१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

मेसीप्रेरित बार्सिलोनालाई उपाधि

स्पेनिस ला लिगाको उपाधि जितेपछि बार्सिलोनाका खेलाडी। तस्बिरः एपि

मड्रिड – लियोनेल मेसीको ह्याट्रिक प्रेरित बार्सिलोना आइतबार डेपोंटिभो ला कोरुनामा ४–२ को नतिजामा विजयी भएपछि टोलीले चार खेल बाँकी रहँदै स्पेनिस ला लिगाको उपाधि जितेको छ।

क्लब इतिहासमा २५औं ला लिगा उपाधि उचालेपछि बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्र्भेडेले ‘अन्तत लक्ष्य हासिल गरेको’ प्रतिक्रिया दिएका छन् । गत साता सेभियालाई ५–० ले हराउँदै स्पेनिस कोपा डेल रेको उपाधि जितेको भाल्र्भेडेको टोलीले जितेको यो जारी सिजनको दोस्रो उपाधि हो।

‘लामो समयदेखि पछ्याइरहेको चिज हासिल हुँदा अन्तत भन्ने सव्दाबलीको महत्व हुन्छ,’ भाल्र्भेडेले भने, ‘यति लामो लिगमा सफलता हासिल गर्न पाउँदा धेरै खुसी छु । लिग अगस्टमा सुरु हुन्छ । अहिले आइपुग्दा सबथोक निर्णय भइसक्छ । हामीले यसबीचमा सबैखाले उतारचढाव बेहोर्यौं । सुरुदेखि हामीले आजैको दिनका लागि मिहिनेत गरेका थियौं । त्यहीअनुसार अहिले फराकिलो अन्तरका साथ पहिलो पटक ला लिगाको उपाधि जितेको छु।’

क्याटालानको टोलीका लागि पूरा सिजन यसपाली उत्साहजनक रहे पनि च्याम्पियन्स लिगमा भने क्वार्टरफाइनलबाटै विदा लिनु परेको थियो । अन्तिम आठको पहिलो लेगमा इटालियन प्रतिद्वन्द्वी एएस रोमामाथि ४–१ को फराकिलो अग्रता लिए पनि दोस्रो लेगमा त्यसलाई जोगाउन नसक्नु बार्सिलोनाका लागि सिजनकै सबभन्दा निराशाजनक पक्ष रहयो।

‘रोमासँग निराश हुँदै च्याम्पियन्स लिगबाट बाहिरिँदा केही समय त्यसको नकारात्मक अशर भयो । तर त्यसपछिको पुनरागमन असाधारण थियो,’ भाल्र्भेडेले थपे, ‘असफलतामा जहिले पनि खोट लगाउने ठाउँ भेटिन्छन् । पराजयमा कमजोरी देखिनु स्वभाविक हो । तर हामी च्याम्पियन्स लिगमा अर्को वर्ष प्रयास गर्नेछौं।’

पछिल्ला १० सिजनमा सातौं पटक स्पेनिस ला लिगाको उपाधि जित्नका लागि आइतबार लिगमा अपराजित यात्रालाई ४१औं खेलसम्म लम्बाउनुपर्ने तथ्यसँग बार्सिलोना जानकार थियो । जहाँ फिलिप कौटिन्होले सातौं मिनेटमै गोल गरेर टोलीलाई अग्रता दिलाए । ओसामाने डेम्बेलेको पासलाई कौटिन्होले गोलमा परिणत गरेका थिए।

मेसीले मध्यान्तर हुन सात मिनेट बाँकी रहँदा दर्शनीय भलीमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । तर लुकास पेरेजले त्यसको दुई मिनेट नबित्दै डेर्पोटिभोका लागि गोल गरेर अन्तर कम गरे । टर्कीका विंगर इमरे कोलाकले ६४औं मिनेटमा डेर्पोंटिभोका लागि बराबरी गोल गरेपछि बार्सिलोना केहीबेर स्तब्ध भएको थियो । तर अन्तिम समयमा तीन मिनेटको बीचमा मेसीले दुई गोल थप्दै ह्याट्रिक पूरा गरेपछि बार्सिलोनाको उपाधि पक्का भयो । लुइस स्वारेजसँग वान टु पास खेल्दै ८२औं मिनेटमा दोस्रो व्यक्तिगत गोल गरेका मेसीले विपक्षी गोलकिपरसँग वान भर्सेज वानको अवस्थालाई ८५औं मिनेटमा गोलमा परिणत गर्दै ह्याट्रिक पूरा गरेका थिए । स्पेनिस ला लिगामा मेसीको यो ३०औं ह्याट्रिक हो।

आइतबारको जितपछि ला लिगाको शीर्ष टोली बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिको मड्रिडलाई ११ अंकले पछि छोडेको छ । एट्लेटिकोले तीन खेलमात्र खेल्न बाँकी रहेकाले आगामी खेलका नतिजा जस्तोसुकै आए पनि बार्सिलोनालाई नभेट्टाउने भएकाले भाल्र्भेडेको टोली चाढै उपाधिको खुसी मनाउन सफल भयो । साथमा यो जितपछि बार्सिलोना सिजनमा एउटै हारको सामना नगरी उपाधि जित्ने ला लिगामा पहिलो टोली बन्न पनि सफल भयो।

‘हामीले यो सिजन साच्चै उत्कृष्ट पदर्शन गर्यौं । यो सिजन हाम्रा लागि सोचेभन्दा राम्रो रहयो । एउटै हार नभोगी उपाधि जित्नु सानो उपलब्धि होइन । सिजनका आगामी खेलमा पनि यही लयलाई निरन्तरता दिनु हाम्रो लक्ष्य हो,’ बार्सिलोनाका मिडफिल्डर सर्जियो बुस्क्वेट्सले भने।

यसै साता जारी सिजनको अन्त्यपछि बार्सिलोना छोड्ने निर्णय सार्वजनिक गरेका भेट्रान मिडफिल्डर आन्द्रियास इनियस्टालाई आइतबार भाल्र्भेडेले आश्चर्यजनक रुपमा बेन्चमा राखेका थिए।

१० जनामा सिमित भएर खेलको अन्त्य गरेको दोस्रो स्थानको एट्लेटिकोले आइतबारै केभिन गामेरियोको गोलमा आल्भेसमाथि १–० को विजयी नतिजा निकाल्यो । तर बार्सिलोनाले पनि आफ्नो खेल जितेका कारण उपाधि दौडमा कायम रहन त्यो पर्याप्त भएन । फर्नान्डो टोरेजले पेनाल्टी खेर फालेको दिन एन्जेल कोरियाले इन्जुरी समयमा दोस्रो पहेलो कार्डको सामना गरेपछि मैदान छोडेका थिए।

स्पेनिस ला लिगामा आइतबारै सम्पन्न अन्य खेलमा भ्यालेन्सिया घरेलु मैदानमा एइबारसँग गोलरहित बराबरीमा सिमित हुँदा गेटाफेले जिरोनासँग १–१ को बराबरी नतिजा निकाल्यो।

प्रकाशित: १८ वैशाख २०७५ ०४:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App