१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

कुशे औँसीको शास्त्रीय महत्व

भाद्र कृष्ण अमावश्यलाई कुशे औँसीका रूपमा मनाइन्छ। कुशलाई धार्मिक एवम् पितृकार्यका निम्ति अतिआवश्यक र पवित्र वस्तु मानिएको छ। आज ब्राह्माणले शास्त्रोक्त विधानअनुसार पूजा गरी शुद्धभूमिमा उमि्रएको कुशच्छेदन गरेर घरमा ल्याउँछन्। घरमा कुश राख्नाले वर्षभरि  अशान्ति हुँदैन र सर्वत्र कल्याणमय वातावरण कायम रहन्छ भन्ने विश्वास गरिन्छ। शास्त्रमा कुशलाई ब्रह्मणा सह उत्पन्न तथा दर्भस्वस्तिकरोभवः भनेर अति मङ्गलमय मानिएको छ।

कुशे औँसीलाई पितृकार्यका निम्ति अत्यन्त उत्तम तिथि मानिन्छ। त्यसैले आजका दिन काठमाडौँ सहरबाट पाँच माइल पूर्व वाग्मती नदीको किनारमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिरमा धूमधामसँग मेला लाग्छ। जहाँ टाढाटाढाबाट थुप्रै भक्तजन आफ्ना मृत पिताको आत्माको तृप्ति र शान्तिका निम्ति श्राद्ध एवम् तर्पण गर्न आउँछन्। स्त्री पुरुष सबैले वाग्मतीमा स्नान गरी मृत पितृहरुलाई श्रद्धाञ्जलि अर्पण गर्छन्। आज गरेको दानतर्पण, श्रद्धा र सदाव्रतको फलस्वरूप मृत पिताको आत्माले शान्ति प्राप्त गर्छ भन्ने विश्वास गरिन्छ।

कुशे औँसीलाई पितृकार्यका निम्ति अत्यन्त उत्तम तिथि मानिन्छ। त्यसैले आजका दिन काठमाडौँ सहरबाट पाँच माइल पूर्व वाग्मती नदीको किनारमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिरमा धूमधामसँग मेला लाग्छ।

पितृकार्यका दृष्टिले पवित्रतम मानिएको यस गोकर्णेश्वर शिवलिङ्गलाई विशेष गरेर मृत्आत्माहरुको कल्याणका निम्ति उनीहरुकै मण्डलीमा बसेर रमाउने लिङ्गका रूपमा आराधाना गरिन्छ। यस पर्वको प्रचलन सम्बन्धमा धेरै ग्रन्थमा विविध कथन पाइएका छन्। स्वस्थानी व्रतकथामा वर्णन भएअनुसार एकपटक श्री महादेव कसैले थाहा नपाउने गरी पशुपतिको जङ्गलमा एक सिङ भएको स्वर्णमृग रूप धारण गरी वन बिहार गर्न थाल्नुभयो। भगवान शिवको अनुस्थितिले विष्णु, ब्रह्मा, इन्द्रलगायत् सम्पूर्ण देवता निराश भए। यो देेखेर जगदम्बा भवानीले महादेवले मृग रूप धारण गरेर वन बिहार गरेको रहस्य बताइदिनुभयो। तब ब्रह्मा, विष्णु इन्द्रले एकैपटक त्यस मृगलाई समात्नुभयो। संयोगवश एकैपटक मृगको उक्त सिङ तीन टुक्रा भयो। यो देखेर सबै देवता आश्चर्यमा परे र क्षमा माग्न थाले। तत्पश्चात् शिवजीले आफ्नो स्वरूपमा प्रकट भएर देवताहरुलाई भन्नुभयो– 'तपाईंहरुले कुनै प्रकारको चिन्ता लिनुपर्दैन। मेरा सिङका तीन टुक्रा विष्णुको हातमा रहेको वैकुण्ठधाममा, इन्द्रका हातमा परेको अमरावतीमा र ब्रह्माको हातमा रहेको नेपालको वाग्मती नदीको पवित्र तट गोकर्णमा स्थापना गर्नू।' महादेवकै कथनानुसार ब्रह्माजीले गोकर्ण तटमा उक्त सिङ स्थापना गर्नुभयो। यसरी ब्रह्म्ााजीले स्थापना गरेको त्यही मृगको अवशेष पवित्र शिवलिङ्गका रूपमा गोकर्णेश्वर महादेव नामले विख्यात् छ।

