१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

डार्विन र आनुवंशिक परिवर्तन ?

स्कुलमा जीव विज्ञानको कक्षामा गुरुहरूले क्रमिक विकासको अध्याय पढाउँदा, मानव जातिको विकास बाँदरहरूबाट भएको हो भन्दा कक्षाका सबै विद्यार्थी गलल हाँस्थे । ‘तेरो हजुरबाउ बाँदर हो’ भन्दै हल्ला गर्दै हिँडेको अझै सम्झनामा छरपस्ट छ।

धेरै पछिसम्म पनि त्यही सोचियो । तर, जब चाल्र्स डार्विनको ‘ओरिजिन अफ स्पिसिज’ पढेँ, तब ठूलो अज्ञानता हट्यो । वास्तवमा डार्विनले कहीँ–कतै पनि मानव जातिको विकास बाँदरबाट भएको हो भनेका रहेनछन् । क्रमिक विकासको विषय धेरै नै विवादास्पद मानिन्छ।

धर्म, दर्शन र विज्ञान एकै रथमा हिँड्न खोजे पनि फरक पांग्राका कारण यात्रा कठिन हुँदै आएको छ । विज्ञान प्रमाण खोज्छ, धर्म आस्था बोकेर वकालत गर्छ र दर्शन तर्कमा विश्वास गर्छ । क्रमिक विकासको सिद्घान्त पनि त्यही चपेटामा पर्दै आएको छ । आखिर के हो त चाल्र्स डार्विनको प्राकृतिक छनोटबाट हुने क्रमिक विकासको सिद्धान्त ?डार्विनको जन्म सन् १८०९ मा बेलायतको सिरुस्बेरीमा भएको हो । प्रकृतिप्रतिको लगाव बढ्दै गएपछि चिकित्साशास्त्रको अध्ययन छाडेर इन्भर्टिब्रेट्सको अध्ययनतर्फ डार्विन लागेका थिए ।

ग्यालापेगस टापुको पाँचवर्षे भ्रमणको दौरानमा उनले हजारौँ जनावर जम्मा गरेर बेलायत फर्केका थिए । ग्यालापेगस टापुमा देखेका विविधता र ती प्रजातिबीचको समानता देखेपछि डार्विनलाई सबै प्रजाति एउटै पुर्खाबाट आएको हुनुपर्छ भन्ने विश्वास बढ्दै गयो र उनको ‘डेसेन्ट विथ मोडिफिकेसन’ को सिद्धान्तले आकार लियो ।

जैविक विविधताको मूल कारणमा आनुवंशिक विविधता छ । जुम्ल्याहाबीच पनि केही हदसम्म विविधता हुन्छ । एउटै आमाबुवाको छोराछोरीमा समेत धेरै भिन्नता हुन्छ । यसरी नै लामो समयसम्म हुने आनुवंशिक विविधताले सयौँ पिँढीपछि नयाँ रूप लिन्छ ।

प्राकृतिक छनोटले यस्ता उत्परिवर्तनहरूलाई छान्छ, जुन लाभदायक हुन्छन्, जस्तो कि जिराफमा लामो घाँटी । समयको अन्तरालसँगै जिराफ प्रजातिमा लामो घाँटी अनुकूल हुँदै गयो । जसमा लामो घाँटी विकसित भयो, उनीहरूले पुनर्उत्पन्न गर्न सके । जसमा लामो घाँटी भएन, उनीहरू खानाको अभावमा मर्दै गए।
 

डार्विन आफैँले भने यो कुरा पत्ता लगाउन सकेनन् । वास्तवमा डार्विन आफू जीवित रहँदासम्म नि यो कुरा थाहा पाउन सकेनन् । तर, उनले विभिन्न प्रजातिको बनोट र तिनीहरूमा देखेको समानताबाट यो आकलन गर्न सके कि ती सबै जनावरको मूल एउटै हुनुपर्छ । आनुवंशिक विविधताको मूल कारण म्युटेसन अथवा उत्परिवर्तन हो । उत्परिवर्तनका कारण धेरै विविधता देखिन्छ । त्यस्तो उत्परिवर्तन, जसका कारण उक्त जनावरलाई फाइदा हुन्छ, त्यसलाई बेनेफिसियल म्युटेसन अथवा फाइदाजनक उत्परिवर्तन भनिन्छ । उदाहरणका लागि जिराफको घाँटी हेर्न सकिन्छ । कुनै समय जिराफहरूको घाँटी छोटो थियो।

