१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पानी पर्दा उखु किसान खुसी

खेतमा हुर्कदै गरेको उखु । तस्बिर : टंक/नागरिक

सर्लाही–दुई दिनयता परेको आकासे पानीले जिल्लास्थित दक्षिण पश्चिम क्षेत्रमा पर्ने बसबरियाका उखु किसान दिनेश महतोको खुसीको सीमै छैन । साढे पाँच बिघा क्षेत्रफलमा उखु लगाएका महतो पानी परेपछि हर्षित भएका हुन्।

‘खेतको उखु डढेर मर्ने अवस्थामा पुगेको थियो,’ उनले भने, ‘यो पानीले हामीजस्ता किसानका लागि ठूलो आश जगाएको छ ।’ हो दुई दिनयता हरेक रात परेको पानीले उखु किसानलाई निकै राहत महसुस भएको छ।

लामो समयदेखि आकासे पानी नपरेका कारण सिँचाइको सुविधा नभएको खेतमा भर्खर हुर्कदै गरेको उखु डढ्ने अवस्थामा पुगेको थियो । तर शनिबार र आइतबार राती परेको पानीले उखु किसानलाई निकै फाइदा पुर्‍याएको छ।

‘यो पानी त उखु किसानका लागि अमृत बनेर वर्षिएको छ,’ नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले नागरिकँसग भने, ‘भर्खर हुर्कदै गरेका मोडर्न र खुट्टी दुवै उखुलाई ठूलो राहत मिलेको छ।’भलादमी पाराको पानी परेकाले उखुका लागि ठूलो टेवा पुगेको मैनालीले जानकारी दिए । ‘धेरै ठूलो पनि हैन, सानो पनि हैन’, उनले भने, ‘ठिक्कसँग परेको पानीले जमिनमुनिसम्म चिसो पुगेको छ, जसले गर्दा उखुलाई निकै फाइदा पुगेको छ।’

जिल्लामा गत साउन अन्तिम सातायता आकासे पानी परेको थिएन । साउन अन्तिममा बाढी, डुबान, कटान लगायत प्राकृतिक प्रकोप भोगेका यहाँका किसानलाई साढे आठ महिनापछि भएको वर्षाले निकै लाभ पुगेको छ । ‘सिँचाइ सुविधा पुगेको खेतमा त नहरको पानी पटाएर उखु बचाउन सकिन्थ्यो,’ महतोले भने, ‘तर सिँचाइको पानी आकासे पानी जस्तो मलिलो हुँदैन, त्यसैले यो पानी उखु बचाउन मात्र हैन, हलक्क बढाउने भिटामिन नै बनेर आएको छ।’

गत वर्ष साढे २१ हजार हेक्टर क्षेत्रफलमा उखु खेती भएको सर्लाहीमा यस वर्ष करिब २४ हजार हेक्टर खेती भएको अनुमान गरिएको छ । ‘यो वर्ष दुई–तीन हजार हेक्टर क्षेत्रफलमा उखु खेती बढेको छ,’ अध्यक्ष मैनालीले भने, ‘यसरी समय–समयमा आकासे पानी परिरहँदा उखु उत्पादन वृद्धि भई किसान लाभान्वित हुनेछन्।’मुलुकमै सबैभन्दा बढी उखु खेती हुने सर्लाही जिल्लामा करिब एक करोड ५० लाख मेट्रिक टन उखु उत्पादन हुने गर्छ।

 

प्रकाशित: १८ वैशाख २०७५ ०२:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App