१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

बुद्ध जयन्ती, उभौली र चण्डी पूर्णिमा जात्रा

वसन्त ऋतु आरुको बोटमा फूल फुलिरहेको बेला जब उत्तरी गोलार्धमा गर्मी सुरू हुन्छ तब भूमध्य सागरतिर क-याङकुरुङका बथान चोमोलोङ्मा (माउन्ट एभरेस्ट) काटेर साइबेरियातर्फ लाग्छ। ठीक त्यसै बेला किरात भूमिका राई लिम्बु, याक्खा, सुनुवारहरू धर्ती साह्रै शिथिल छ भन्ने ठानेर खेती किसानीका लागि खेत पस्दैनन्। बरु साकेला नाच्न ढोल झ्याम्टा बोकेर फेङ्मा लेक्पा र सुलुली मन्दिरमा पूजाका लागि लावा लस्करसहित भेला हुन्छन्। वैशाख पूर्णिमा अर्थात् बुद्ध जयन्ती मनाइरहेका बेला किरात समुदाय सुंगुर, गोरु, भेडा, राँगा आदि बलि दिएर उभौली पर्व भव्यरूपमा मनाइरहेका हुन्छन्। किरात मूलतः मूर्ति पूजक होइनन् तर साकेला (उभौली) पर्वमा मूर्ति पुज्ने प्रथाबारे मुन्धुम धर्मशास्त्रले पृथ्वी उत्पत्तिसँग आख्यान जोडेको पाइन्छ।

वैशाख पूर्णिमादेखि झण्डै १५ दिनसम्म वर्षात राम्रो भई अन्नपात सप्रियोस् भनी कामना गर्दै साकेला उभौली चण्डी नाचेर मनाइन्छ। किरातका ४२ भाषामध्ये वान्तवा भाषामा साकेन्वा सिली, सम्पाङ्ग भाषामा साकाल, थुलुङ्ग भाषामा तोषी, खालिङ भाषामा भूमे पूजा, बाम्बुले भाषामा मानियो सिल्ली, कुलुङ्ग भाषामा साख्ले सिल्ली, छिन्ताङ्ग भाषामा वाधाङ्ग र नेपाल भाषामा चण्डीप्याखँ भनिने साकेला सिल्ली पृथ्वीमा सृष्टि भएका सम्पूर्ण जिन्त युद्ध परम्परागत गतिविधि प्रदर्शन गर्दै नृत्य गर्ने गरिन्छ। किवदन्तीअनुसार दोलखाका किराती राजा बुद्धहाङ्ग आफ्नो पुर्खाले गुमाएको नेपाल खाल्डो पुनः प्राप्त गर्ने आफ्ना सबै प्रजालाई स्थानीय टुँडिखेलामा भेला गराई कूलदेवता हेन्कुबुङ्गको भव्य पूजा गर्थे।

स्वायाः पून्ही, बुद्धजयन्ती र धर्मदेशना
अन्य मतपन्थ सम्प्रदायमा संसारको सृष्टि ईश्वर भगवान् परमेश्वरबाट भयो भन्ने गरिन्छ तर बौद्ध ब्रह्माण्डको सृष्टि अलौकिक ईश्वरले नभई हेतु अर्थात् पञ्चतत्वबाट भएको विश्वास गर्छन्।  पञ्चतत्व (आकाश, वायु, अग्नि, जल र पृथ्वी)लाई हामी सुनेर, सुँघेर, स्वाद लिएर, देखेर र अनुभव स्पर्शद्वारा अनुभूति गर्न सक्छौँ। पञ्चतत्वकै भोगइच्छाका कारण पाँच अंग नाक, कान, आँखा, छाला र शरीर उत्पत्ति भएको मानिन्छ । शरीरका प्वाल सबै आकाश प्रतीक हो भने स्वर प्राण वायु, ताप अग्नि हो। त्यस्तै रगत–पसिना भन्नाले पानी र हाड, मासु, नसा पृथ्वीको प्रतिकृति हो। शब्द, स्पर्श, रूप, रस र गन्धलाई पञ्चगुण मानिन्छ। यसरी हेर्दै जाँदा अकाश शून्यतामा उत्पन्न हुन्छ, अकाशमा वायु उत्पन्न हुने गर्छ, वायुले अग्नि, ताप र अग्निको कारण जल सृष्टि भयो भने यी सबैको संयोजनबाट पृथ्वी र पृथ्वीका प्राणी सिर्जना भए, जसलाई बौद्धवादी शून्यताबाट ब्रह्माण्डको सृष्टि भएको मान्छन्।

