१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

लुभू जात्रा

काठमाडौ उपत्यकाको एउटा ऐतिहासिक बस्ती हो ललितपुरको लुभू । किरातकालमा हंसगृह दोङ नामले प्रख्यात थियो लुभू।

किँवदन्ती अनुसार किरातीहरु बिहाबरको बाटो भएर लुभू हुँदै काठमाडौं पसेका थिए । र, त्यस ठाउँमा ढकमक्क तोरी देखेपछि तिनले सुन जस्तै फल्ने खेत रहेछ भनेछन् ।त्यही बेलादेखि लुँबुँ भन्न थालियो । नेपाल भाषामा ‘लुँ’ को अर्थ सून हो भने ‘बुँ’को अर्थ खेत । लुँबुँ भन्दाभन्दै पछि लुभु भनिएको भनाई छ।

अर्को कथा अनुसार गंगा महारानीले नेपाल संवत ६७२ तिर सूनको थाली बेची महालक्ष्मी र महाभैरब जात्रा चलाउनुका साथै हंसगृह दोङलाई व्यवस्थित गरेकी थिइन् भनिन्छ । लूभूमा तिनै महारानीको दरबार छ जुन जिर्ण भैसक्यो।  लुभू चक्रपथको ग्वार्कोबाट ५ किमि पूर्वमा पर्छ । यो नेवार वस्तीमा देवदेवीका मन्दिर र चैत्य छन् । त्यस्तै महत्वपूर्ण सम्पदा हुन् महालक्ष्मी र महाभरैब मन्दिर।

लुभूमा बैशाख शुक्ल अक्षय तृतीयादेखि ९ दिनसम्म महालक्ष्मी र महाभैरबको जात्रा मनाइन्छ । जात्रामा हामी पाहुना बोलाउँछौं । खानपिन गराउँछौं । रमाउँछौं । बाजागाजाका साथ बेलुका खट जात्रा गरिन्छ । खटमा मुख्यतः महालक्ष्मी र महाभैरबका मूर्ति हुन्छन्।एउटा खटमा गणेश, महालक्ष्मी र कुमार हुन्छ भने अर्कोमा गणेश, महाभैरब र कुमारीको मुकुट । खट जात्रा ९ दिनसम्मै चल्छ । नेवार समुदायका श्रेष्ठले धाँ, महर्जनले धिमे र शाहीले न्याँसी बाजा बजाउँछन्।

परापूर्व कालमा १२ बर्षसम्म पानी नपर्दा रातो मच्छिन्द्रनाथलाई लिन गएको टोलीमा ४ भैरब पनि थिए । ती मध्ये लुभूका हयग्रिब पनि एक हुन् । ‘त्यसैले मच्छिन्द्रनाथ जात्रा गर्ने बेला लुभूका भैरबको पनि जात्रा पर्छ’, लुभु नेवा संस्कृति संरक्षण समितिका अध्यक्ष राम बहादुर श्रेष्ठले भने।

जात्राभर श्रेष्ठ समुदायका मुल थकाली–थकाल्नीले अन्न नखाई, नुहाई–धुवाई गरी चोखो भएर बस्नु पर्छ । हामी लुभूबासिले पनि जात्राभर छाला जुत्ता लाउन, छाता ओढ्न, रूख÷छत चढ्न, घर बनाउन, विवाह–व्रत्तबन्ध आदि गर्नु हुँदैन भन्ने विश्वास छ ।  जात्राभरी लुभू छाडेर अन्यत्र बास बस्न मिल्दैन।     

हामी आँगनमा जुनबेला खट आइपुग्छ त्यही बेला पूजा गर्छौं ।लुभू जात्राकै अबसरमा आकाश भैरब जात्रा पनि हुन्छ । जात्राको तेस्रो दिन भने कागजमा कोरिएका चित्रको आकाश भैरबलाई छुट्टै खटमा राखेर जात्रा गरिन्छ । हामी बिरामी हुँदा आकाश भैरबलाई सम्झेर रखवालाका रुपमा पूज्छौं । आकाश भैरबलाई जात्राभर जमिनमा नछोइ राख्नुपर्छ।

यसमा महर्जन थरका पूजारी हुन्छन् । पाटनका चित्रकारले कागजमा बनाउने आकाश भैरबलाई जात्राको अन्तिम दिन लुभू बसपार्कमा सेलाइन्छ।जात्रा चलाउन महालक्ष्मी महाभैरब गुठी व्यवस्था गरिएको छ । ‘जात्रा सञ्चालन गर्न तीन सय रोपनी भन्दा बढी जग्गा व्यवस्था गरिएको थियो’, लुभूका पूर्व शिक्षक राजकुमार श्रेष्ठ भन्छन्, ‘आजकल ७४ रोपनी मात्रै जग्गा बाँकी छ।’

गुठी जग्गा रैकरमा परिणत गर्ने व्यवस्थासंगै व्यक्तिका नाममा नामसारी हुन थालेपछि जात्रा प्रभावित भएको छ । अचेल जात्रालाई चाहिने सामाग्री किन्नु पर्ने अबस्था छ । त्यसैले कतिपय पूजा हराइसके।  यसपटकको लुभू जात्रा बिहीबार साँझ सकियो।जात्राको एउटा सुखद पक्ष के हो भने अचेल साँस्कृतिक कार्यक्रममा युवा अघि सर्छन् । बाजा बजाउन होस् या खट बोक्न युवा नै अघि हुन्छन् । यसले हाम्रो संस्कृति बचाउन मद्धत गरेको छ।

प्रकाशित: १५ वैशाख २०७५ ०३:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App