१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

किन बढ्दैछ आत्महत्या ?

पाल्पा– केही दिन अगाडि भारतीय नागरिक फोटिक पाल नाताले आफ्नै भाउजु पर्नेसँग तानसेनमा घुमघामका लागि आइपुगे। शनिबार बिहान तानसेन नगरपालिका स्थित बतासेडाँडामा उनीहरुले सेतो पदार्थ खाएका छन्। जसबाट उनीसँगै आएकी २५ वर्षीय संगिता पालको मृत्यु भएको छ। २३ वर्षीय पाल भने लुम्बिनी मेडिकल कलेजमा उपचाररत छन्। 

पश्चिम बङ्गालका उनीहरुले सामूहिक आत्महत्याको प्रयास गरेको देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमृत भण्डारीले बताए। ‘सेतो झोलिलो पदार्थ मिनिरल वाटरको बोतलबाट पिएको बुझिएको छ। सेतो पदार्थ विष वा फिनाईल पनि हुन सक्छ,’ उनी भन्छन्, ‘नाताले देवर भाउजु पर्ने उनीहरु २४ गते बेलुका रुपन्देहीबाट हिँडेको बुझिएको छ।’

फोटिक पालको युनाईटेड मिशन अस्पतालमा उपचार हुन नसकेपछि लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ। संगिताका श्रीमान् गौरान पाल र फोटिक पाल रुपन्देहीको मणिग्राममा स्थीत जय सन्तोषी चुनचाँदी पसलमा काम गर्ने व्यक्ति हुन्। दुवै जना रुपन्देहीबाट आफुखुसी हिँडेको उनका आफन्तले बताए। शनिबार बिहानै उनीहरुलाई स्थानीयले अचेत अवस्थामा भेटाएर प्रहरीलाई खबर गरेका थिए। 

आत्महत्या पछिल्ला केही वर्ष जिल्लामा विकराल समस्या बन्दै गएको छ। विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले पनि नेपाललाई आत्महत्या गर्नेको देशको १० औ स्थानमा राखेको छ। विष सेवन गर्ने, झुन्डिएर, आगो लगाएर, हाम फालेर बढी जिल्लामा आत्महत्या गर्ने गरेको देखिन्छ। सबैभन्दा धेरै मानिसले भने झुन्डिएर नै आत्महत्या गर्ने गरेका छन्। लगातार केही महिनादेखि जिल्लामा आत्महत्या बढिरहेको तथ्याङ्कमा देखिएको छ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७२÷०७३ मा ५५ जनाको आत्महत्याका कारण मृत्यु भएको छ। जसमा ४१ जना झुण्डिएर, १० जना विष खाएर, ३ जना हाम फालेर (डुबेर) र एक जनाको हातहतियारबाट मृत्यु भएको प्रहरी निरीक्षक अमृत भण्डारीले बताए। आ.व. २०७३÷०७४ मा ७५ जनाको मृत्यु भएको छ। जसमा ६६ जनाको झुण्डिएर र ९ जनाको विष सेवनका कारण मृत्यु भयो। चालु आवको वैशाख मसान्तसम्ममा ५४ जनाको मृत्यु भएकोमा ४६ जनाको झुण्डिएर, ६ जनाको झुण्डिएर र २ जनाको हाम फालेर मृत्यु भएको हो। चालु आवको जेठमा ६÷७ जनाको आत्महत्याकै कारण ज्यान गएको प्रहरी निरीक्षक भण्डारीले बताए। 

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. पुष्प ज्ञवालीले पछिल्लो समय पाल्पामा अधिक आत्महत्या हुन थालेको बताए। ‘पहिले इलाम आत्महत्यामा पहिलो थियो, सायद अहिले पाल्पा अगाडी आएको छ,’ उनले भने, ‘हामी आत्महत्या न्यूनीकरण गर्न प्रचारप्रसार गर्ने सेन्फ कन्फिडेस बढाउने काम गरेका छौं। जिल्ला अस्पतालबाट काउन्सेलिङ्ग सेवा पनि प्रदान गर्दै आइरहेका छौं।’ डा. ज्ञवालीले डिप्रेसन, यौन, चाडो उमेरमा विवाह, पारिवारिक दबाबका कारण जिल्लामा आत्महत्या बढेको बताए। डा. पुष्प ज्ञवालीले एउटै परिवारमा ३ जनासम्मले आत्महत्या गरेको समेत भेटिएकोले सरोकारवालाहरुको चासो पु¥याउनु आवश्यक रहेको बताए। उनी भन्छन्, ‘आत्महत्या कायरको काम हो भन्ने कुरा समाजमा पु-याउनुपर्छ। मानसिक रोगीलाई समानतारुपी व्यवहार गर्नु आवश्यक हुन्छ। समाजमा आत्महत्यालाई निरुत्साहित गर्न सक्नुपर्छ।’

