१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

घर निर्माण गर्न भारतकाे हिमाञ्चलबाट १५ घरधुरी गाउँ फर्किए

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–२ यार्साका शेरलामा थोक्राको परिवार भारतको हिमाञ्चलमा बस्छन्। विगत २६ वर्षदेखि उनको परिवार त्यहाँको जेभी कम्पनीमा काम गर्दै आएका छन्। थोक्रा अहिले तीन वर्षअघि गएको भूकम्पले पूर्ण क्षति गरेको घर निर्माण गर्दै छन्। घर निर्माणका लागि थोक्राको श्रीमती पनि नेपाल आएकी छिन्। 

‘हामी बुढाबुढी चार महिनाअघि घर बनाउन गाउँमा आएका हौँ, थोक्राले भने, काम सकिएपछि हामी फेरि उतै फर्कन्छौँ।’ वर्षको तीन महिना उनको परिवार गाउँमा आउने गरेको छ। यो वर्ष भने घर निर्माणका लागि केही समय बढी छुट्टी मागेको उनले सुनाए। 
घर निर्माणका लागि थोक्रा मात्रै होइन यार्साका १५ घरधुरी गाउँ फर्किएका छन्। घर निर्माणका लागि छुट्टी मागेर गाउँ आएको यार्साका लाक्पा तामाङ बताउँछन्। घर निर्माण सकिएपछि काममै फर्कने उनको तयारी छ। 

गाउँमा सामग्रीको अभाव, कामदारको अभाव र कामदारको ज्याला महंगो हुँदा घर निर्माणमा ढिलाई भएको तामाङले बताए। ‘तीन महिनाका लागि छुट्टी लिएर गाउँ आएका थियौँ, तामाङले भने, घर बनाउन ढिलाई भएपछि कम्पनीमा फोन गरेर अर्को महिनामा आउने भनेका छौँ।’

घर निर्माण सकाएर केही परिवार भने यसअघि नै भारत फर्किसकेका छन्। भारतको हिमाञ्चलमा ३० घरधुरी बस्दै आएका छन्। निर्माण सामग्रीको अभावले यार्सामा घर पुनर्निर्माणमा ढिलाई भएको भूकम्पपीडित बताउँछन्। 

सडक सञ्जालमा जोडिएसँगै ढलान गरेर घर निर्माण गर्ने बढे 

नौकुण्ड गाउँपालिकाको ६ वटै वडा सडक सञ्जालसँग जोडिएको छ। सडक सञ्जालसँग गाउँ बस्ती जोडिएसँगै भूकम्पपीडितलाई निजी आवास निर्माणमा सहज भएको छ। 

पहिले गाउँमा माटो र ढुङ्गाको घर निर्माण गरिँदै आएको भएपनि अहिले यार्सामा ढलान गरेर घर निर्माण गर्ने क्रम बढेको छ। विकट क्षेत्रको रुपमा परिचित गाउँमा अहिले विकासको पूर्वाधार निर्माण भएसँगै सुगम क्षेत्रको रुपमा परिचित हुन थालेको छ। 

यसअघि माटो र ढुङ्गाको घर चार चोटीसम्म निर्माण गरेका यार्साका बुद्धिबहादुर तामाङले त्रिशुलीबाट निर्माण सामग्री ल्याएर घर निर्माण थालेका छन्। ‘भूकम्प जानूभन्दा अगाडी चार चोटी घर निर्माण गरेको थिएँ, तामाङले भने, अहिले दुई कोठे ढलान घर निर्माण गर्न थालेको छु।’ 

यार्सामा त्रिशुलीबाट सामग्री लगेको प्रति ट्रिप २३ हजार पर्ने गरेको तामाङले बताए। ‘त्रिशुलीबाट सामान ल्याउँदा करिब २३ हजार पर्छ, तामाङले भने, गाउँमा कर्मीलाई १५ सय दिनुपर्दा घर बनाउन समस्या छ।’

स्थानीय तह आएपछि नौकुण्डमा करिब ४५ किलोमिटर सडक निर्माण गरिएको गाउँपालिकाको उपाध्यक्ष सृजना लामाले बताइन्। 

नौकुण्ड गाउँपालिकामा ७२ प्रतिशत लाभग्राहीलाई दोस्रो किस्ता 

नौकुण्ड गाउँपालिकामा करिब ७२ प्रतिशत लाभग्राहीलाई दोस्रो किस्ता सिफारिस गरिएको छ। गाउँपालिकाका तीन हजार दुई सय ३१ लाभग्राहीमध्ये दुई हजार एक सय ८२ लाभग्राहीलाई दोस्रो किस्ता सिफारिस गरिएको जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) रसुवाले जनाएको छ।

लाभग्राहीमध्ये तीन हजार ३६ लाई पहिलो किस्ता, दुई हजार एक सय ८२ लाभग्राहीलाई दोस्रो किस्ता र नौ सय १० लाई तेस्रो किस्ता सिफारिस गरिएको छ। 

प्रकाशित: १८ वैशाख २०७५ ११:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App