प्याेङयाङ - उत्तर कोरियाले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगकाे आगामी जुन १२ मा सिंगापुरमा हुने भनिएको शिखर वार्ता अमेरिकाले स्थगित गरेकोमा दु:ख व्यक्त गरेको छ ।
उत्तर कोरियाले वार्ता स्थगित गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णय विश्वको इच्छा विपरीत भएको जनाएको छ। उत्तर कोरियाली सरकारी समाचार एजेन्सीले नेता किम जोग उनले अमेरिकी राष्ट्रपति ट्रम्पसँग वार्ता गर्न निकै प्रयास गरेको समेत जनाएको छ। उत्तर कोरियाले अमेरिकासँग देखिएको विवाद ‘जहिल्यै र जसरी पनि’ समाधान गर्न आफूले चाहेको बताएकाे छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोग उनसँग गर्ने भनिएको शिखर वार्ता स्थगित गरेको घोषणा गरेका थिए। ट्रम्पले उत्तर कोरियाली नेताले केही समययता आफ्ना टिप्पणीहरुमा पोखेको आक्रोसका कारण अहिले भेट गर्नु उपयुक्त नभएको बताउँदै वार्ता स्थगित गरेकाे बताएका हुन्।
किमलाई सम्बोधन गर्दै ट्रम्पले लेखेको पत्रमा वार्ता स्थगनबाट संसारले दीर्घकालीन शान्तिको ठूलो मौका गुमाएको भन्दै वार्ताको सम्भावना भने कायमै रहेको उल्लेख गरेका छन्।अहिले स्थगित गरिएको शिखरवार्ता पछि गर्न आफू इच्छुक रहेको समेत ट्रम्पले जनाएका छन्। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेजले वार्ता स्थगित भएकोप्रति गम्भीर चासो व्यक्त गरेका छन्।
प्रकाशित: ११ जेष्ठ २०७५ ०३:१२ शुक्रबार