१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बेलटार बसपार्क २० वर्षपछि निर्माण सुरु

बेलटार बसपार्कको स्तरोन्नतिको काम गरिँदै । तस्बिर : नागरिक

बेलटार (उदयपुर)– निर्माण घोषणा भएको २ दशकपछि बेलटार बसपार्क बन्ने तरखरमा पुगेको छ। चौदण्डीगढी नगरपालिकाको मुख्य बजार बेलटारमा २० वर्षअघि प्राप्त ५ कठ्ठा क्षेत्रफल जग्गामा अहिले आएर बसपार्क बनाउन लागिएको हो। स्थानीय काशीनाथ र जनकलाल सेँढाईले दिएको ५ कठ्ठा जग्गामा बसपार्क निर्माण गर्नेगरी शुक्रबार भएको सर्बपक्षीय भेलाले ‘बेलटार बसपार्क संरक्षण तथा निर्माण समिति’ गठन गरेर बसपार्कको स्तरोन्नति कार्य सुरु भएको जनाएको छ। 

स्थानीयका अनुसार ४ दशकदेखि बेपत्ता चौदण्डीगढी नगरपालिका ६ बेलटारस्थित देवीप्रसाद सेँढाईको नामको साविक सुन्दरपुर ८÷ख स्थित १४ कठ्ठा जग्गामध्ये बसपार्कका लागि ५ कठ्ठा दिने सर्तमा भाईहरु काशीनाथ र जनकलालले तत्कालीन बेलटार गाविसबाट सिफारिस लिएर जग्गा आप्mनो नाममा दर्ता गरेका थिए। तर, नाममा जग्गा दर्ता भएपछि पूर्व सर्त अनुसार दिनुपर्ने ५ कठ्ठा जग्गा बसपार्कको नाममा नामसारी गर्न आनाकानी गरेसँगै बसपार्क निर्माणको विषय ओझेलमा पर्दै आएको थियो। 

बेलटारबासीका अनुसार बसपार्क बन्ने भएपछि आसपासको जग्गाको मूल्य बृद्धि भएसँगै पूर्वसर्त अनुसार जग्गा बसपार्कको नाममा नामसारी गर्न उनीहरु आनाकानी गर्न थालेका थिए। बसपार्कको नाममा जग्गा नभएपछि वर्षेनीजस्तो छु्ट्याइने रकम खर्च हुन नसकेर फ्रिज हुँदै आएको छ। गतवर्ष पनि बसपार्क स्तरोन्नति शीर्षकमा आएको डिभिजन सहरी विकास कार्यालयको २० लाख रकम अन्यत्र खर्च भएको उनीहरुको भनाई छ। रकम खर्चन बसपार्कको नाममा जग्गा हुनुपर्ने प्रावधान अनुसार रकम फ्रिज हुने गरेको छ।

बसपार्कको नाममा जग्गा नदेखिएकै कारण गतवर्षको डिभिजन सहरी विकासको रकम अन्यत्रै लगेर खर्च गर्नुपरेको स्थानीय व्यापारी केदार कटुवालले बताए। चालु वर्ष पनि डिभिजन सहरी विकास कार्यालयबाट रकम बिनियोजित भएको र नगरपालिकाले पनि बसपार्क स्तरोन्नतिको नाममा रकम बिनियोजन गरेको उनले बताए। तर, असार मसान्त नजिकिइसक्दासम्म बसपार्कको नाममा जग्गा नामसारी नभएका कारण यो वर्ष पनि रकम खर्च नहुने संकेत देखिएको उनी बताउँछन्। 

चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले जग्गा बसपार्कको नाममा नभएका कारण काम हुन नसकिरहेको बताए  उनले नगरपालिकाले चालु आर्थिकवर्ष १४ लाख बिनियोजन गरेको १४ लाख रुपैंइा स्थानीयहरुको सर्बदलीय भेला बोलाई समिति गठन गरेर काम सुरु गरेको बताए। शुक्रबार सर्बपक्षीय/सर्बदलीय बेला राखेर स्थानीय शम्भु पौडेलको अध्यक्षतामा समिति गठन गरी बसपार्क निर्माणको कार्य थालिएको मेयर राईले बताए। उनका अनुसार सर्वपक्षीय समितिमा उद्योग बाणिज्य संघका अध्यक्ष पवन कार्की उपाध्यक्ष, राजकुमार तिम्सिना सचिव र उषा राई कोषाध्यक्ष छानिएका छन्। 

बेलटारका अगुवा नागरिकहरु सम्मिलित ३ सदस्यसहित ७ सदस्यीय समितिले नगरपालिकाबाट बिनियोजित रकम खर्च गर्नेगरी बसपार्क निर्माणको काम अघि बढाएको मेयर राईले बताएका छन्। ‘हामीले बेलटारमा सुविधासम्पन्न बसपार्क बनाउने गरी जग्गा नामसारी गराउने पहल थालेका छौं’ मेयर राईले भने ‘यो समितिले नगरपालिकाबाट छुट्याएको रकमबाट केही पूर्वाधार निर्माणको काम गर्दै बसपार्कको नाममा जग्गा नामसारी प्रक्रिया तत्काल अघि बढाउनेछ।’ 

सेँर्ढाइद्वयले पनि जग्गा नामसारी गरिदिन सहमति जनाईसकेको उनले बताए । असार नजिकिएका कारण तत्काल जग्गा नामसारी प्रक्रिया अघि सारेर नगरपालिका र डिभिजन सहरी विकासबाट बिनियोजित ४० लाख रकमबाट बसपार्कको स्तरोन्नति गर्ने नगरपालिकाको साँेच छ। बसपार्कको नाममा जग्गा आएमा बिनियोजित रकम अपुग भए थप गरेर सुविधायुक्त बसपार्क बनाउन नगरपालिका प्रतिबद्ध रहेको मेयर राईको भनाई छ। 

डिभिजन सहरी विकास कार्यालयका निमित्त प्रमुख ब्रम्हदेव चौधरीले चालु वर्ष बेलटार बसपार्क स्तरोन्नतिका लागि ४० लाख रकम बिनियोजन भएको भए पनि जग्गा नदेखिएकाले खर्च गर्ने प्रक्रिया अघि नबढेको बताए। उनका अनुसार गतवर्षको २० लाख रुपैंया बसपार्कको नाममा जग्गा नभएकै कारण बेलटारको पारुहाङ मार्गस्थित पशुहाटमा जाली भर्ने काममा खर्च गर्नुपरेको थियो। यो वर्ष पनि अहिलेसम्म बसपार्कको नाममा जग्गा नामसारी भएको नदेखिएकाले तत्काल जग्गा व्यवस्थापन गरेर सम्झौता गर्न आउन नगरपालिकालाई परिपत्र गरेको इन्जिनियर चौधरीले बताए। 

प्रकाशित: २६ जेष्ठ २०७५ ११:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App