१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

नौकुण्डमा ४५ किमि सडक निर्माण

नौकुण्ड गाउँपालिकाको सरमथलीमा निर्माण गरिएको नयाँ सडक। तस्बिर : नागरिक

रसुवा – रसुवाको नौकुण्ड गाउँपालिकामा एक वर्षमा करिब ४५ किलोमिटर सडक निर्माण गरिएको छ। सडकमार्गको पहुँचबाट टाढा रहेका यार्सा, सरमथली लगायत क्षेत्रमा सडक निर्माण गरिएको हो।

गाउँपालिकाको करिब दुई करोड २३ लाख रुपैयाँ लागतमा सडक निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष नुर्वुसाङ्बो घलेले बताए। ‘निर्वाचनमा मतदाता समक्ष गाउँमा पूर्वाधारको विकास गर्ने बाचा गरेका थियौं,’ अध्यक्ष घलेले भने, ‘हामी निर्वाचित भएर आइसकेपछि सडकलाई पहिलो प्राथमिकता दिएका हौं।’

एक वर्षमा गाउँपालिकाको ६ वटै वडामा सडक पु¥याइएको छ। सडक निर्माणसँगै गाउँपालिकामा आवतजावत गर्न र सामग्री ओसारपसार गर्न सहज भएको छ। भूकम्पबाट भत्किएका घर पुनर्निर्माणमा जुटेका भूकम्पपीडितले निर्माण सामग्री गाडीमा ओसार्न पाउँदा राहत महसुस गरेका छन्।

सडक निर्माणसँगै अहिले गाउँपालिकाका विभिन्न स्थानमा पसल खुलेका छन्। ‘गाउँमा सडक नपुग्दासम्म जिल्लाको कालिकास्थानदेखि करिब ६ घन्टाको बाटो हिँडेर मालसामान लैजानु पर्ने बाध्यता थियो,’ यार्साका आशिष तामाङले भने, ‘अहिले गाडीबाट सामग्री आँगनमा नै ल्याउन पाएका छौं।’

सडक निर्माण भएपछि त्रिशुलीबाट निर्माण सामग्री ल्याएर ढलान गरेर घर निर्माण गरेको यार्साका बुद्धिबहादुर तामाङले बताए। ‘भूकम्प जानुभन्दा पहिले कच्ची घर निर्माण गरेका थियौं,’ भूकम्पपीडित तामाङले भने, ‘अहिले आफूले चाहे अनुसार ढलान घर निर्माण गर्न पाएका छौं।’

गाउँपालिकामा नयाँ सडक निर्माण गर्नुको साथै करिब ५० किमि सडक स्तरोन्नति गरिएको गाउँपालिकाकी उपाध्यक्ष सृजना लामाले बताइन्। ‘नौकुण्डलाई आगामी चार वर्षमा नमुना गाउँपालिका बनाउन हामी लागिरहेका छौं,’ उनले भनिन्, ‘आवश्यकता अनुसार हरेक गाउँमा सडक, विद्युत्, खानेपानी पु¥याउँछौं।’ गाउँपालिकामा तीन हजार भन्दा बढी घरधुरी रहेका छन्।

प्रकाशित: २१ वैशाख २०७५ ०६:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App