१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘वैज्ञानिक व्यवस्थापनका नाममा वन फँडानी’

सर्लाहीको जानकीनगर साझेदारी वनमा कटान भइरहेको सालका रूख।तस्बीर : टंक/नागरिक

सर्लाही - जिल्लास्थित जानकीनगर साझेदारी वनमा भइरहेको रूख कटानप्रति जनप्रतिनिधि एवं स्थानीय बासिन्दाले चर्को विरोध गरेका छन्।

वैज्ञानिक वन व्यवस्थापनका नाममा सालका रूखहरू सर्पट कटान गरेर वन क्षेत्र उजाड बनाउन लागिएको भन्दै विरोध भएको हो । वैज्ञानिक वन व्यवस्थापनका नाममा सालका राम्र्र्र्र्र्र्र्र्र्र्र्रा रूख सर्पट कटान गरिएको हरिपुर नगरपालिकाका मेयर जमरुद्दिन मन्सुरको आरोप छ । ‘रूख कटानको अवस्था हेर्दा जंगल सकिएर उजाड हुने देखिन्छ,’ मेयर मन्सुरले भने, ‘सालका उम्दा रूख छानी–छानी काटिएका छन्, कू–काठलाई छोएकै छैन ।’

वैज्ञानिक वन व्यवस्थापनका नाममा काठ व्यवसायीसँगको मिलेमतोमा जिल्ला वन कार्यालय र साझेदार वन उपभोक्ता समूह मूल व्यवस्थापन समितिका पदाधिकारीले सालका रूख सक्ने सुनियोजित जाल रचेको मेयर मन्सुरको आरोप छ ।

‘यसरी सर्पट ढंगले सालका रूख कटान गरेर पनि कहीं वैज्ञानिक व्यवस्थापन हुन्छ ?,’ मन्सुर भन्छन्, ‘यो त वन सक्ने चाल मात्र हो ।’हरिपुर नगरपालिका–१० का वडा सदस्य एवं जानकीनगर गाउँ निवासी कुमारप्रसाद चौलागाईं पनि वैज्ञानिक वनव्यवस्थापनका नाममा भइरहेको सालका रूख कटान गरेको देख्दा आफूहरू अचम्मित भएको बताउँछन् । ‘ढलापडा, बूढा, सुकेका रूख निकालेर विरुवा बचाउनु पर्ने हो तर यहाँ त सालका लाथ्रासमेत काटिएका छन्,’ उनको प्रश्न छ, ‘यो कस्तो खालको वैज्ञानिक वन व्यवस्थापन हो ?’

वैज्ञानिक वनव्यवस्थापनकै नाममा सर्लाहीमा स्थापना भएको सागरनाथ वन विकास परियोजना अहिले आएर लगभग असफलजस्तै देखिएको वडासदस्य चौलागाईंको भनाइ छ । उनले दुखेसो गरे, ‘माओवादी द्वन्द्वकालसमेत झेल्दै वर्षौंदेखि हामीले रुँगेर बचाएको वन साझेदारीका नाममा रातारात हस्तान्तरण गरियो र अहिले वैज्ञानिक व्यवस्थापनका नाममा सालका रूख सर्पट कटान भइरहेको छ।’

वन क्षेत्रभित्र थुपै्र खाली ठाउँ रहेको र त्यस्ता ठाउँमा वृक्षरोपण गर्ने वा प्राकृतिक रूपमा विरुवा उम्रने वातावरण बनाउनुको साटो चक्लाबन्दी सालको जंगलमा सर्पट कटान गरिएको भन्दै स्थानीय आक्रोशित छन् । ‘हामीले वर्षौंदेखि प्रस्तावित सामुदायिक वनका रूपमा संरक्षण गर्दै आयौं,’ वडा सदस्य चौलागाईंले भने, ‘तर चक्लाबन्दी वनलाई साझेदारीका रूपमा मात्र हस्तान्तरण गर्नुपर्छ भन्दै छ महिनाअघि मात्र कार्ययोजना स्वीकृत भएको वनमा अहिले वैज्ञानिक व्यवस्थापनका नाममा धमाधम सालका रूख कटान थालिएको छ ।’

जानकीनगर साझेदारी वन उपभोक्ता समूह मूल व्यवस्थापन समितिका संयोजक रामविश्वास यादवले समूहको कार्ययोजनाअनुसार सम्बन्धित निकायको स्वीकृतिमा कटान सुरु गरिएको दाबी गरे । ‘समूहको स्वीकृत कार्ययोजनाभन्दा रत्तिभर दायाँबायाँ गरेका छैनौं,’ उनले भने, ‘कसैले विरोध गर्नुको कुनै तुक छैन ।’

जिल्ला वन अधिकृत नरेश ठाकुर पनि साझेदारी वन उपभोक्ता समूहको स्वीकृत कार्ययोजनाअनुसार वैज्ञानिक वन व्यवस्थापनका लागि कटान सुरु गरिएको दाबी गर्छन् । ‘वैज्ञानिक वन व्यवस्थानका लागि ८० वर्षे योजनाअन्तर्गत रूख कटान भएको हो,’ उनले भने, ‘वन विभागबाट स्वीकृत कार्ययोजनाअनुसार नै काम भइरहेको छ ।’

साझेदारी वनको १ हजार २९४ दशमलव २७ हेक्टर क्षेत्रफलअन्तर्गत छुट्टयाइएका चार भागमध्ये हरेक भागमा चार÷चार हेक्टरका दरले वनको वैज्ञानिक व्यवस्थापन गर्न कटान सुरु गरिएको जिल्ला वन अधिकृत ठाकुरको भनाइ छ । ‘हरेक वर्ष प्रत्येक भागबाट चार÷चार हेक्टरका दरले व्यवस्थापन गर्दै जानेछौं’, उनले भने, ‘८० वर्षसम्म यो प्रक्रिया जारी रहन्छ र ८१ औं वर्षमा यसपटक कटान भएका १६ हेक्टरमा सालका राम्रा रूखहरू तयार हुनेछ ।’

भारतीय सीमा क्षेत्रसम्मको भूभाग समेट्ने गरी तीन गाउँपालिका तथा छ नगरपालिकाका ४९ हजार ७ सय ४३ घरधुरी उपभोक्ता रहेका जानकीनगर साझेदारी वन उपभोक्ता समूहको कार्ययोजना २०७४ मंसिर २८ गतेमात्र स्वीकृत भएको थियो।

 

प्रकाशित: २४ जेष्ठ २०७५ ०१:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App