएका थिए। दागबत्ती दिने क्रममा समेत केही रुढिवादी मानसिकताका स्थानीयले विरोध गरेको उल्लेख गर्दै शिक्षक उप्रेतीले रुढिवादी परम्परा तोड्नका लागि आफूहरु लगायतको सहयोगमा छोरीहरु नै काजकिरियामा बसेको बताए।

सदियौंदेखि चल्दै आएको परम्परा अनुसार बुबाआमाको काजकिरिया छोराले मात्र गर्ने भएपनि छोरीहरुले आफूहरु नै कोरामा बस्ने भन्दै आँट गरेको पुरेत्याईं गरिरहेका उत्तमप्रसाद बडालले जानकारी दिए। ‘छोराहरु नभएकाले अरुका सन्तानलाई खेताला राख्नु भन्दा हाँमी आफै काम गर्छौं भनेर छोरीहरु कस्सिए’, पण्डित बडालले भने, ‘पछिल्लो समय छोराछोरी बराबरी भनिदै आएकाले छोरीहरुले पनि काजकिरियामा बस्नु राम्रै हो।’ 

४० वर्षदेखि पुजापाठ होस् वा काज किरिया लगायतमा पुरेत्याँई गर्दै आएका बडालले आफूले पहिलो पटक छोरीहरुबाट बुबाको काज किरिया गर्ने काममा सहयोग गर्न पाएको भन्दै प्रशंसा गरे। ‘छोरीहरुले बुबाको काजकिरियामा सहभागी भएको काममा मैले पुरेत्याँई गरेको पहिलो पटक हो’, उनले भने, ‘छोराहरु मात्र बसेको काममा पुरेत्याँईं गर्दै आएको म जस्तालाई पनि निकै नौलो अनुभव भइरहेको छ।’

सामाजिक अभियन्ता एवं पद्म भुवनेश्वरी वृद्धाश्रम जुटपानीकी अध्यक्ष भवानी कोइरालाले छोरीहरुले पनि बुबाआमाको काजकिरिया गर्नु सह्रानीय कदम भएको बताइन्। ‘छोरीहरुले पनि आफ्ना बाबुआमाको काजकिरिया गर्नु अत्यन्त सह्रानीय कदम हो’, उनले भनिन्, ‘एउटै सन्तानका रुपमा रहेका छोराले मात्र काजकिरिया गर्ने र छोरीहरुलाई त्यसबाट बन्देज गर्ने रुढिवादी परम्परा तोडिनु जरुरी छ।’

प्रकाशित: २७ जेष्ठ २०७५ १२:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App