तर, कैयौँ पुस्तापछि जिराफहरूमा लामो घाँटी विकसित भयो । फिक्सन र जोकहरूमा भनेझैँ जिराफले वारिपारिको खान नपाएर आफैँ घाँटी तन्काउँदै गएका भने होइनन् । जिराफको बाहुल्य जनसंख्यामा केही यस्ता जिराफ थिए, जसको घाँटी अरुको भन्दा लामो थियो, जुन एउटा साधारण उत्परिवर्तनले गर्दा हुन्छ । अर्को उदाहरणका लागि कुकुरका बच्चाहरू लिन सकिन्छ । कालो कुकुरका बच्चाहरू कहिलेकाहीँ टाटेपाटे र सेता निस्किन्छन् । ती जिराफका बीच पनि केही त्यस्ता लामा घाँटी भएका जिराफ थिए, तिनलाई खाने बेला लामो घाटीले सहयोग गर्ने गथ्र्यो ।

जसको सानो घाँटी हुन्थ्यो, तिनले रूखको पात टिप्न सक्दैनथे, तर लामा घाँटीवाला जिराफ सजिलै त्यो गर्न सक्थे । प्राकृतिक छनोटले यस्ता उत्परिवर्तनहरूलाई छान्छ, जुन लाभदायक हुन्छन्, जस्तो कि जिराफमा लामो घाँटी । समयको अन्तरालसँगै जिराफ प्रजातिमा लामो घाँटी अनुकूल हुँदै गयो । जसमा लामो घाँटी विकसित भयो, उनीहरूले पुनर्उत्पन्न गर्न सके । जसमा लामो घाँटी भएन, उनीहरू खानाको अभावमा मर्दै गए । यसरी समय बित्दै जाँदा सानो घाँटी भएका जिराफलाई लामो घाँटी भएकाले प्रतिस्थापित गर्दै गए।

लामो घाँटी भएकामध्ये पनि अझै लामो घाँटी भएकाहरू प्रकृतिको छनोटमा पर्दै गए, अन्ततः जिराफको घाँटी अहिलेको अवस्थासम्म आइपुग्यो । यो एउटा सरल र सामान्य उदाहरण भयो।यस्ता उदाहरण प्रकृतिमा धेरै देख्न सकिन्छ । तीमध्ये सबैभन्दा रोचक र डार्विनको प्राकृतिक छनोटद्वारा क्रमिक विकासको सिद्धान्तलाई समर्थन, अनि अझै बलियो बनाउन सहयोग गरेको भने बेलायतको पेपर्ड मथले हो ।

औद्योगिक क्रान्तिको सुरुवातसँगै बेलायतका धेरै औद्योगिक क्षेत्रमा धुवाँहरू निस्किन थाले, ती धुवाँका कारण रूखमा हुने सेता लाइकेन (दाद) हरू मर्न थाले, रूखका कालो बोक्रा देखिन थाले । त्यसमा बस्ने गरेका सेता पेपर्ड मथ, त्यसअघि सेता लाइकेनमा लुकेर बस्थे, तिनलाई खाने चराबाट क्यामोफ्लाज अथवा छाला आवरणले बचेर बस्थे । तर, जब ती लाइकेन मर्न थाले, रूखको कालो बोक्रा देखिन थाले, लुकेर बसेका सेता मथहरू कालो रूखमा सजिलै देखिन थाले।