सहन नसक्ने घटनाको कारण पनि आत्महत्या हुने गरेका छन्। निको नहुने वा उपचार हुन नसक्ने रोग लागेर पनि आत्महत्या हुने गरेका छन्। इज्जत लुटिँदा, ज्यादै अपमानित हुनु पर्दा, आर्थिक हानी नोक्सानी र प्रेममा असफल हँुदा पनि आत्महत्या भएका छन्। निश्चित रुपमा के भन्न सकिन्छ भने, प्रत्येक आत्महत्याका घटना खास कारणले हुन्छन्। ती कारणहरु प्रष्ट हुन पनि सक्छन् या थाहा पाउन नसकिने खालका पनि हुन सक्छन्। वैदेशिक रोजगारमा जानेहरु, तिनीहरुका परिवार तथा अन्य मानसिक समस्या भएकाहरुलाई पहिचान गरेर काउन्सिलिङ्ग गरेर आत्महत्या न्यूनिकरण गर्न सकिने नेपाल नागरिक समाज पाल्पाका अध्यक्ष पुष्करराज रेग्मीले बताए। ‘विभिन्न मानसिक रोगहरु जस्तै डिप्रेसन, मानसिक असन्तुलन, मद्यपानको कुलत, लागूपदार्थ दुव्र्यसन, केहि दिर्घ रोगहरु, छारे रोग, एचआइभी÷एड्स आदिका कारण आत्महत्या हुने भएकाले यस्ता समस्याहरुको पहिचान गर्ने र उपचार सेवामा सुधार ल्याउने हो भने यिनै कारण हुने आत्महत्या घटाउन सकिन्छ’, रेग्मीले भने। 

पाल्पाका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद ढकालले महिला हिंसा, वैदेशिक रोजगारी, बालविवाह, घरेलु हिंसा आदीका कारण जिल्लामा आत्महत्या बढेको बताए। उनी भन्छन्, ‘कारणहरुको विषयमा ध्यान दिनु आवश्यक छ। घरेलु हिंसा, परिवारमा सिर्जित विकृत कार्य आदीका विषयमा सबैले सोच्नुपर्छ।’ उनले स्थानीय तहबाट कानूनको कडाईका साथ पालना हुने र न्यायिक समिति सक्रिय हुने वातावरण बनाउनुपर्ने बताए। 

आत्महत्याका कारणहरुमा डिप्रेसन, दिर्घरोग, इच्छा पुरा गर्न नसक्नु, दबाब, असफल वैवाहिक जीवन, असफल प्रेम आदी छन्। आत्महत्याको प्रयास गर्ने मध्ये झण्डै १६ प्रतिशतले केहि वर्षभित्रै फेरि आत्महत्याको प्रयास गर्छन् भन्ने देखाएको छ। आत्महत्याको प्रयास गर्नेहरुको कारण पत्ता लगाई उपचार वा समस्या समाधान गर्दा आत्महत्या घटाउन सकिन्छ। आत्महत्या गर्नु अघि लेखिएको सुसाइड नोटको अध्ययन गर्दा धेरै जनाले भावनात्मक पिडासहन नसकेर मृत्युवरण गर्ने निर्णय गरेको देखिन्छ। भावनात्मक पिडाका कारणहरुमा पारिवारिक, आर्थिक, सामाजिक, शारीरिक र मानसिक आदि पर्छन्। आत्महत्या गर्न चाहने  व्यक्तिले मर्न वाहेक अन्य विकल्पहरु नदेखेको आत्महत्याको बाटो रोज्छ।

प्रकाशित: २६ जेष्ठ २०७५ ११:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App