१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

गोलभेंडामा देखिएको टुटा प्रकोप नियन्त्रण अभियान सुरु

रसुवाको कालिका गाउँपालिका–३ धारापानीका व्यावसायिक कृषक रमेश अधिकारीले लगाएका गोलभेंडामा प्रयोग गरिएको विद्युतीय पासो ।तस्बिरः हिमनाथ/नागरिक

रसुवा - जिल्लामा कृषकले लगाएका गोलभेंडामा देखा परेको टुटा नियन्त्रणका लागि अभियान सुरु गरिएको छ ।जिल्लाको कालिका, उत्तरगया र नौकुण्ड गाउँपालिकाको विभिन्न स्थानमा कृषकले लगाएका गोलभेंडामा पात तथा फल जोतुवा किरा अर्थात टुटाको प्रकोप फैलिएपछि अभियान सुरु गरिएको हो । टुटाको कारण गोलभेंडामा क्षति हुन थालेपछि जिल्ला कृषि विकास कार्यालयले अभियान सञ्चालन गरेको हो ।

टुटा नियन्त्रणका लागि विषादी वितरण, जनचेतनाका कार्यक्रम सञ्चालन गर्ने र प्रविधि सहयोग लगायतको कार्य गरिएको छ । कार्यालयले दिएको जानकारी अनुसार टुटा प्रभावित क्षेत्रका कृषकलाई अल्कोरा, टुटा ट्रयाप, टुटा ल्युर, ट्रेसर, बिटी, एल्लो स्ट्रकी ट्रयाप वितरण गरेको छ।

प्रविधि तथा विषाधीको प्रयोग सुरु गरिएसँगै टुटाको प्रकोप क्रमशः कम हुँदै गएको वरिष्ठ कृषि विकास अधिकृत दिनेशबाबु तिवारीले बताए । ‘टुटा नियन्त्रणका लागि समयमा नै अभियान सुरु भएकाले कृषकलाई कम क्षति पुगेको छ, वरिष्ठ कृषि विकास अधिकृत तिवारीले भने, यसमा कृषकले पनि उचित ध्यान पुरयाउन पर्छ ।’

‘टुटाको कारण हामीले क्षति वेहोर्नु परेको थियो, कालिका गाउँपालिका–५ का अगुवा कृषक भवनाथ पौडेलले भने, अहिले अभियान सञ्चालन गरेपछि क्षति कम हुँदै गएको छ ।’ पहिलो चरणमा गोलभेंडा खेतीको अवस्थाको बारेमा कृषक समुह र कृषि सहकारी मार्फत तथ्याङ्क संकलन गरिएको थियो।

अभियान मूलक समस्या निधान तथा टुटा व्यवस्थापन कार्यक्रम जिल्लाको कालिका, उत्तरगया र नौकुण्ड गाउँपालिकामा सञ्चालन गरिएको थियो । कार्यक्रममा कालिका तथा नौकुण्ड गाउँपालिकाका १०४ र उत्तरगयामा १०५ कृषक सहभागि भएका वागवानी विकास अधिकृत सन्तोष पाठकले बताए ।टुटाले गोलभेंडा, भण्टा, खुर्सानी र आलुमा समेत क्षति पुयाउने कृषि प्राविधिक बताउँछन् । टुटा व्यवस्थापनका लागि आइपीएम पद्धती अपनाउन सुझाव दिइएको वागवानी विकास अधिकृत पाठकले बताए।
जिल्लामा गोलभेंडा खेतीको अवस्था :

रसुवामा पछिल्लो समय गोलभेंडा खेतीको उत्पादन बढ्दै गएको देखिन्छ । २०७२ सालमा चार सय मेट्रिक टन गोलभेंडा उत्पादन भएकोमा २०७३ मा एक हजार ८ गोलभेंडा उत्पादन भएको थियो । जिल्लामा अहिले ६० हेक्टर क्षेत्रफलमा गोलभेडा खेती हुन थालेको छ ।कार्यालयले गरेको सर्वेक्षण अनुसार जिल्लामा अहिले एक हजार ६ सय ८० वटा प्लाष्टिक घरमा गोलभेंडा उत्पादन भएको छ । प्रतिघर ६ सय केजीका दरले वार्षिक एक हजार ८ मेट्रिक टन गोलभेडा उत्पादन भएको वागबानी विकास अधिकृत पाठकले बताए ।

जिल्लामा टमाटरको लागि पर्याप्त बजार रहेको र राम्रो मूल्य पाउने कारण कृषकले उत्पादन बढाउँदै लगेका छन् । गोलभेडा खेतीबाट कृषकले वार्षिक तीन करोड ५२ लाख ८० हजार आम्दानी गर्न सफल भएको उनले बताए ।प्रकोपको कारण यो वर्ष उत्पादन घट्ने सम्भावना उच्च रहेको उनको भनाई छ । २०६८ सालमा व्यावसायीक गोलभेडा खेतीको थालनी हुँदा जिल्लामा साढे एक हेक्टर क्षेत्रफलमा गोलभेंडा खेती गरिएको थियो ।

जिल्लाको उच्च हिमाली भागमा गोलभेंडा उत्पादन गर्नका लागि तापक्रम बृद्धि गरि गुमोज आकारका घरहरुको समेत निर्माण गरिएको छ । जिल्लामा प्लाष्टिक घरमा गोलभेडा कार्यक्रम मार्फत २०६८ सालमा पहिलो पटक २० ओटा प्लाष्टिक घरमा गोलभेडा खेतीको सुरुवात गरिएको थियो ।जिल्लामा उत्पादन भएको गोलभडा करिब ५० प्रतिशत स्थानीय बजारमा नै खपत हुने गर्दछ । बेमौसममा काठमाण्डौ र त्रिसलीबाट जिल्लामा भित्रने र मौसमी सिजनमा जिल्लाबाट त्रिशुली तथा काठमाण्डौ लैजाने गरिएको छ।


 

प्रकाशित: २१ जेष्ठ २०७५ ०२:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App