२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

तीन सिफ्ट चल्ने उद्योगलाई बढी फाइदा

काठमाडौं- सरकारले औद्योगिक क्षेत्रमा लोडसेडिङ हटाएको घोषणासँगै निजी क्षेत्रमा उत्साह थपिएको छ । लामो समयसम्म लोडसेडिङको विकराल समस्या भोगिरहेको औद्योगिक क्षेत्रमा उत्पादन थप वृद्धि हुने व्यवसायीले अपेक्षा गरेका छन्।

डेढ वर्षअघि सर्वसाधरणलाई लोडिसेडिङ हटाएको विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा भने दैनिक सरदर ३ देखि ४ घन्टा लोडसेडिङ गरिरहेको थियो । आइतबार त्यो तीन घन्टाको लोडसेडिङ पनि हटाएको घोषणाले औद्योगिक क्षेत्रमा प्रतिस्पर्धा बढ्ने र उत्पादकत्व बढ्ने व्यवसायीको भनाइ छ ।‘औद्योगिक क्षेत्रमा लोडसेडिङ नगर्ने घोषणा खुसीको खबर हो,’ नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले भने, ‘जुन मेहनत गरेर प्राधिकरणले सबै क्षेत्रलाई लोडसेडिङमुक्त गरेको छ, यसले धेरै राम्रो प्रभाव पार्नेछ ।’

उद्योग क्षेत्रमा लोडसेडिङ हटाउँदा प्रतिस्पर्धा थप बढ्ने आशा गरिएको छ । स्थापना भएका उद्योगले चाहेको विद्युत् पाउँदा उत्पादन पनि बढ्नेछ । यसले प्रतिस्पर्धा बढाउने शर्माको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले पनि औद्योगिक क्षेत्रमा २४सै घन्टा विद्युत् उपलब्ध हुनु धेरै राम्रो भएको बताए । ‘दैनिक जेनेरेटर चलाउने अवस्थामा विद्युत् उपलब्ध हुनु खुसी कुरा हो ।’ दैनिक २४सै घन्टा चल्ने उद्योगले अहिलेसम्म दिनको ३ देखि ४ घन्टा जेनेरेट चालाउनुपर्ने बाध्यता थियो । प्राधिकरणको आइतबारको घोषणाले त्यो समस्या पनि हल गरेको छ ।

‘दैनिक विद्युत् उपलब्ध हुँदा २४सै घन्टा चल्ने उद्योगलाई धेरै फाइदा पुग्छ,’ मुरारकाले भने, ‘बन्दै गर्न नमिल्ने प्रकृतिका उद्योगलाई राम्रो कुरा हो ।’ कुनै पनि उद्योगको प्रकृति र आवश्यकता अनुसार एक, दुई वा तीन सिफ्टमा चल्ने गर्छन् । तीन चार घन्टा लोडसेडिङ हुँदा दुई सिफ्टसम्म चल्ने उद्योगलाई खासै असर गरेको थिएन ।
तीन सिफ्ट चल्ने उद्योगलाई २४सै घन्टा ऊर्जा आवश्यक पर्छ । उनीहरुले विद्युत् वा डिजेल जसरी पनि जाहो गर्नुपर्ने हुन्छ । जस्तो कि, स्टिल उद्योग, क्लिंकर उद्योगलाई २४सै घन्टा ऊर्जा आवश्यक पर्छ ।

२४सै घन्टा चलाउनुपर्ने क्लिंकर उत्पादक जस्ता उद्योगलाई सरकारको नयाँ घोषणाले खुसी बनाएको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापाले बताए । क्लिंकर उत्पादन गर्ने सिमेन्ट उद्योगले अहिले ३ देखि ४ घन्टा लोडसेडिङ भोगिरहेका थिए । विद्युत्को उपलब्धता २४सै घन्टा भएपछि उद्योगको दैनिक लागत समेत घट्ने उनेले बताए ।

