१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

नेपालमा मुट कोर्टको सुरुआत

नेपालस्थित अमेरिकी दूतावासले हालै फुलब्राइट अलम्नाई एसोसिएसन तथा अमेरिकी न्याय मन्त्रालयसँगको सहकार्यमा पहिलो अमेरिका–नेपाल अन्तर्राष्ट्रिय मुट कोर्ट (नमुना अदालत) प्रतियोगिता आयोजना गरेको छ। मुट कोर्टले कानुनका विद्यार्थीहरूलाई आफ्ना भावी ग्राहकका लागि राम्रा अधिवक्ता बन्न प्रशिक्षित गर्छ। प्रतियोगितामा उनीहरू कुनै काल्पनिक मुद्दामाथि बहस गर्छन्। न्यायाधीशको भूमिका स्वयंसेवकहरूले निर्वाह गर्छन्, जसमध्ये धेरै जना अनुभवी अधिवक्ता वा वास्तविक न्यायाधीश नै हुन्छन्। यस्तो प्रतियोगितामा भाग लिँदा विद्यार्थीहरूको लिखित तथा मौखिक वकालत सीप विकसित हुन्छ। मुम्बई, वासिङ्टन डिसी र लन्डन जस्ता सहरहरूमा अन्तर्राष्ट्रिय मुट कोर्ट प्रतियोगिताहरू प्रायः आयोजित भइरहन्छन् र तिनमा भाग लिनका लागि विश्वभरका शैक्षिक संस्थाले आफ्ना विद्यार्थी पठाउँछन्। प्रत्येक प्रतियोगिताले विद्यार्थी, अधिवक्ता र न्यायाधीशलाई एकार्कासँग जोडेर उनीहरूलाई आआफ्ना विचार र संस्कृति आदानप्रदान गर्ने मौका दिँदै संसारलाई केही नजिक्याउँछ। यस्ता आदानप्रदानको एक विन्दु भई काम गर्नका लागि काठमाडौँको स्थान अनुपम छ।

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र नेपालका लागि अमेरिकी राजदूत अलाइना टेपलेट्जले काठमाडौँको कानुनी समुदायबाट सहभागी विद्यार्थी तथा सदस्यहरू समक्ष आआफ्ना सारगर्भित मन्तव्य राख्दै प्रतियोगिताको उद्घाटन गर्नुभयो। उहाँहरू दुवैले विद्यार्थीका लागि आफ्ना कानुनी सीप तिखार्ने र व्यक्तिगत सम्बन्ध विस्तार गर्ने अवसरका रूपमा प्रतियोगिताको महत्वमाथि जोड दिनुभयो। उहाँहरूले लोकतान्त्रिक समाजमा विधिको शासनको महत्वबारे प्रकाश पार्नुका साथै स्वतन्त्र तथा प्रभावकारी न्यायालय कायम गर्नका लागि सुप्रशिक्षित अधिवक्ताहरूको भूमिकामाथि जोड दिनुभयो। अन्त्यमा दुवै वक्ताले न्यायालयको भविष्यका लागि महिलाको भूमिकामाथि जोड दिनुभयो । खास गरी हावार्ड विश्वविद्यालय लगायतका धेरै शैक्षिक संस्थाले विशेष गरी महिला सहभागी टोलीहरू पठाएका र अन्तिम चरणको प्रतिस्पर्धामा पुग्नेमा सबै महिला रहेको सन्दर्भमा वक्ताहरूको भनाइले खास महत्व राखेको थियो।

प्रतिस्पर्धी टोलीहरू नेपालका पाँच कानुनी शैक्षिक संस्था र अमेरिकाको वासिङ्टन डिसीस्थित हावार्ड स्कुल अफ लबाट आएका थिए। प्रतियोगिता सकिएपछि हावार्डका विद्यार्थीहरूले नेपाली विद्यार्थीले प्रदर्शन गरेको आतिथ्य र मित्रताको भावनाको उच्च प्रशंसा गरे। कानुन क्याम्पसहरूबीच काठमाडौँमा सीमित अन्तक्र्रिया हुने हुँदा अन्य कानुनी शैक्षिक संस्थाका सहकक्षीहरूसँग जोडिने अवसर पाउँदा आफूहरूलाई खुसी लागेको थुप्रै नेपाली विद्यार्थीहरूले मलाई बताए।

