१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकाबाट थप सामान र सेवा आयात गर्न चीन सहमत

वासिङ्टन– अमेरिकासँग हुँदै आएको व्यापार असन्तुलन घटाउँदै थप सामान र सेवा आयात चीन सहमत भएको छ ।
चीनको यस्तो निर्णयले विश्वका दुई शक्तिशाली अर्थतन्त्रबीच सम्भावित व्यापार युद्धको डरलाई कम गरेको बिबिसीले उल्लेख गरेको छ ।

चीनको सहमतिसँगै बेइजिङसँग रहँदै आएको वार्षिक तीन सय ३५ विलियन अमेरिकी डलरमा उल्लेख्य रूपमा कमी आउने वासिङ्टनलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । व्यापार घाटामा कमी आउने बताए पनि वासिङ्टनले ठ्याक्कै कति कम हुन्छ भन्नेबारे भने नबताएको बिबिसीले जनाएको छ ।‘अमेरिकी कृषिजन्य सामान र ऊर्जासम्बन्धी निर्यातमा अर्थपूर्ण वृद्धिका लागि दुई पक्षबीच सहमति भएको छ,’ वासिङ्टनमा भएको दुई देशबीचको वार्तापछि जारी गरिएको अमेरिका–चीन विज्ञप्तिमा जनाइएको छ । ‘सहमतिले अमेरिकाको वृद्धि र रोजगारीमा सहयोग पुग्ने छ,’ विज्ञप्तिमा भनिएको छ ।

आआफ्ना सरोकारका विषयलाई समाधान गर्नका लागि व्यापारसम्बन्धी वार्तालाई रचनात्मक तरिकाले जारी राख्ने विषयमा पनि दुई देशबीच सहमति भएको बिबिसीले जनाएको छ । अमेरिकाले यसअघि चीनसँगको व्यापार घाटा दुई सय विलियन डलर घटाउने बताए पनि यस विषयलाई विज्ञप्तिमा भने उल्लेख गरिएको छैन । सहमतिको विज्ञप्तिमा दुवै पक्षले एक अर्काविरुद्ध लगाएको विलियन डलर बराबरको ट्यारिफ लगाउने वा त्यसलाई हटाउने भन्नेबारे भने केही उल्लेख नगरिएको बिबिसीले जनाएको छ । दुवै देशले एक अर्काका आयातमाथि ट्यारिफ लगाए पनि त्यसलाई तत्कालै लागू भने गरेका छैनन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा एक सय ५० विलियन डलरसम्मको ट्यारिफ लगाउने चेतावनी दिँदै आएका छन् । उनले चीनले प्रविधि र कपीराइट जस्ता अमेरिकी बौद्धिकताको चोरी गरिरहेको आरोप लगाउँदै उक्त कार्य अन्त्यका लागि बेइजिङमाथि ट्यारिफ लगाउनु पर्ने जिकिर गर्दै आएका छन् । अमेरिकाले चीनबाट आयात हुने स्टिल र आल्मुनियममा यसअघि नै ट्यारिफ लगाइसकेको छ । वासिङ्टनले स्टिल र आल्मुनियम आयात गर्ने कतिपय देशमाथिको ट्यारिफ हटाइसकेको भए पनि चीनमाथि भने यसलाई कायम नै राखिरहेको छ ।

आफ्ना सामानमा ट्यारिफ लगाउने अमेरिकी कदमपछि चीनले पनि अमेरिकी सामानमा त्यस्तै प्रकृतिको ट्यारिफ लगाउने चेतावी दिइसकेको छ । उसले अमेरिकी विमान, भटमास, कार, सुँगुरको मासुर, वाइन, फलफूल र बदाममा ट्यारिफ लगाउने घोषणा यसअघि नै गरिसकेको छ । चीनको राज्य सञ्चालित समाचार एजेन्सी सिन्हले आइतबार प्रकाशित गरेको एउटा लेखमा अमेरिका र चीनबीच भएको पछिल्लो सहमति ‘विन–विन’ को एउटा राम्रो उदाहरण भएको उल्लेख गरेको छ । अमेरिकाको चीनसँग रहेको व्यापार घाटा घटाउन सहयोग गर्ने सिन्ह्वाले जनाएको छ ।‘दुवै देशबीच दुई पक्षीय लगानीका लागि प्रोत्साहन गर्ने, निष्पक्ष व्यापार र प्रतिस्पर्धाका लागि ठाउँ उपलब्ध गराउनेबारेमा सहमति भएको छ,’ दुई देशले जारी गरेको व्यापार विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित: ७ जेष्ठ २०७५ ०२:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App