१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सकियो यस वर्षको साकेला उभौली

उदयपुर – किराती समुदायको महान चाड ‘साकेला धिरीनाम ५०७८’ धुमधामका साथ सम्पन्न भएको छ। गाईघाटमा शनिबार र आइतबार दुईदिनसम्म विभिद् कार्यक्रम गर्दै यस वर्षको साकेला औपचारिक रुपमा समापन भएको हो।

किराँत राई यायोक्खा प्रारम्भिक कमिटी गाईघाटद्वारा आयोजित ‘नवौं गीता राई स्मृति साकेला सिली प्रतियोगिता’ को आयोजनासहित सम्पन्न गरिएको धिरीनाम कार्यक्रममा इटहरी नगरपालिका २० को तरहरा साकेला समूह उत्कृष्ट प्रदर्शनी गर्दै प्रथम भएको छ। मोछामा, रैछाकुले, साकेला सिली प्रदर्शन गरेको तरहराले ३० हजार नगदसहित ४० तोला चाँदीजडित ट्रफि हात पार्यो।

त्यस्तै मोरङको पथरी साकेला समूहले दोस्रो हुँदै २० हजार जित्यो। उसले मोछामा, वापा–वामा, साकेला, चाबुङ (ढिक्की कुटेको), ङाँसा सैमा (जाल हान्ने) सिली कौशलतापूर्वक प्रस्तुत गरेको थियो। अर्को समूह धरान उपमहानगरपालिका १९ पिपरा साकेलाले आकर्षक ५ वटा सिली प्रदर्शन गर्दै तेस्रो स्थान हाँसिल ग¥यो। उसलाई नगद १० हजार र प्रमाण पत्र प्रदान गरियो। धरानले मोछामा, धरवासा (परेवा सिलि), तावा (मयुर), रैका (बेसारा), छिनैपारनुई) बाँदर, धनुषको सिली प्रदर्शन गरेको थियो।

प्रतियोगितामा त्रियुगा नगरपालिका ३ मोतिगडा साकेला समूह र त्रियुगा नगर कमिटी साकेला समूह सान्त्वना पुरस्कार पाउन सफल भए। नगद ७ हजार र प्रमाणपत्र प्राप्त गरेको नगर कमिटिले मोछामा, तावा, सिकिपरी (कुलपित्र, तयामा खियामा), मौवा (कल्चुडो), तयामा सिखयामा सिली प्रदर्शन गरेको थियो भने मोतिगडा समूहले मोछामा, नुई, छिनैपा (बाँदर, खारु (भस्मे फाँडेको), चारुइमारचासुङ (अन्न भेला पार्ने), विदावारी सिली प्रदर्शन गरेको थियो।

साकेलामा खास सिलिको महत्व राख्ने आयोजक समिति अध्यक्ष प्रकाश राई बताउँछन्। प्रकृति पुजक किराती समुदायले सिलीमार्फत किराँती सभ्यता अनुरुपको प्रकृति, वातावरण, मौसम, खेतीपाती, जीवनसैली, गतिविधि, जीवजन्तु तथा पशुपन्छीको चालचलनलाई उतार्ने गरेको राईको भनाई छ। ढोल झ्याम्टाको तालमा साकेला नाँच्दै सिलिमार्फत अन्नबाली रोपेको, गोडेको, काटेको, झाँटेको र भकारीमा थन्काएकोसम्म कार्य नृत्यको हाउभाउबाट देखाउनुलाई सिली भनिन्छ।

सिलीमार्फत गंगटा हिडेजस्तो, चरा उडेजस्तो, भाले बासेजस्तो, बाँदर उफ्रेजस्तो चाल, चलन र शैली प्रदर्शन गर्दा आकर्षक र मनोरञ्जक देखिन्छ। साकेला गीतमार्फत चेली–माइतीको पौराणिक गाथा र महत्व, किरात पूर्खा सुम्निमा पारुहाङको चर्चा, बयान गरिन्छ। किराती भेषभुषा, गरगहनामा सजिए हातमा चौरीगाईको पुच्चर, सेउली लिएर जोर ठोल, झ्याम्टाको तालमा नाँचिन्छ । नयाँ पुस्तामा साकेला सिली लोप हुदै गएकाले सिलीकै प्रवद्र्धनका लागि विशेष प्रदर्शनी राख्ने गरेको आयोजक किराया नगर कमिटी अध्यक्ष दिपक राईले बताए।

विना सिलीको साकेला नाच खल्लो र त्यसले खासै महत्व नराख्ने भएकाले बाबु, बाजेहरुको पालादेखि नाचिदै आएको पुराना सिलीसमेतको जगेर्ना र नयाँ सिलिको विकास गर्न कार्यक्रम गरिदै आएको आयोजक समितिले जनाएको छ। किराती सभ्यताको प्रवद्र्धनका लागि २०६४ सालदेखि गाईघाटमा हरेक वर्षको उभौलीमा भब्यरुपले साकेला कार्यक्रमको आयोजना गरिदै आएको छ।

त्रिनपा ११ को साकेलाथान र मोछाामा खिममा राई विजुवा निरबहादुर राईले विधिवत रुपमा पूजा गरी वर्षको साकेला नाच खुलाएको १ महिनापछि समापन गरेका हुन्। कुल धामीले फुकाएपछि मात्र साकेला नाच्ने, ढोल, झ्याम्टा बजाउने चलन छ र सोही ढंगले बीट मार्ने चलन अनुसार समापन गरिएको हो। अहिले पनि राई समुदायको घरमा कुलपुजामा बजाइने ढोल, झ्याम्टा धामीले नखुलाएसम्म बजाउने चलन नरहेको स्थानीय अगुवा जीतमान राईले बताए।

भाषाशास्त्री प्रा. डा. कैलाश राईका अनुसार कुल, देवता र पित्रलाई नचढाई नयाँ अन्नबाली खाए रिसाउने भएकाले मंसिरमा उधौली र वैशाख जेठमा उभौली गरी वर्षमा दुई पटक पुर्खाको पुजा गर्दै बाली लगाउने तथा पाकेको नयाँ बाली चढाउने गरी साकेला मान्ने गरिएको हो। कुलदेवता, पितृको स्मरणमा ढोल–झ्याम्टा बजाएर साकेला नाच्दै प्रकृतिको पुजा गर्दा शुभ्यफाप्य हुने पौराणिक विश्वासले पनि किराती समुदायमा यो चलन चलिआएको डा. राईको भनाई छ।

प्रकाशित: १६ जेष्ठ २०७५ ०५:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App