१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गोसाइँकुण्ड र लाङटाङ सफा राख्न अभियान सुरु

रसुवा – पर्यटकीय क्षेत्र लाङटाङ र गोसाइँकुण्ड क्षेत्रलाई प्लाष्टिक तथा सिसाजन्य फोहोरमुक्त घोषणा गर्नका लागि अभियान सुरु भएको छ।

पर्यटकीय क्षेत्रमा फोहोरको मात्रा बढ्दै जाँदा पर्यटन व्यावसाय धरासायी हुने संभावना बढेसँगै लाङटाङ राष्ट्रिय निकुञ्ज र जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाले संयुक्त रुपमा अभियान सुरु गरेका हुन्। निकुञ्जको ४२ औँ स्थापना दिवसको अवसरमा गरिएको प्रतिवद्धता अनुसार स्वच्छ र सफा लाङटाङ निर्माण गर्नका लागि अभियान सुरु गरिएको निकुञ्जले जनाएको छ।

अभियान अन्तर्गत निकुञ्जभित्र सञ्चालनमा रहेका होटल व्यवसायीसँग फोहोर व्यवस्थापन सम्बन्धी छलफल तथा अन्तरक्रिया गरिरहेको छ। अभियानका लागि लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र सहयोग आयोजनाले आर्थिक तथा प्राविधिक सहयोग गरेको छ।

निकुञ्ज क्षेत्रभित्र पर्ने होटल तथा पदमार्गमा भएका फोहोर व्यवस्थापन गर्ने र फोहोर हुन नदिनका लागि जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले बताए। पर्यटकीय क्षेत्रमा फोहोरको मात्रा बढ्दै जाँदा पर्यटन व्यवसायमा नकरात्मक असर गर्ने प्रमुख संरक्षण अधिकृत रेग्मीले बताए। ‘निकुञ्ज क्षेत्रमा पर्यटकको संख्या घट्नु भनेको रोजगारीको अवसरबाट बञ्चित हुनु हो, प्रमुख संरक्षण अधिकृत रेग्मीले भने, यसका कारण अवैध चोरी तस्करी र युवाहरू विदेश पलायन हुने जोखिम बढ्छ।’

सफा निकुञ्ज, सफा लाङटाङ र सफा गोसाइँकुण्ड निर्माण अभियानलाई सफल बनाउनका लागि होटल व्यावसायी, पर्यटन व्यवसायी र सरोकारवालाहरूसँग समन्वय गरेर अघि बढ्ने योजना बनाइएको निकुञ्जले जनाएको छ।

पर्यटकीय क्षेत्रमा फोहोर व्यवस्थापनका लागि तीन वर्षे रणनीति निर्माण
फोहोर मैला व्यवस्थापनका लागि निकुञ्ज र स्थानीय तहले तीन वर्षे साझा रणनीतिक योजना निर्माण गरेका छन्। तीन वर्षभित्र लाङटाङ र गोसाइँकुण्ड क्षेत्रलाई प्लाष्टिक तथा सिमाजन्य फोहोरमुक्त क्षेत्र घोषणा गर्नका लागि निकुञ्ज र जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाले २०७५–०७६ देखि २०७८–०७९ सम्मको लागि योजना निर्माण गरेका हुन्।

रणनीतिक योजना निर्माणमा लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र सहयोग आयोजनाले सहजिकरणको भूमिका निर्वाह गरेको छ। निर्माण गरिएको रणनीतिक योजनामा २३ वटा बुँदा समेटिएको छ।योजनाअनुसार धुन्चे, स्याफ्रुबेँसी, लाङटाङ र गोसाइँकुण्ड क्षेत्रमा बोटल बियर बिक्रि निषेध गर्ने, प्लाष्टिकको झोला प्रयोगमा निषेध गर्ने, नीतिको अवज्ञा गर्ने घरधुरीलाई निकुञ्ज र पालिकाबाट सुविधा रोक्का गर्ने तयारी छ।

खच्चर व्यवसाय सञ्चालन गर्न गाउँपालिकामा दर्ता गर्नुपर्ने नीति बनाउने र लाङटाङ, क्यानजिन र गोसाइँकुण्ड रुटमा सामान लिएर जाने प्रत्येक खच्चरलाई ८ किलो र हेलिकप्टरलाई ४० किलो फोहोर तल झार्ने नीति बनाएर कार्यान्वन गर्ने गाउँपालिकाले जनाएको छ।फोहोमैला व्यवस्थापनका लागि प्रत्येक बस्ती र टोलमा फोहोर मैला व्यवस्थापन समुह गठन गरिने गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताए।

‘आवश्यकता अनुसार ठाउँठाउँमा फोहोर व्यवस्थापन केन्द्रहरू निर्माण गर्ने योजना बनाएका छौँ, अध्यक्ष तामाङले भने, हामीले रुटमा प्रयोगमा रोक लगाउन लागिएका सामग्रीको बैकल्पिक उपाय पनि पहिचान गरेका छौँ।’

फोहोरलाई मोहोरमा रुपान्तरण गर्न लाङटाङ र गोसाइँकुण्ड रुटको केही स्थानमा प्लाष्टिक कम्प्रेसन मेसिन राख्ने, प्लाष्टिकको बोटलको प्रयोग न्यूनिकरण गर्नका लागि गोसाइँकुण्ड र लाङटाङ क्षेत्रमा जडान गरिएको ओजोनेटेड सिष्टम वाटर फिल्टर सञ्चालनको व्यवस्था मिलाउने बताइएको छ।

प्रकाशित: १ जेष्ठ २०७५ १०:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App