नेपालका कानुन पढ्ने विद्यार्थीहरूसँगको आफ्नो विगतको अनुभवका आधारमा मैले नेपाली सहभागीहरूको कार्यसम्पादनबारे उच्च अपेक्षा राखेको थिएँ र विद्यार्थीहरूले कुशल अधिवक्ता सीप प्रदर्शन गर्दै मेरो अपेक्षाभन्दा निकै राम्रो गरे। न्यायाधीशबाट आफूलाई सोधिने कडा प्रश्नहरूका लागि उनीहरूले राम्रो तयारी गरेका थिए र उनीहरूले प्रदर्शन गरेको वकालतको गुणस्तर मैले वास्तविक कानुन व्यवसायीको क्षमतालाई टक्कर दिनसक्ने खालको भएको पाएँ । न्यायाधीशको भूमिका निर्वाह गरिरहेका वास्तविक अधिवक्ता तथा कानुनका प्राध्यापकले बहसलाई अझै रोचक बनाए। प्रतियोगीहरूलाई न्यायाधीशले जटिल कानुनी प्रश्न सोध्दै वक्ताहरूको क्षमताको जाँच गर्नुका साथै आजको अन्तर्राष्ट्रिय कानुनको सीमाको ज्ञानको समेत जाँच लिए। अन्तिम चरणमा हावार्ड विश्वविद्यालयको स्कुल अफ ल र नेपाल ल क्याम्पसबीच प्रतिस्पर्धा भएकामा नेपाल ल क्याम्पसले उत्कृष्ट टोलीको उपाधि हासिल ग¥यो भने हावार्ड टोलीका एक सदस्यले उत्कृष्ट वक्ताका रूपमा विजयी भए।

यस्ता प्रतियोगिताहरूमा अदालतको कक्षभित्र र बाहिर विद्यार्थीहरूका बीच हुने अन्तक्र्रियाहरूको एउटा ठूलो फाइदा छ– साझा उद्देश्यका साथ विद्यार्थीहरू एक ठाउँमा भेला हुन्छन् र उनीहरूका पृथक् व्यक्तिगत तथा सांस्कृतिक अनुभवको आदानप्रदानको सहजीकरण हुन्छ। प्रतियोगिताको आयोजकका रूपमा मेरो लक्ष्य विद्यार्थीहरूले कानुन र त्यसले समाजमा खेल्ने भूमिकाका विषयमा सिकून् भन्ने मात्र होइन, उनीहरूले आफू र आफ्नो समुदाय तथा विश्वभरका कानुन व्यवसायीका बारेमा समेत सिकून् भन्ने हो। मैले पनि विद्यार्थी जीवनमा मुट कोर्टमा भाग लिएको थिएँ र त्यस अनुभवले मलाई अन्तर्राष्ट्रिय कानुनलाई आफ्नो व्यवसायका रूपमा रोज्न प्रेरित गर्नुका साथै क्यारिबियन, अमेरिकी महाद्वीप, दक्षिण एसिया र युरोपबाट आएका मेरा सहभागी प्रतिस्पर्धीहरूको संस्कृतिका बारेमा धेरै कुरा पनि सिकायो।

