१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

‘हामीलाई काकाकुल बनाउने ठेकेदारलाई के हुन्छ ?’

चुरेस्थित खानेपानी आयोजनास्थलमा उपभोक्ता समितिले तोकिएको समयभित्रै बनाएको कार्यालय भवन । तस्बिर : नागरिक

सर्लाही– खानेपानी आयोजनाअन्तर्गत ठेकेदारले सम्झौता अवधीभित्र डिप बोरिङ नगाड्दा जिल्लाको उत्तरी चुरे क्षेत्रस्थित अत्रौलीका बासिन्दाले लापरबाही गर्ने ठेकेदारमाथि कारबाहीको माग गरेका छन्।

हरिवन नगरपालिका–१ अन्तर्गत पर्ने साविक अत्रौलीगाविस–२, ३ र ४ का ५६३ घरधुरीका लागि निर्माण सुरु भएको खानेपानी आयोजनाअन्तर्गत ‘डिप ट्युववेल ड्रिलिङ र इन्सटालेसन’को जिम्मा लिएको ठेकेदार कम्पनीले सम्झौताअनुसार समय सकिएको ११ महिना वितिसक्दा समेत कुनै काम नगरेको भन्दै स्थानीयले कारबाहीको माग गरेका हुन्। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय मलंगवाले आह्वान गरेको टेण्डर अन्तर्गत रेडियम निर्माण आपूर्ति ढुवानी एण्ड ड्रिलिङ सेवा प्रालि धापासी–३ काठमाडांैले २०७४ असार १७ गते सक्नुपर्ने गरी १५ लाख ३७ हजार २१८ रुपैंया १० पैसामा सम्झौता गरेको थियो। २०७३ चैत १९ गते भएको सम्झौता गरेको ठेकेदार कम्पनीले अहिलेसम्म काम नै सुरु नगरेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष टमबहादुर घिसिङले गुनासो गरे।

‘अहिले खानेपानी नपाएर हाँमी काकाकुल अवस्थामा छौं’, घिसिङले प्रश्न गरे, ‘काम नगर्ने ठेकेदारलाई कडा कारबाही गर्ने गृहमन्त्री रामबहादुर थापाज्यूको घोषणा सुन्यौ, तर खै हामीलाई खानेपानी सेवा जस्तो जीवन मरणको विषयमा तोकिएको समयमा काम नगर्नेलाई कारबाही हुन्छ त?’

आयोजनाअन्तर्गत उपभोक्ता समितिले कार्यालय भवन निर्माण गर्न लिएको र उक्त काम गत पुसमै सकिएको समितिका सचिव बुद्धिमान बलले जानकारी दिए। ‘हाँमीले जिम्मा लिएको  ६ कोठे सानदार घर बनाइसक्यौं, तर ठेकेदारले डिप बोरिङको काममा अहिलेसम्म हात नै हालेको छैन, सिडिओ साहेब, खानेपानीका हाकिम साहेब र ठेकेदारलाई ताकेता गर्दा गर्दा थाकिसक्यौं’, सचिव बलले गुनासो गरे, ‘म्याद सकिएको पनि ११ महिना भइसक्यो, खानेपानीको हाहाकार हुने ठाउँमा ठेकेदारले समयमै काम नगर्दा गाउँले चिन्तित भएका छन्।’

आफूहरुले अहोरात्र खटिएर ९ महिनामै आयोजनाको कार्यालय भवन बनाएपनि ठेकेदारले जिम्मा लिएको डिप बोरिङ गाड्ने काम सुरु नहुँदा ओभरहेड ट्ंयाकी निर्माण लगायतअन्यकामहरु रोकिएको समितिका पदाधिकारीको गुनासो छ। 

‘डिप बोरिङ गाडेपछि मात्र ओभरहेड ट्यांकी निर्माणको प्रक्रिया सुरु हुन्छ’, अध्यक्ष घिसिङले आशा मार्दै भने, ‘बोरिङकै गाड्ने काम त समयमै हुन सकेन, ओभरहेड ट्यांकीको काम त झन के होला र?’ 

हाल डाँडाकाँडाका विभिन्न ठाउँमा रसाएको पानी जम्मा पारेर दिनमा दुई पटक बिहान र बेलुका मात्र पानी भर्ने गरिएको सचिव बलले बताए। ‘अहिले त पानीको हाहाकार छ, यसो डाँडाकाँडामा रसाएको पानी परम्परागत विधिबाट जम्मापारेर गाउँलेलाई भाँडामा थाप्ने व्यवस्था मिलाएका छौं’, उनले भने, ‘थोरै पानी हुने भएकाले बिहान र बेलुकामात्र गाउँलेले पानी भर्न पाउँछन्।’ 
चुरे क्षेत्र भएकाले सर्वसाधारणले निजी स्यालो ट्यूबेल गाड्न खोजेपनि पानी नआउने तथा नगरपालिकालगायत सरोकारवाला सरकारी कार्यालयबाट आएको बजेटले खनेको इनार समेत सुकेको स्थानीयले गुनासो गरेका छन्। ‘दुईवर्ष अघि खानेपानी आयोजना प-यो रे भन्ने सुन्दा गाउँलेहरु निकै खुसी भएका थिए’, अध्यक्ष घिसिङले गुनासो गरे, ‘समितिले पाएको काम पनि फटाफट सम्पन्न ग-यौं, तर डिप बोरिङ नै गाड्ने काम सुरु नहुँदा पानीको काकाकुलबीच बाँच्न बाध्य गाउँले अहिले निराश भएका छन्।’

उक्त ठेकेदार कम्पनीले जिम्मा लिएको अत्रौलीमात्र हैन हरिवन खानेपानी आयोजना, शंकरपुर खानेपानी आयोजना र कालिञ्जोर खानेपानी आयोजनाको समेत डिप बोरिङको काम सुरु नै नभएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले जिल्ला प्रशासन कार्यालयलाई पठाएको जानकारीमा उल्लेख छ। पटक–पटक लिखित एवं मौखिक ताकेता गर्दा पनि ठेकेदार कम्पनीले डिप बोरिङको काम नगरेको खानेपानी कार्यालयका ईन्जिनियर शिवशंकर रौनियारले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी दोर्ण पोखरेलले सम्झौता अवधीभित्र काम नगर्ने ठेकेदारलाई कारबाहीका लागि गृह मन्त्रालयमा पत्राचार गरिसकिएको र समय बाँकी रहेको काममा ठेकेदारलाई ताकेता भइरहेको जानकारी दिए। ‘सम्झौता गरेर तोकिएको समय भित्र काम नगर्ने ठेकेदारको लिस्ट गृह मन्त्रालय पठाइसकेका छाै‌’, प्रजिअ पोखरेलले भने, ‘काम नगर्ने ठेकेदारलाई अब कडा कानूनी कारबाही प्रक्रिया अगाडि बढाउँछौं।’ 

प्रकाशित: २३ जेष्ठ २०७५ ११:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App