१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अवैध गिटीसहित पक्राउ टिफरहरु सामान्य जरिवाना लिएर छाडिए

अवैध गिटी लाने क्रममा पक्राउ परी इलाका प्रहरी जलजलेमा राखिएका टिफरहरु । तस्बिरः महेश्वर

उदयपुर– वैकल्पिक लोकमार्गमा प्रयोग गर्न उत्पादित नदीजन्य पदार्थ अवैधरुपमा जिल्लाबाहिर लादै गरेको अवस्थामा आइतबार पक्राउ परेका दर्जन टिफरहरू सामान्य जरिवाना तिराएर छाडिएका छन्। निर्माणाधिन वैकल्पिक लोकमार्ग धरान–चतारा–गाईघाट–कटारी–सिन्धुली–हेटौडा खण्डमा प्रयोग गर्न स्थापित त्रियुगा नगरपालिका ७ चुहाडेस्थित क्रसर उद्योगबाट इजाजत नलिई बाहिर लाँदै गर्दा पक्राउ ११ टिफर नाम मात्रको जरिवाना लिएर छाडिएका हुन्। 

जिल्ला समन्वय समिति उदयपुरले प्रति टिफर २ हजारका दरले जरिवाना लिएको रसिदसहित छाड्न पत्र पठाएपछि सबै टिफर सोमबार मध्यान्ह छाडिएको इप्रका जलजलेका नायव निरीक्षक (सई) दिलिप दासले बताए। दासका अनुसार सोमबार सार्वजनिक विदा परे पनि आईतबारकै मितिमा लेखिएको पत्र देखाउँदै टिफर चालकहरुले जरिवाना तिरिसकेकाले गिटी पनि सप्तरी लान पाउनुपर्ने माग गरेका थिए। तर, जिल्ला प्रहरीको आदेशले गिटी झारेर टिफर मात्र छाडिएको सई दासले बताए।  

वैकल्पिक लोकमार्गको नाममा स्थानीय खोला नदीहरु दोहन गरी नदीजन्य पदार्थ जिल्लाबाहिर चोरी निकासी हुने गरेको भन्दै त्यसलाई रोक्न स्थानीयले माग गरेका छन्। स्थनीयले दिनदहाडै बिना इजाजत चोरी निकासी हुने गरेको नदीजन्य पदार्थ बाहिरिन नदिन कडा कदम चाल्नुपर्नेमा सामान्य जरिवाना लिएर छाडिनु गलत भएको बताएका छन्। क्रसर उद्योगले चुहाडेनजिकैको त्रियुगा र कालीखोलामा गहिरो गहिरो खाल्डो खनेर ढुंगा गिटी र बालुवा निकाल्दै वैकल्पिक लोकमार्गको नाममा भारतसमम चोरी निकासी हुनेगरेको गुनासो आएकलो तत्काल यसलाई रोक्न सरोकारावा निकायसमक्ष आग्रह गरेका छन्। 

उदयपुर चुरे क्षेत्रले छोएको जिल्ला भएको र केहीवर्षयता ‘राष्ट्रपति चुरे तराई मधेस विकास समिति कार्यक्रम’ लागू भएको जिल्ला पनि हो । राष्ट्रपति चुरे कार्यक्रम लागू भएयता यहाँका नदीजन्य पदार्थ जिल्लाबाहिर निकासी तथा विक्री वितरणमा रोक लाग्दै आएको छ । त्यसअघि यहाँका नदीजन्य पदार्थको ठूलो पमिाण सप्तरी सिराहा हुँदै भारतसम्म निकासी हुने गरेको थियो । चुरे कार्यक्रम लागू भएपछि सडक निर्माण र अन्य वहानामा नदीजन्य पदार्थ निकासी हुने गरेको गुनासो स्थानीयले बेलाबेलामा गर्ने गरेका छन्।

जिल्ला समन्वय समितिबाट इजाजत लिएर मात्र अन्यत्र लानुपर्ने नदीजन्य पदार्थ आइतबार बिना इजाजत सप्तरीतर्फ लगिरहेको पाएपछि टिफरसँग जलजले ढाटबाट नियन्त्रणमा लिइएको थियो। सदरमुकाम गाईघाट र रौतामाईको मुर्कुची बजारबाट आएर लाहान जाने जलजले ढाटमा चेकजाँचको क्रममा गिटी भरिएका ती टिपरहरु त्रिपालले छोपेर लाँदै गरेको अवस्थामा फेला परेपछि जिल्ला समन्वय समितिलाई बुझाइएको थियो। 

वैकल्पिक लोकमार्गमा लगाउने भन्दै निर्माण व्यवसायी जेडआइइसी/शर्मा/लामा जेभीले चुहाडेमा क्रसर उद्योग स्थापना गरेर स्थानीय त्रियुगा र काली खोलाको ढुंगा गिटी बालुवा संकलन गरी उद्योग सञ्चालनमा ल्याएको छ। आयोजनाको पूर्वी खण्डलाई चाहिने आवश्यक सामग्री उत्पादन गर्न स्थापित ‘निर्माण सामग्री प्रशोधन प्लान्ट’ मा दैनिक वरिपरिका खोला बगरबाट ढुंगा गिटी र बालुवा उत्खनन गर्दै पहाडसमान थुपारिएको अवस्थ छ। तर, नाम वैकल्पिक सडकको दिइए पनि उत्पादित गिटी बालुवा भने सप्तरी, सिराहा हुदै भारतसम्म निकासी हुने गरेको आशंका प्रहरीले गरेर निगरानी बढाउँदा टिफर पक्राउ परेका हुन्।

आइतबार मध्यान्हदेखि १ बजेभित्र चेकजाँचको क्रममा प्रहरीले गिटी भरिएका लु अ अ बैं ३५१४, लु अ अ बैं ३५१५, ३५१६, ३५१७ र ३५१८ नम्बर टिफरहरु पक्राउ गरेको थियो । त्यस्तै ना ७ क ८७०४, ना ७ ख ८७०७, ना ५ ख २०५७, ना ७ क ८५१८, स १ ख ७१९ र स १ ख ७२० नम्बरका टिफरहरु पनि नियन्त्रणमा परेका थिए। पक्राउ टिफर चालकहरुले साहुले सप्तरी लिएर आउनु भने अनुसार क्रसर उद्योगबाटै गिटी लिएर हिडेको बयान दिएको प्रहरी भनाई छ।

जिल्ला समन्वय समिति प्रमुख खड्गबहादुर परियारले क्रसर उद्योग वैकल्पिक लोकमार्गको काममा प्रयोग गर्ने सामग्री उत्पादन गर्न राखिएको तर, जिल्लाबाहिर निकासी र विक्री वितरण गर्ने आदेश नदिएको बताए। उनले पहिलोपटक गल्ती गरेको पाइएकाले नियमानुसार २ हजार जरिवाना तिराएर छाडिएको बताए । दोस्रो पटक र तेस्रोपटक पनि गल्ती गरेको पाइए ६ हजारसम्म जरिवाना गर्नसक्ने नियम अनुगमन समितिको बैठकले पारित गरेको परियारको भनाई छ। 

प्रकाशित: १७ वैशाख २०७५ १०:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App