व्यक्ति–व्यक्तिबीच सम्बन्ध निर्माण गर्नुका साथै अन्तर्राष्ट्रिय मुट कोर्ट प्रतियोगिताहरू अन्तर्राष्ट्रिय कानुनसम्बन्धी समाधान भई नसकेका विषयगत प्रश्नहरूमा केन्द्रित काल्पनिक परिदृश्यको सेरोफेरोमा निर्मित हुन्छन्। उदाहरणका लागि, मध्यपूर्वमा ‘अरब स्प्रिङ’ र अमेरिकामा ‘अकुपाई वालस्ट्रिट’जस्ता विरोध आन्दोलनहरूपछि मुट कोर्टका लागि केही परिदृश्यहरू तय गरिए र तीमार्फत नागरिकको विरोध प्रदर्शन गर्ने अधिकार र राज्यको स्थायित्व र सुरक्षा कायम गर्ने अधिकारका बीच अन्तर्राष्ट्रिय कानुनले कसरी सन्तुलन मिलाउँछ भन्ने विषयमा खोजीनिती गरियो । अन्तर्राष्ट्रिय कानुनअन्तर्गत विवादको विषयका रूपमा रहेको जनजातीय तथा धार्मिक अल्पसंख्यकसम्बन्धी मुद्दा पनि मुट कोर्ट प्रतियोगिताहरूमा बारम्बार बहस हुने विषय बनेको छ । यी सबै मुद्दा यस पटकको अमेरिका–नेपाल अन्तर्राष्ट्रिय मुट कोर्टमा बहसका विषय बनेका थिए। जटिल र बहुरूपी यस्ता मुद्दाले विद्यार्थीलाई भविष्यमा नीति तथा कानुनलाई असर गर्नसक्ने काल्पनिक प्रश्नहरूको सामना गर्न बाध्य बनाउँछन्।

धेरै विधाझैँ कानुन पनि विषयगत विज्ञहरूको वर्षौंको बहस र छलफलबाट कालान्तरमा बन्ने विधा हो। कुनै पनि मुट कोर्ट प्रतियोगिताको लक्ष्य विद्यार्थीलाई अन्ततः सदा परिवर्तनशील विश्वका निम्ति समाधान सिर्जना गर्ने विशेषज्ञ बनाउनका लागि उसको दिमागमा बीजारोपण गर्नु हो। यस बाहेक प्रतियोगिताले विद्यार्थीहरूलाई आफूभन्दा फरक पृष्ठभूमिका व्यक्तिहरूसँग वादविवाद गर्ने मौका दिन्छ, जसले गर्दा उनीहरूको व्यक्तिगत दायरा बलियो बन्छ र भविष्यमा अधिवक्ता वा अदालत अधिकृतका बन्नका लागि उनीहरूको क्षमता पनि विस्तार हुन्छ। तर पनि मुट कोर्ट सफल हुनका लागि ऊर्जावान् स्थानीय विद्यार्थी, आयोजक र कानुनी समुदायका स्वयंसेवक न्यायाधीशहरू महत्वपूर्ण हुन्छन् र यी तत्वहरू हामीले काठमाडौँमा प्रशस्त मात्रामा पायौँ।

अमेरिकाबाट आएका कानुन पढ्ने विद्यार्थीहरूले नेपाल भ्रमण गरी आफ्ना नेपाली समकक्षीहरूसँग अन्तक्र्रिया गरेर धेरै कुरा सिकेका छन्। नेपालमा युवा अधिवक्ताहरूका लागि गहन तालिमको व्यवस्था हुनु आफ्नो संविधान कार्यान्वयन गरिरहेको यस युवा लोकतन्त्रको भविष्यका लागि महत्वपूर्ण छ।

नेपालका विभिन्न क्याम्पसका विद्यार्थीहरूलाई एक ठाउँमा भेला गराउँदै अमेरिका–नेपाल मुट कोर्ट जस्ता प्रतियोगिताहरूले सहकार्यलाई बढावा दिने र युवा अधिवक्ताहरूको सञ्जाल निर्माण गराउने प्रयत्न गर्छन्। मुलुकको नयाँ संविधानलाई व्याख्या र कार्यान्वयन गर्ने जिम्मेवारी यसै पुस्ताले पाएको छ। साथै, प्रतियोगितामा युवा अधिवक्ता र प्राध्यापकहरूलाई न्यायाधीशको भूमिकामा राख्दा प्रतिस्पर्धीहरूले मार्गनिर्देशकसँग गहिरो सम्बन्ध स्थापित गर्न पाएका छन्। भविष्यमा कानुनी पेसामा संलग्न हुँदा उनीहरूलाई यस्तो अनुभव पक्कै उपयोगी हुनेछ।

(लेखक अमेरिकाको हावार्ड स्कुल अफ लसँग आबद्ध छन्)

प्रकाशित: २५ वैशाख २०७५ ०५:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App