अरु समुदाय वैशाख पूर्णिमा अर्थात् बुद्ध जयन्ती मनाइरहेका बेला किरात समुदाय भने सुंगुर, गोरु, भेडा, राँगा आदि बलि दिएर उभौली पर्व भव्यरूपमा मनाइरहेका हुन्छन्।

जुन सत्यलाई इ.पू. ५२३ मा नेपालको लुम्बिनीमा जन्मनुभएका गौतम बुद्धले बुद्धत्व प्राप्तिपछि विश्वासामु उजागर गर्नुभएको थियो। पृथ्वी जलमा मिल्छ, जल अग्निले सुकाउँछ, अग्निलाई वायुले निभाउँछ र वायु आकाशमा हराउँछ। यसरी शून्यताबाट सिर्जित सृष्टि शून्यतामा नै बिलाएर जाने हुँदा बुद्धमान शून्यवादमा आधारित वैज्ञानिक धर्म हो भन्ने दाबी गरिएको छ। बौद्ध गुरूहरू बुद्धधर्मलाई परनिर्भरताविरुद्धको शान्तिपूर्ण  आन्दोलन हो जुन दुःख मुक्तिको उपाय भन्न रुचाउँछन्। बुद्धलाई बुझ्न सर्वप्रथम आफूले आफैँलाई बुभ्mनुपर्ने यसका लागि संसारमा सबै प्राणी दुःखी छन्। दुःख उत्पन्नको कारण हुन्छ। जस्तोसुकै दुःखबाट पनि मुक्त हुन सकिन्छ र दुःख मुक्तिको उपाय आर्य अष्टाङ्गिक मार्ग हो भन्ने बुझनुपर्ने बुद्धको उपदेश छ। माथि चार सत्यलाई चतुर्आर्य सत्य भनिन्छ र चतुर्आर्य सत्यलाई बुझिसकेपछि जन्मनु दुःख हो, वृद्ध जरा हुँदै जानु दुःख हो र रोगव्याधिले थला परी मृत्यु हुनु पनि दुःख हो भनी बुझिन्छ । दुःखको प्रकृति पनि छुट्टाछुट्टै हुने गर्छ । तर दुःखको मूल कारण काम, क्रोध लोभ, मोह र अहङ्कार अर्थात् तृष्णा हो । तृष्णाका अनेक वर्गीकरणका साथ भगवान् बुद्धले दुःख मुक्तिको उपाय आर्य अष्टाङ्गिक मार्ग भएको स्पष्ट पार्नुभएको छ।

अन्य धर्ममा दुःख मुक्तिको उपाय ईश्वर भक्तिलाई छाडेको पाइन्छ। तर बुद्धले धनी, गरिब, बलियो, निर्धो सबैलाई समान देख्ने सम्यक दृष्टि, सबैसँग मीठो बोल्ने सत्य र स्तअनुसारको वचन बोल्ने सम्यक वचन, आफ्नै परिश्रममा बाँच्ने सम्यक कर्म र जुनसुकै काम पनि पूरा गरिछाड्नु भनी दृढ संकल्प गर्ने सम्यक संकल्प, अरूको अहित हुने कामबाट पृथक रही जीवन निर्वाह गर्ने तरिका सम्यक, आजीवनका सबैको गुण सोच्ने सम्यक स्मृति र एकाग्रता सम्यक समाधि नै दुःख मुक्तिको उपाय भनी स्पष्ट पार्नुभएको छ। यसरी जीवन र जगत्बारे वैज्ञानिक, आत्मिक जागरण ल्याउनुहुने भगवान् बुद्धको जन्मसम्बोधी र महापरिनिर्वाण दिवस बुद्धजयन्ती विश्वभर विविध कार्यक्रमका साथ मनाइन्छ। संयुक्त राष्ट्रसंघले समेत बिदा घोषणा गरी विश्वभर बुद्धजयन्ती मनाइँदै छ।

