१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हात्तीले भत्काएकै घरमा डराएर बस्दै पीडित

चितवन – एकहत्तर वर्ष लागेका मगरा दराई र श्रीमती बुधनी बेलुकीको खाना खाएर आराम गर्दै थिए। गहिरो निद्रा नपर्दै ‘सँसँ’ गरेको आवाज सुने। भुइँमा लगाएको बिछ्यौनाबाट उठ्न पनि पाएका थिएनन्, घर अगाडि पट्टिको भित्तामा जोडले हानेको आवाज आयो। त्यसपछि उनले गाउँमा हात्ती आएको चाल पाए।

‘खाँबा र बारलाई हान्यो,’ मगराले सुनाए, ‘एकापट्टिको भित्ता पूरै भत्कियो।’ हात्तीले घरको भित्ता भत्काएपछि मगरा दम्पति घरकै एक कुनामा कोचिएर बसे। ‘घरको भित्रैसम्म सुँड ल्याएको थियो,’ उनले भने, ‘डरै डरमा बूढाबूढी दुवै जना हातले नाकमुख थुनेर चुप लागेर बस्यौं।’ केही समयमा हात्ती गाउँबाट गएपछि मात्र आफूहरू घर बाहिर निस्किएको उनी बताउँछन्।

घर बाहिर निस्कँदा आफ्नो मात्र नभएर गाउँका अरू घरमा पनि हात्तीले क्षति गरेको पाए। हात्ती गएपछि जाग्राम बसेर रात काटेको मगरा बताउँछन्। वैशाख ८ गते राति भरतपुर महानगरपालिका वडा नम्बर ६, खड्गौलीमा हात्तीको आक्रमणबाट पाँच घरमा क्षति भएका थिए। शुक्रनगरको धम्पुसेबाट मगरा दम्पति एक वर्षअघि मात्र खड्गौली बस्न गएका थिए । अर्काको जग्गामा बसेर जीविका चलाइरहेको आफूहरू पनातिको नाममा रहेको जग्गामा सरेको खड्गौली बताउँछन्।

‘घर त भत्कायो, बस्नु त प-यो,’ मगराले भने, ‘अब कहाँ जाने भनेर अहिले यही घरमा बूढाबूढी बसिरहेका छौं।’ पानी पर्न थालेकाले बस्ने अर्काे विकल्प नहुँदा भत्केकै घरलाई बाँसको बार लगाएर बनाएको मगराले बताए।

हात्तीले उनको सँगै विमल दराई, मायाराम दराई, सन्तराम दराई र गोपी दराईको घर पनि भत्काएको छ। गाउँ छिरेको हात्तीले सुरुमा २६ वर्षीय विमल दराईको घरलाई पछाडिबाट हानेको थियो। हात्तीले घरको भित्ताको एक पाटो नै भत्काएपछि छोरी र श्रीमतीसँगै विमल घरको कुनामा चेपिन पुगेका थिए। हात्तीले घर भत्काएपछि अहिले उनको परिवार घरको आडैमा रहेको एक कोठे घरमा कोचिएर बसेको छ।

‘क्षतिपूर्ति उपलब्ध गराउने कुरा मात्र भएको छ’ भत्किएको घरको खर र भाटा बटुल्दै उनले भने, ‘अहिलेसम्म पाएको छैन।’ १६ वर्षदेखि खड्गौली बसेका ६३ वर्षिय मायाराम दराई उक्त घटना हुनुअघि पनि गाउँमा दुईपटक हात्ती आएको बताउँछन्। ‘दुईपटक आएको थाहा पाएको छु, तर त्यसबेला घर भत्काएको थिएन,’ उनले भने।

हात्तीले भत्काएको घरको भित्ताको एक पाटोलाई उनले त्रिपालले बेरेका छन् । फेरि गाउँमा हात्ती आएर आक्रमण गर्छ की भन्ने त्रासमा उनी रात बिताउँछन्। श्रीमती र बच्चालाई भने उनले घरदेखि केही टाढा आफन्तको घरमा राति बास बस्न पठाउने गरेका छन्। ‘राति त म एक्लै बस्ने गरेको छु,’ उनले भने, ‘म त भाग्न सक्छु, उनीहरू सक्दैनन्।’

राहत रकम चाँडै पाए त्यसमा केही थपथाप गरेर घर बनाउने उनको सोच छ । तर राहत रकम कहिले आउँछ थाहा नभएको उनी बताउँछन्। हात्तीले सन्तराम दराईको घरभित्रको भकारी तानेर धानसमेत नष्ट गरेको थियो। हात्तीले क्षति पु-याएका सबै घर खरले छाएको र खडाई, बाँसले बारिएको कच्ची घर थिए । बस्तीको छेवैमा चितवन राष्ट्रिय निकुञ्ज भएकाले पनि हात्तीले आक्रमण गर्ने डर स्थानीय बासिन्दालाई धेरै हुने गरेको छ।

वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ (चौथो संशोधन २०७४) अनुसार वन्यजन्तुले घर÷गोठ क्षति गरेमा बढीमा दश हजार र भण्डारण गरिएको अन्न क्षति गरेमा पनि बढीमा १० हजारसम्म मात्र राहत दिन सकिने व्यवस्था छ। यसरी क्षतिको तुलनामा न्यून मात्रामा दिइन राहत पनि घटना भएको महिनौंपछि मात्र पीडितले पाउने गरेका छन्।

क्षतिपूर्तीका लागि मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिको सिफारिससहित चितवन राष्ट्रिय निकुञ्जमार्फत् क्षेत्रीय वन निर्देशनालयमा पत्र पठाइन्छ । सो आधारमा क्षेत्रीय वन निर्देशनालयबाट राहत रकम आएपछि मात्र निकुञ्जले पीडितलाई राहत रकम उपलब्ध गराउने गरेको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्याल बताउँछन्।

प्रकाशित: २५ वैशाख २०७५ ०४:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App