‘अझै पनि केही मात्रामा डिजेलको झन्झट छ,’ थापाले भने, ‘सरकारले घोषणा गरे अनुसार विद्युत् उपलब्ध भयो भने डिजेल ल्याउने झन्झट र यसमा हुने लागत कम हुनेछ ।’ उनका अनुसार २४सै घन्टा विद्युत् उपलब्ध भएको ३–४ प्रतिशत लागत घट्न सक्छ जुन ठूलो लगानी भएका उद्योगलाई ठूलो परिणाम हो । उद्योगहरूको दैनिक लागत उद्योग अनुसार फरकफरक हुन्छ । ठाउँ र उद्योगको प्रकृति अनुसार लागत फरक भए पनि २४सैं घन्टा विद्युत् उपलब्धताले केही लागत घट्ने शर्माले बताए।

अहिलेसम्म कुनै उद्योगले आवश्यक विद्युत् उपलब्ध नहुँदा चाहेर पनि उत्पादन बढाउन सकेका थिएनन् । उनीहरूले उत्पादनलाई खुम्च्याउनुपर्ने बाध्यता थियो, जसले लागत बढेको थियो भने बजार भाउ महँगो भएको थियो । विद्युत् उपलब्ध सहज हुँदा उत्पादन बढ्ने, यसले प्रतिस्पर्धा बढ्ने र आम उपभोक्तालाई समेत राहत मिल्ने अनुमान गरिएको छ ।

विद्युत्को उपलब्धतासँग यसको गुणस्तरमा पनि ध्यान दिनुपर्ने व्यवसायीको भनाइ छ । विद्युत् गइरहने, बिग्रने जस्ता समस्या भइरहन्छन् । पुराना ट्रान्समिसन, ग्रिड राम्रो नहुँदा यस्तो समस्या हुने भएकाले यसलाई पनि प्राधिकरणले ध्यान दिन शर्माले आग्रह गरे । ‘अहिले संसारमै गुणस्तरीय ऊर्जाको चर्चा गरिन्छ,’ शर्माले भने, ‘सहजतासँग गुणस्तरमा पनि अब ध्यान दिनु आवश्यक छ।’

मुलुकले एक दशकदेखि नै लोडसेडिङको विकराल अवस्था भोग्दै आएको थियो । दैनिक १८ घन्टासम्म लोडसेडिङ हुँदा औद्योगिक क्षेत्र धराशयी जस्तै भएका भएको थियो । जनताको दैनिक जीवनमा समेत गम्भीर असर गरेको थियो । उपभोक्ताको निर्वाह खर्च बढेको थियो भने डिजेल, जेनेरेटर जस्ता सामानको आयात बढेको थियो ।

प्राधिकरणमा कुलमान घिसिङ कार्यकारी निर्देशक भएपछि लोडसेडिङ घटाउँदै लगिएको थियो । उनैको पहलमा ढेड वर्षअघि पहिलो चरणमा काठमाडौं उपत्यका र पछि विस्तारै अन्य जिल्लामा गरेर मुलुकभर लोडसेडिङमुक्त गरिएको थियो । आइतबार उद्योग क्षेत्रलाई पनि लोडसेडिङमुक्त गरेपछि अब मुलुकभर अविच्छिन्न उज्यालो भएको छ । यसले औद्योगिक क्षेत्र, आमउपभोक्तालाई खुसी पारेको छ।

यसैबीच, नेपाल उद्योग वाणिज्य महासंघले औद्योगिक क्षेत्रमा जारी लोडसेडिङ हटाएकोमा स्वागत गरेको छ । महासंघले सोमबार एक विज्ञप्ति जारी गरी यसबाट मुलुकमा उद्योग, व्यवसाय विस्तार, निर्वाध सञ्चालन र उत्पादन वृद्धिमा योगदान पुग्ने जनाएको छ । यसले लगानीकर्तालाई आकर्षित गर्ने पनि महासंघले जनाएको छ ।

 

प्रकाशित: १ जेष्ठ २०७५ ०१:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App