१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

माछाको मोह (फोटो फिचर)

पाँचथर – फुर्सद निकालेर होस या आगन्तुकहरूलाई घुमाउन फिदिमबाट माझिटार पुग्ने गरीन्छ। पाँचथर र  तेह्रथुमको सिमाना बनाएर बगेको तमोरको माछाको स्वाद लिने ध्ययले १३ किलोमिटरको यात्रा गरी साझिटारमा रमाउने चलन छ।  शान्त बगिरहेको निलो तमोरको दृष्यमा रमाउदै माछाको स्वाद लिने गरेको देखिन्छ। 

फुसले छाएका स–साना घामले चियाउने घरहरू। तमोर र हेवाले छाडेको किनारमा सानो बस्ती। खोलामा औधी रमाउने माझिहरूकका घर हुन यी। यिनै घरमा पकाएका माछाको स्वादका पारखीहरू धेरै छन्। परम्परागत तरिकाबाट पकाएको माछा खान पाइन्छ।

यो ठाउँ सदरमुकामबाट नजिकै भएपनि आधुनिक प्रचलन थोरैमात्र पुगेको छ। यी घरहरूमा पाकेका माछाको स्वाद लिनका लागि यहाँ पुग्नेको संख्या उल्लेखनीय हुन्छ। जीवनशैली उत्तीकै पुरानो। शनिबार घरहरू खचाखच भरिएका हुन्छ। तमोरमा पाइने विभिन्न जातका माछाको स्वाद लिन यहाँ बाक्लो गरी आहिपुग्ने गर्छन्।

माछा पुर्याउनै कठिन हुने गरेको स्थानीय बिनिता माझिले बताइन।  माझिहरूले माछा मार्छन। आलो र सुकाएका माछा बेच्छन्। माछाले गर्दा अन्य पेय पदार्थपनि चलेको पाइन्छ। मौका मिलाएर माझिटार हुईकिहाल्ने पनि छन्। यहाँ घुम्ने, तमोरमा खेल्ने, फोटो खिच्ने अनि माछा खाएर फर्किने गरेको पाइन्छ।

पाँचथर, ताप्लेजुङ र तेह्रथुमलाई छोएर बग्ने तमोर र काबेलीका माछा निक्कै स्वादका रुपमा लिइन्छ। पाँचथरको पञ्चमीमा काबेली नदी तमोरमा मिसिन्छ। पाँचथर, तेह्रथुम हुँदै धनकुटाका विभिन्न ठाउँमा तमोर नजिकै बनेका बजारमा माछा प्रख्यात छ। माछाको रोजाइले बजार चलेका छन्। ताप्लेजुङको दोभान, पाँचथर ताप्लेजुङको काबेली बजार, माझिटार, लुमुघाट, धनकुटाको मुलघाट निक्कै चर्चित छन्।

माछा खाने साना बजार र बस्तीहरू छन्। पहाडका साना साना माछा निक्कै स्वादिष्ट मानिन्छ। असला, तिते, बुधुना लगायतका मान्छा यहाँको नदीमा पाइने प्रमुख माछा हुन। यहाँको माछा कोशेलीको रुपमा तराई, राजधानी तथा विदेशसम्म पठाइन्छ। काबेलीको माछाको स्वाद विर्सन नसकिने रहेको ताप्लेजुङको सिनामकी सुमी लिम्बु बताउँछिन्। ‘तिते माछाको त कुरै नगरौँ’ उनले भनिन। धेरै ठाउँबाट यहाँको माछाको स्वादको चर्चा हुने गरेको उनले सुनाइन।

पाँचथरको फलैचा र ओयाम तिते माछाका लागि निक्कै चर्चित छ। यहाँको लोकप्रियता धेरै ठाउँमा फैलिएको छ। सिजनमा ठूलो संख्यामा तितेमाछा मारेर सुकाइने गरिन्छ। तितेमाछा मार्न ठेक्कानै लगाइन्छ।

दुई नदीहरू निक्कैका बस्तीहरूमा माछा सुकाएको भेटिन्छ। बजार क्षेत्रमा भने कहिले काही पाइदैन।  आलो माछा प्रतिकेजी सात सय रुपैयाँ पर्छ। प्लेटको एक सय पचास।  सुकाएको माछा प्रतिशील १ सय रुपैयाँ पर्छ। फिदिम आएका पाहुनलाई माझिटार पुर्याएर माछा चखाउने गरिन्छ।

जाल हान्ने, पासो थाप्ने गरेर माछा मार्ने परम्परागत तरिका हो। तर पछिल्ला समयमा करेन्ट र विष्पोट गराएर माछा मार्ने क्रम बढेको छ। यसले गर्दा माछा प्रसस्त रुपमा पाउन छाडेको माझिहरू बताउँछन्।

तस्बिर सबै गिरिराज बास्काेटा

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App