१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फिलिपिनी राष्ट्रपति डुटेर्टेको निन्दा

मनिला– एउटा कार्यक्रममा विदेशमा काम गर्ने फिलिपिनी कामदारलाई स्टेजमै चुम्बन गरेपछि फिलिपिनी राष्ट्रपति रोड्रिगो डुटेर्टेको सर्वत्र निन्दा भएको छ ।दक्षिण कोरियामा भएको एउटा कार्यक्रममा विशाल भीडलाई सम्बोधन गरिरहेकै बेला राष्ट्रपति डुटेर्टेले एउटी महिलालाई स्टेजमा बोलाएर उनलाई चुम्बन गर्नका लागि मनाएका थिए ।

दक्षिण कोरियामा मै काम गरिरहेकी ती महिलालाई राष्ट्रपति डुटेर्टेले चुम्बन गरेपछि कार्यक्रममा उपस्थित अन्य कामदारले होहल्ला गरेको बिबिसीले उल्लेख गरेको छ । राष्ट्रपतिको कदम अत्यन्तै काम नलाग्ने भएको फिलिपिनी अधिकारवादी संस्था ग्याबरेर्लाले जनाएको छ । राष्ट्रपति डुटेर्टेले चुम्बन गरेकी ती महिलाले भने राष्ट्रपतिले चुम्बन गर्नुमा कुनै गलत नियत नभएको जिकिर गरेकी छन् । राष्ट्रपति डुटेर्टेले महिलाप्रति गरेको अनुचित व्यवहारको यो पहिलो घटना भने नभएको बिबिसीले जनाएको छ । फिलिपिन्सबाट दक्षिण कोरियामा काम गर्न गएका फिलिपिनी कामदारलाई राजधानी सोलमा सम्बोधन गर्ने क्रममा राष्ट्रपति डुटेर्टेको पछिल्लो विवादित घटना भएको हो ।

सम्बोधनकै क्रममा दुई फिलिपिनी महिलालाई राष्ट्रपतिको हातबाट सित्तैमा पुस्तक लिनका लागि स्टेजमा आमन्त्रण गरिएको थियो । स्टेजमा आएका दुईमध्ये पहिलो महिलालाई डुटेर्टेले अंकमाल गरे अनि उनको गालामा चुम्बन गरे । उनले स्टेजमा आएकी अर्की महिलालाई भने ओठमा चुम्बन गर्नका लागि इसारा गरे, बिबिसीले उल्लेख गरेको छ ।

फिलिपिन्समा महिला अधिकारका लागि काम गरिरहेको अधिकारवादी संस्था ग्याबरेर्लाले उक्त घटनाको निन्दा गरेको छ । उसले राष्ट्रपतिको कदम वास्तविक नीतिगत मुद्दालाई बदल्ने ठूलो प्रयास भएको र राष्ट्रपतिले प्रख्याती कमाउनका लागि महिलालाई चुम्बन गरेको आरोप लगाएको छ । देशमा घटिरहेको आफ्नो प्रख्यातीलाई लुकाउनका लागि राष्ट्रपति डुटेर्टेले यस्तो नचाहिँदो गतिविधि गरिरहेको ग्याबरेर्लाले जनाएको छ ।

उसले राष्ट्रपतिविरुद्धको गैरन्यायिक हत्या, कर सुधार प्रयास र समावेशी कानुन तथा भ्रष्टाचारविरुद्धको विषयलाई विषयान्तर गर्नका लागि उनले यस्तो गतिविधिको सहारा लिने गरेको आरोपसमेत सोमबार जारी गरेको विज्ञप्तिमार्फत् लगाएको बिबिसीले जनाएको छ ।बी किम नामकी ती महिलाले भने राष्ट्रपति डुटेर्टेले आफू विवाहित भए नभएबारे जिज्ञासा राखेको र आफूले कोरियाली नागरिकसँग विवाह गरेको बताएको फिलिपिनी समाचार एजेन्सीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

उनले राष्ट्रपतिले आफूलाई चुम्बन गर्नुमा उनको कुनै गलत नियत नभएको समेत सार्वजनिक गरेको फिलिपिनी समाचार एजेन्सीले जनाएको छ । ती महिलाले घटनाको उद्देश्य कार्यक्रममा सहभागी भएका अन्य फिलिपिनी कामदारलाई मनोरञ्जन गराउनु सिवाय केही नभएको समेत जिकिर गरेकी छन् । राष्ट्रपतिले विदेशमा काम गरिरहेकी फिलिपिनो कामदारलाई चुम्बन गरेको विषय बाहिरिएपछि डुटेर्टेविरुद्ध स्त्रीद्वेषीको आरोपसमेत लागेको बिबिसीले जनाएको छ । उनको कदमलाई लिएर फिलिपिन्सभर र अन्य देशमा पनि सामाजिक सञ्जालभर विरोध भइरहेको छ ।

 

प्रकाशित: २३ जेष्ठ २०७५ ०३:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App