चराहरूको सिकार हुन थालेपछि ती सेता मथहरूमा अचम्भित पार्ने परिवर्तन देखियो । ती सेता मथहरू काला मथमा बदलिँदै गए । र, कालो रूखको बोक्रामा लुक्न सजिलो हुने कालो किसिमका पेपर्ड मथ देखिन थाले । यो थियो, डार्विनको ‘सर्भाइभल अफ द फिटेस्ट’को उत्कृष्ट उदाहरण ।

त्यो अवस्थामा सेता मथहरू फिट रहेनन्, उनीहरू काला रूखको बोक्रामा सजिलै देखिन्थे, चरा सँगसँगै अरु जनावरको सिकार हुँदै जान्थे । काला मथ, जो कालै पृष्ठभूमिमा बस्थे, उनीहरू सजिलै आवरण लुकाउन सफल भए । त्यस्तै कालो रूखको बोक्रामा लुक्न सजिलो हुने कालो किसिमका पेपर्ड मथ देखिन थाले । प्रदूषण कम हुँदै जान थालेपछि भने सेता मथहरूले ती काला मथहरूलाई प्रतिस्थापन गर्दै गए । वातावरण र पर्यावरणमा आउने परिवर्तनसँगै कसरी जीवहरूले आफूलाई ढाल्न सक्छन् भन्ने कुराको राम्रो उदाहरण हो यो।

यस्ता उदाहरण प्रकृतिमा जताततै भेटिएका छन् । अर्को रमाइलो उदाहरण जापानको सामुराइ क्र्याब (गंगटो) मा देखिन्छ । त्यस गंगटोको सेल (बोक्रा) एउटा रिसाएको सामुराईजस्तो देखिन्छ । जसकारण जापानीहरू त्यो गंगटोलाई मार्दैनन्।

तर, कसरी यस्तो हुन पुग्यो ? यो गंगटोले जानेरै आफैँ सामुराइको जस्तो अनुहार आफ्नो सेलमा ल्याउन सक्यो या प्रकृतिले यसो ग¥यो ? अवश्य हैन । क्रमिक विकास कुनै जनावरले प्राकृतिक तत्वमाथि हाबी भएर उठाउन सक्ने फाइदा होइन । क्रमिक विकास त प्रकृतिको (वा मानवको) छनोटद्वारा बिस्तारै हुने प्रक्रिया हो । सामुराई गंगटोको पछाडि एउटा रमाइलो किस्सा  ।

करिब नौ सय वर्षअगाडि जापानको ताइरा र मिनामोतो वंशबीच ठूलो युद्घ भएको थियो । युद्धमा ताइरा वंशका अधिकांश सामुराइ मरेका थिए । ती गंगटालाई त्यही सामुराइहरूले पुनर्जन्म लिएको भनेर मानिन्छ । मानिसहरूले गंगटा समात्दै गर्दा कसैले संयोगवश एउटा यस्तो गंगटा भेट्यो, जसको ढाडमा मानव अनुहार आकृति थियो, त्यो पनि सामुराईजस्तो । यो देखेर उसले त्यो गंगटालाई त्यही समुद्रमा फालिदियो, सायद आस्था अथवा डरका कारण । त्यसकारण पानीमा फालिएको गंगटा जोगियो । उक्त व्यक्तिले ती गंगटा समात्दै गयो, जसको ढाडमा केही आकृति थिएन ।

शरीरमा मानव अनुहारको आकृति नहुने गंगटाहरू मर्दै गए र आकृति हुनेहरू बाँच्दै गए । पुनर्उत्पन्न गर्दै गए र उति राम्रो आकार हुँदै गयो । यो क्रम चल्दै गयो । मानव आकार भएको गंगटा मार्नु हुँदैन भन्ने कुरा फैलिँदै गयो । पछि ज–जसले त्यस्तो गंगटा भेट्थे, पानीमा फाल्थे । लामो समयमा अहिले आएर त्यस गंगटोको सेल सामुराइको अनुहारजस्तो बन्दै गयो । यो प्राकृतिक छनोट नभएर मानव छनोटको उदाहरण हो । तर, यसरी नै प्रकृतिले पनि आफ्नो अनुकूल हेरेर छनोट गर्छ । जसलाई हामी प्राकृतिक छनोटद्वारा क्रमिक विकासको नाम दिन्छौँ।

