१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रसुवामा आधुनिक हेलिप्याड निर्माण

रसुवाको सदरमुकाम धुन्चेस्थित नेपाली सेनाको कालिजंग गणमा निर्माण हुँदै गरेको हेलिप्याड र हेलिप्याड निर्माणमा खटिएका नेपाली सेना । तस्बिर : हिमनाथ

रसुवा– रसुवामा रातिको समयमा पनि हेलिकप्टर अवतरण गर्नका लागि आधुनिक किसिमको हेलिप्याड निर्माण सुरु भएको छ। 

लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको कालिजंग गणले सदरमुकाम धुन्चेस्थित गणभित्र करिब १५ लाखको लागतमा हेलिप्याड निर्माण सुरु गरेको हो। गणमा रहेको हेलिप्याडमा यसअघि दिउँसोको समयमा मात्र हेलिकप्टर अवतरण गर्न सकिन्थ्यो। 

रातिको समयमा पनि हेलिकप्टर अवतरण गर्नुपर्ने भएकाले आधुनिक किसिमको हेलिप्याड निर्माण गर्न लागिएको हो। भौगोलिक विकटताको कारण समयमा नै अस्पताल पुर्‍याउन नसक्दा बिरामीको अकालमै ज्यान जाने समस्यालाई मध्यनजर गर्दै हेलिप्याड निर्माण सुरु गरिएको गणले जानकारी दिएको छ। 

अहिले निर्माण भइरहेको हेलिप्याडमा वाइन्ड डिरेक्सन इन्डिकेटर, लाइटिङ, हेलिकप्टरको इन्ट्री र एक्जिट प्वाइन्ट राखिने गणले जनाएको छ। हेलिप्याडमा रडको प्रयोग गरिएको छ। ५० फिट डायमिटरको हेलिप्याड निर्माण हुने सेनाले जनाएको छ। एमआइ सेभेन्टिन हेलिकप्टर अवतरण गर्न सकिने बताइएको छ। 

हेलिप्याड निर्माणका लागि जिल्लाका गोसाइँकुण्ड, कालिका र आमाछोदिङ्मो गाउँपाालिका, निर्माणधिन जलविद्युत आयोजना र मैलुङ स्याफ्रुबेँसी निर्माण कार्यदलले निर्माण सामग्री उपलब्ध गराएका छन्। गोसाइँकुण्डले ७०, कालिका र आमाछोदिङ्मोले ५०/५० हजार बराबरको सामग्री उपलब्ध गराएको छ। 

जिल्लामा निर्माण भइरहेका रसुवागढी, सान्जेन, माथिल्लो त्रिशुली ए लगायतका जलविद्युतले सहयोग गरेका छन् । निर्माणका लागि कालिजंग गणले जनशक्ति बाहेक तीन लाख बजेट छुट्याएको छ।   

आपतकालिन अवस्थामा सर्वसाधरणले पनि हेलिप्याडको प्रयोग गर्न पाउने नेपाली सेनाले जनाएको छ। सुत्केरी र दुर्घटनामा परेका व्यक्तिलाई तत्काल उपचारको लागि हेलिकप्टर अवतरण गर्न परेमा मन्त्रालयसँग स्वीकृति लिन नपर्ने बताइएको छ। 
भौगोलिक विकटता, जीर्ण सडक र एम्बुलेन्सको अभावका कारण जटिल खालका बिरामीलाई समयमा अस्पताल पुर्‍याउन समस्या हुँदै आएको छ। विपद्को समयमा सवारी साधनबाट लैजानका लागि सम्भव नभएकोले हेलिप्याडको निर्माण पश्चात सहज हुने बिश्वास गरिएको छ। 

 

प्रकाशित: १४ जेष्ठ २०७५ ०८:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App