१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘जुन महिनाबाट चिनियाँ सामानमा कर लाग्छ’

वासिङ्टन– चीनबाट हुने ५० विलियन डलर बराबरको आयातमा पूर्वघोषित २५ प्रतिशत ट्यारिफ मध्य जुनपछि सुरु गर्ने अमेरिकाले बताएको छ।

दुई देशबीच वार्ता चलिरहेका कारण हाललाई चिनियाँ सामानमाथि लगाइने ट्यारिफ होल्ड गरिएको अमेरिकी अर्थमन्त्री स्टेभेन नुचिनले बताएपछि अमेरिकी प्रशासन चीनप्रति नरम भएको भन्दै आलोचकहरुले आरोप लगाइरहेका बेला अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको यस्तो धारणा बाहिरिएको बिबिसीले जनाएको छ । यद्यपी ह्वाइट हाउसले कुन कुन चिनियाँ सामान आयातमा ट्यारिफ लगाउने भनेर बनाइएको सूची जुन १५ मा सार्वजनिक गर्ने जानकारी गराएको छ । मध्य जुनपछि चिनियाँ सामानमाथि २५ प्रतिशत ट्यारिफ लगाउने अमेरिकी घोषणाले आफू अचम्ममा परेको चीनले बताएको छ ।

चीनको वाणिज्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यसअघि अमेरिका र चीनले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिको मर्मअनुसार गतिविधि गर्न आग्रहसमेत गरेको बिबिसीले उल्लेख गरेको छ । ‘केही समयअघि मात्रै वासिङ्टनमा दुई पक्षबीच भएको सहमतिको ठिक विपरित विवादित धारणा अमेरिकाबाट बाहिरिएको छ,’ चिनियाँ वाणिज्य मन्त्रालयले जारी गरेको विज्ञप्तिलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । अमेरिका र चीनबीचमा व्यापार असन्तुलन र ट्यारिफका विषयमा अर्को चरणको वार्ताअघि ह्वाइट हाउसको कडा कदम बाहिरिएको छ । व्यापार असन्तुलन र एकअर्काप्रति घोषणा गरिएको ट्यारिफबारे छलफल गर्न अमेरिकी वाणिज्य मन्त्री विल्वर रोस यसै साता बेइजिङ भ्रमणमा जाँदै छन् ।

मे महिनामा अमेरिका र चीनबीच वासिङ्टनमा भएको वार्ताकै निरन्तरताका रूपमा रोस चीन जान लागेको बताइएको छ । मे महिनामा वासिङ्टन र बेइजिङबीच भएको वार्ता चीनले अमेरिकाबाट उत्पादन हुने कृषिजन्य पदार्थ र ऊर्जा उत्पादनसम्बन्धी बढी सामान खरीद गर्ने विषयमा सहमति भएको थियो ।

अमेरिकाले विश्व व्यापार संगठनमा लगेको मुद्दा र चीनमाथि लगाएको ट्यारिफ तथा लगानी प्रतिबन्ध चीनमा अभ्यासमा रहेको बौद्धिक सम्पतिसम्बन्धमा अमेरिकाले गत वर्ष सञ्चालन गरेको अनुसन्धानको नतिजाको कारण भएको बताइन्छ । अमेरिकाले चीनलाई आयातमा कर घटाउन दबाब दिइरहेको छ ।

त्यसैगरी उसले चिनियाँ कम्पनीमा अमेरिकी बौद्धिक सम्पतिको प्रयोग रोक्नसमेत माग गरिरहेको छ । चीनमा हाल विदेशी कम्पनीले लगानी गर्नुपर्दा स्थानीय व्यापारीसँग साझेदारीमा मात्रै गर्न पाउने प्रावधान हटाउन पनि अमेरिकाले दबाब दिँदै आइरहेको छ । अमेरिका र चीनबीच पछिल्लो समय भइरहेको व्यापारसम्बन्धी बहस र अमेरिकी तथा चिनियाँ प्रशासनबीचको बिग्रदों सम्बन्धका कारण व्यापार युद्ध हुनसक्ने तर्फ चिन्ता व्यक्त गरिदैं आएका छन् । अमेरिकी हार्डलाइनरहरुले चीनमाथि कडा कदम लिन ह्वाइट हाउसलाई दबाब दिइरहेको विषय बेलाबखत बाहिरिएका छन् ।

केही समयअघि अमेरिकी अधिकारीहरुले प्रतिक्रियाको अवधि राख्दै केही चिनियाँ सामानमा ट्यारिफ लगाउने घोषणा गरेको थियो । पहिलो चरणमा सार्वजनिक भएको सूचीमा मेडिकल उपकरण र औद्योगिक मेसिनरीसहित करिब एक हजार तीन सय चिनियाँ सामग्री रहेका थिए । ‘जुन १६ भित्र ट्यारिफ लगाइने चिनियाँ सामानको अन्तिम सूची सार्वजनिक गरिने छ,’ अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले मंगलबार बताएको छ।

प्रकाशित: १७ जेष्ठ २०७५ ०२:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App