भ्वतः चण्डेश्वरी जात्रा
नेपाल भाषामा त्यो पनि नेपाल नै हो भनिने ऐतिहासिक नेवार बस्ती बनेपामा प्रत्येक वर्ष बुद्धजयन्तीको दिन चण्डेश्वरी अजिमाको जात्रा हुने गर्छ। चण्डी पूर्णिमा पनि भनिने यस दिन काभ्रे जिल्लाको ऐतिहासिक ८ नेवार बस्ती साँगा, रन्वपासी, नाला, धुलिखेल, श्रीखण्डपुर, चौकोट र पनौती एकसाथ जात्रामय बन्छ। बनेपाको पुरानो नाउँ किराँतकालमा भुजुङ र भोट जाने मार्गमा बसेको बस्ती भएबाट भोट पनि भनिने चण्डेश्वरी जात्राबारे प्रख्यात भक्तपुरको चण्डेश्वरी, ललितपुर पिम्बहाल चण्डेश्वरी, बालकुमारी चण्डेश्वरी र टोखाको चण्डेश्वरीमध्ये बनेपाको चण्डेश्वरी विशेष चर्चित छ।

पलाञ्चोक भगवती जात्रा
बनेपाको चण्डेश्वरी जात्रा, पनौतीको मकर मेला, भद्रकाली जात्रा, नाला भगवती जात्रा, धुलिखेल खड्पु भगवती जात्रा, चकोर ऋषि चौकोत मेला र साँगाको नासिका भगवती जात्राजस्तै काभ्रेको पलाञ्चोक भगवती जात्रा देशको प्रख्यात पर्वभित्र गनिन्छन्। मानदेव प्रथमको शासनकालमा स्थापित पलाञ्चोक भगवती जात्रा प्रत्येक वर्ष वैशाख बुद्ध पूर्णिमा र आश्विन दसैँमा हुने गरेको छ। किंवदन्तीअनुसार काभ्रे पलाञ्चोकको बुच्चाकोतका आदिवासी श्रेष्ठलाई सपनामा मलाई उत्तरतर्फ लानू भनी आदेश दिएछन्। अज्ञात कलाकारद्वारा निर्मित कालो ढुंगाको कलात्मक एक फिट अग्लो महिषमर्दिनी भगवतीलाई लैजाँदै गर्दा बीच बाटोमा देवता जानै मानेनछन्।

जहाँ देवीलाई प्रतिष्ठापित गरी मखन बहालका वज्राचार्य बौद्ध पुजारी राखी जात्रा थालेको बताइन्छ। बुद्धजयन्तीका दिन बनेपा चण्डेश्वरी जात्राको मूल पूजा भइरहँदा पलाञ्चोक भगवती जात्राका लागि द्यःछेबाट धामी काम्दै भगवतीलाई खटमा प्रतिष्ठापित गराइन्छ। बनेपा चण्डेश्वरी, नाला भगवती, धुलिखेल भगवती, नाक्साल भगवती, साँगा नासिका र शोभावती दिदी–बहिनी भएको कारण पलाञ्चोक भगवती जात्राअघि उल्लिखित देवस्थलबाट फूल–अक्षता र जल ल्याउने परम्परा पाइन्छ। जल–प्रसादसँग बोका बलि दिई ३ दिनसम्म भव्य खटजात्रा हुने गर्छ। भनिन्छ, विश्वप्रसिद्ध कलात्मक पलाञ्चोक भगवतीको मूर्ति बनाउने कलाकारले अन्य ठाउँमा त्यस्तो मूर्ति बनाउन नसकोस् भनी दायाँ हात काटिदिए। बायाँ हातले नक्साल भगवतीको मूर्ति बनाएपश्चात् त्यही बायाँ हात पनि काटिदिएपछि खुट्टाले धुलिखेल भगवती र शोभा भगवतीको मूर्ति तयार गरी कलिको दुनियाँमा नमुना प्रस्तुत गरेको बताइन्छ।

प्रकाशित: १७ वैशाख २०७५ ०४:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App