डार्विनले यस्तै थप उदाहरण आफ्नो ग्यालापेगस आइल्यान्डको (इक्वेडर) भ्रमणका क्रममा देखेका थिए । आफूले जम्मा गरेको जनावरहरू बेलायत ल्याएर अध्ययन त गरे, तर यो कसरी हुन्छ भन्ने कुरा उनले भेउ पाउन सकेका थिएनन् । उनले यति बुझे कि जनावरहरू एउटै मूलबाट धेरै किसिमका हुँदै जान्छन् ।

प्रकृतिले अनुकूल वातावरण हेरेर छनोट गर्छ र त्यो छनोटमा पर्न सकेका पुनर्उत्पन्न हुँदै जान्छन्, नसकेका मर्दै जान्छन् । त्यो निष्कर्षमा पुग्न उनलाई ग्यालापेगसको दुइटा जनावरले सहयोग गरे । डार्विन ग्यालापेगसमा हुँदा उनले धेरै फिन्च चरा देखे । हेर्दा सबै उस्तै देखिन्थे, शारीरिक बनोट उस्तै देखिन्थ्यो, तर तिनीहरूको चुच्चो फरक थियो ।

कुनै बेला दक्षिण वा उत्तर अमेरिकाका मुख्य भूमिबाट ग्यालापेगसका टापुमा उपनिवेश बसालेका फिन्च चराहरू एउटै प्रजातिबाट १३ विभिन्न प्रजातिमा विकसित र विभाजित भए । उनीहरूको विभाजन मुखको चुच्चोका आधारमा गर्न सकिन्छ । फरक–फरक टापुमा पाइने खाना र हावापानीका आधारमा यो परिवर्तन आएको हो । जस्तो कि फूलबाट रस खाने चराको लामो चुच्चो, ठूलाठूला बिउ खानेका डल्लो र ठूलो, कीरा फट्यांग्रा खानेहरूको सानो चुच्चो हुन्छ ।

यसरी एउटै प्रजातिबाट धेरै प्रजातिको जन्म भयो । त्यसैगरी ग्यालापेगस टापुमै ११ प्रजातिका कछुवा पाइन्छन् । जुन हेर्दा उस्तै छन्, तर घाँटी फरक–फरक किसिमका छन् । कसैको सानो, कसैको एकदम ठूलो । आ–आफ्नो वासस्थान र त्यहाँ पाइने खानेकुराको आधारमा उनीहरूको घाँटी फरक छ ।क्रमिक विकासलाई प्राकृतिक छनोटले निर्धारण गर्छ र प्राकृतिक छनोटको संयन्त्र भनेको आनुवंशिक बहाव, उत्परिवर्तन र अलग हुने क्रम हो ।

जसरी डार्विनको फिन्चेजहरू अलग भएर लामो समयसम्म एक–अर्कासँग अन्तक्र्रिया गर्न, बच्चा जन्माउन सकेनन्, त्यही क्रममा ती चराबीच आनुवंशिक बहाव बढ्दै गयो । तिनको संख्यामा बिस्तारै त्यो टापुको वातावरणअनुसार छनोट र दबाबले गर्दा क्रमिक विकास हुँदै गयो, एक–अर्काबाट भिन्दै हुँदै गए । यसरी छनोटको दबाब, जसलाई सेलेक्टिभ प्रेसर भनिन्छ, त्यसले जनावरहरूलाई वातावरण हेरी त्यहाँ उचित अनुकूलनका लागि चयन गर्दै जान्छ ।
(घिमिरे नर्थ डाकोटा स्टेट विश्वविद्यालयमा विद्यावारिधि गर्दै छन्)

 

 

 

 

 

 

प्रकाशित: २२ वैशाख २०७५ ०१:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App