ब्रह्माजीले गोकर्णमा शिवलिङ्ग स्थापना गरेको थाहा पाएर सम्पूर्ण देवीदेवताले भाद्र कृष्ण अमावश्यका दिन त्यहाँ आई पवित्र वाग्मतीमा स्नान गरी शिवजीको पूजाअर्चना गरे। त्यसैबेलादेखि यस तीर्थमा आफ्ना पितृहरुलाई पिण्डदान गरेर शिवजीको पूजा अर्चना गर्ने परम्परा कायम भएको हो भन्ने विश्वास गरिन्छ।

त्यस्तै,  यस पर्वको उत्पत्ति र सुरुवात्का सम्बन्धमा अर्को कथन पनि प्रचलित छ । प्राचीनकालमा पाञ्चाल देशका राजा वृषकर्णको गोकर्ण नामक एउटा पुत्र थियो। बाबुछोराको एकापसमा मेल थिएन। सधैँ झगडा पर्थ्याे। दुवै एकअर्कालाई झगडा गर्दै नरक जान परोस् भनी श्राप दिन्थे। दैवसंयोग छोरो गोकर्ण पहिल्यै नै यमलोक पुग्यो। बाबु मर्दा काजकिरिया गर्ने कोही भएन र बाबुको अधोगति भयो। एक दिन गोकर्णले यमलोकमा भगवान विष्णुको दर्शन पायो र पापबाट मुक्त भयो। भगवानकै भनाइअनुसार उसले पिता वृषकर्णको नाममा श्राद्ध गरेर पिण्डदान गर्‍यो जसका कारण उसको बाबु प्रेतयोनीबाट मुक्त भए। त्यसपछि गोकर्णले बाबुबाट आशीर्वाद पायो। भनिन्छ, त्यसैबेलादेखि नै कुशे औँसीका दिन गोकर्णमा मृत पितृका नाममा श्राद्ध गर्ने चलन चल्दै आएको हो।

कुशे औँसी, गोकर्णे औँसी वा बाबुको मुख हेर्ने आदि नामले यस पर्वलाई मनाइन्छ। यो दिन मृत पितालाई स्ाम्मान गर्ने दिनमात्र नभएर जीवनकालमा आफ्ना जन्मदातालाई भक्तिपूर्वक आदर सत्कार गर्ने दिन पनि हो। आफ्ना बाबुको श्रद्धामान हेरचाह गनर्ुुपर्ने कुरालाई यसपर्वले हामीलाई सन्देश दिएको छ। काठमाडौ ंउपत्यकालगायत देशभर आजको दिनलाई बाबुको मुख हेर्ने दिनका रूपमा पनि मनाइन्छ। यस दिन आफ्ना छोराछोरी आफ्ना बाबुको मुख हेर्न विभिन्न फलफूल, मिठाइ, कपडा लिएर  आउँछन्। विवाह भएर गएका छोरी पनि आफ्ना बाबुको मुख हेर्न आफ्नो माइतघर आउँछन्। छोराछोरी दुवैले आफ्ना पिताप्रति श्रद्धाभाव प्रकट गर्छन्। पारिवारिक आत्मीयता र स्नेह सम्बन्धलाई प्रगाढ बनाई आफ्नो जन्मदाताको सम्मान गर्न सिकाउने यस पर्वले हाम्रो सांस्कृतिक गौरवमय धार्मिक एवम् पैतृक परम्परालाई सुदृढ बनाउन ठूलो योगदान पुर्‍याएको छ।

प्रकाशित: १६ भाद्र २०७३ ०५:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App