१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

आफ्नालाई मात्र उखुको भुक्तानी

काठमाडौं – सरकारले उखु किसानलाई भुक्तानी नदिने चिनी उद्योगीलाई कारबाही गर्ने घोषणा गरे पनि किसानले अहिलेसम्म भुक्तानी पाउन सकेका छैनन् । केही चिनी मिल बाहेक अधिकांशले अहिलेसम्म किसानको भुक्तानी दिन अटेर गरिरहेका छन्।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवको सक्रियतामा चिनी उद्योगीलाई समय तालिका निकालेर किसानको बक्यौता भुक्तानी गर्न भनिएको थियो । चिनी उद्योगीले सोही अनुसार समय तालिका बनाएर भुक्तानी गर्ने सहमति गरे पनि अहिले त्यो कार्यान्वयन हुन सकेको छैन । मन्त्रालय मौन बसिदिँदा उद्योगलाई झन् सहज भएको किसानको बुझाइ छ।

मुलुकमा सञ्चालन भएका १२ वटा चिनी मिलले किसानलाई झन्डै १० अर्ब रुपैयाँ उधारो उखुको पैसा तिर्न बाँकी छ ।
अहिलेसम्म इन्दुशंकर चिनी मिलले समय तालिका निकालेर भुक्तानी गरिरहेको भए पनि अन्यले आफूखुसी गरिरहेका छन् । ‘अहिलेसम्म इन्दुशंकर चिनी मिलले मात्र समय तालिका अनुसार किसानको भुक्तानी गरिरहेको छ,’ नेपाल उखु उत्पादक संघका अध्यक्ष कपिलमुनि मैनालीले भने, ‘अन्यले आफूखुसी गरेका छन् । मन लागेकालाई मात्र दिएका छन ।’ इन्दुशंकर चिनी मिलले पुस र माघ महिनासम्मको भुक्तानी दिइसकेको छ । उसले आधा भुक्तानी दिइसकेको मैनालीले बताए । उसले किसानलाई एक अर्ब ३० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी थियो।

पछिल्लोपटक चिनी मिलले आफ्ना नजिकका किसान र ठूलो डाँको गर्न सक्नेलाई मात्र भुक्तानी गरेका छन् । निमुखा किसान झन् मारमा परेको मैनालीले बताए । ‘उद्योगीले अहिले आफ्ना मान्छे रोजेर भुक्तानी दिइरहेका छन्,’ मैनालीले भने, ‘कोही झगडा गर्न सक्छ भने उसलाई पनि भुक्तानी दिएका छन् । अरु किसान मारमा परेका छन्।’

किसानको भुक्तानी गर्न अटेर गर्नेमा एभरेस्ट चिनी मिल अगाडि देखिएको छ । उसले अहिलेसम्म २५ प्रतिशत हाराहारी मात्र भुक्तानी गरेको र बाँकी भुक्तानी गर्न अटेर गरिरहेको किसानको भनाइ छ । एभरेस्टले किसानलाई एक अर्ब ४० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । उसले पनि मिलमा आएर झगडा गर्न सक्ने र आफ्ना नजिकका किसानलाई मात्र दिएको किसानको भनाइ छ।

‘गरिब र बोल्न नसक्ने किसान झन् मर्कामा परेका छन्,’ मैनालीले भने, ‘उनीहरू मिलमा पुगेर झगडा गर्न सक्दैनन् । उनीहरूलाई खान, लाउन, बच्चालाई स्कुल पठाउन धेरै गाह्रो भएको छ ।’ उखु किसानको अन्य आयस्रोत नहुँदा उनीहरूको दैनिक जीविका चलाउनै गाह्रो भएको उनको भनाइ छ।

मन्त्री यादवले हस्तक्षेप गर्दै किसानको भुक्तानी नतिरे कारबाही गर्ने चेतावनी दिएपछि चिनी मिलहरुले चैत २२ गतेदेखि बाँकी भुक्तानी दिने प्रतिबद्धता जनाएका थिए । बाराका रिलायन्स सुगर मिलले एक अर्ब र श्रीराम सुगर मिलले ६८ करोड रुपैयाँ तिर्न बाँकी छ । मैनालीका अनुसार श्रीरामको बक्यौतामध्ये २३ करोड रुपैयाँ ३–४ वर्षअघिको हो।

त्यसैगरी, सर्लाहीको अन्नपूर्ण चिनी मिलले ३० देखि ३५ करोड, सुनसरीको इस्टर्न सुगर मिलले ४० देखि ५० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । नवलपरासीमा रहेका वागमति सुगर मिल, लुम्बिनी चिनी मिल र इन्दिरा चिनी मिल, कञ्चनपुरको महाकाली चिनी मिल र भानेश्वरी चिनी मिलले पनि किसानको भुक्तानी तिर्न बाँकी छ।

गत वर्ष मुलुकभर एक लाख ३० हजार टन चिनी उत्पादन भएको थियो । यस वर्ष यो बढेर एक लाख ७० हजार टन उत्पादन हुने अनुमान गरिएको छ । हरेक वर्ष उखु किसान पलायन भइरहेको बेलामा पोहोर साल सरकारले तोकेको मूल्यमा किसान सन्तुष्ट भएपछि यस वर्ष उत्पादन बढेको मैनालीले बताए।

सरकारले पाहोर साल उखुको मूल्य प्रतिक्विन्टल पाँच सय ३१ रुपैयाँ तोकेको थियो । यस वर्ष यसलाई बढाएर प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा बनाउने तयारी छ।

किसानलाई भुक्तानी गर्न बाँकी रकम
एभरेस्ट सुगरमिल–    १ अर्ब ४० करोड
इन्दुशंकर सुगर मिल–  १ अर्ब ३० करोड
रिलायन्स सुगरमिल–    १ अर्ब
श्रीराम सुगर मिल–      ६८ करोड
अन्नपूर्ण चिनी मिल–    ३० देखि ३५ करोड
इस्टन सुगर मिल–      ४० देखि ५० करोड

प्रकाशित: ६ जेष्ठ २०७५ ०३:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App