१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

छानो मर्मत नहुँदा विद्यार्थीहरू टनटलापुर घाममा बसेर पढ्न बाध्य

डोल्पा – गत चैतको पहिलो सातामा हावाहुरीले उडाएको नर्कुस्थित मालिका माविको तीन कोठे भवनको छाना अझै मर्मतै हुन सकेको छैन। हावाहुरीले उडाएको छानो आर्थिक अभावमा छाउन नसक्दा बालबालिकाहरू वैशाखको टनटलापुर घाममा चौरमा बसेर पढ्न बाध्य छन।

हावाहुरीले कक्षा १ देखि ३ सम्मको कक्षा कोठाको छानो उडाएरको र मर्मतको लागि जिल्ला शिक्षा कार्यालयमा अनुरोध गरेपनि आहिले सम्म बजेट उपलब्ध हुन नसकेकाले बालबालिकाहरु चर्को घाममै बसेर पढ्न बाध्य भएको प्रधानाध्यापक दिपक गुरुङ्गले बताए।

मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्त बहादुर शाही पालिकाको सबै रकम विकास योजनामा वितरण भइसकेकोले तत्काल रकम उपलब्ध गराउन सकिने अवस्था नभएकोले भैपरी अन्तर्गतको केही रकम मात्र  आफूले पालिकाबाट जस्तापाता किन्नको लागि उपलब्ध गराउने र बाँकी काठको काम स्थानीय बासिन्दाले पनि आफ्नै सम्झेर श्रमदान गर्नुपर्ने बताउँछन्।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर शाहीले स्थानीय बासिन्दाले गर्नुपर्ने काम धेरै रहेको र गर्दै पनि आइरहेकाले संघिय सरकार गठन भइसकेकाले स्थानीय तह अन्तर्गतका सामाजिक संघस्थाहरूको रेखदेख गर्ने जिम्मेवारी समेत स्थानीय तहलाई आएकाले विद्यालयको मर्मत तथा सुधारको लागी गाउँपालिकाले विशेष रुपले हेर्नुपर्ने बताए।

जिल्ला शिक्षा समन्वय समितिका सचिव डोलराज्य काफ्लेले विद्यालय छानोका लागि पाँच लाखको माग मालिका माविबाट आएको भएपनि भएको रकम जती ब्लक निमार्णको लागि खर्च भइसकेको र सबै अधिकार पनि स्थानीय तहमा गइसकेकाले स्थानीय निकायले नै रेखदेख गर्नु पर्ने बताए। मालिका माविमा कक्षा १ देखि ५ सम्मको कक्षामा १ सय ५ छात्रछात्राहरू अध्ययनरत छन्।

वैशाखको टनटलापुर घाममा बसेर पढ्नुपर्दा वैशाखको ६ गतेमात्र कक्षा ३ मा अध्ययनरत छात्रा दिपिका शाही चर्को घामले बेहोस भएको प्रधानाध्यापक दिपक गुरुङ्गले बताए। चरम आर्थिक अभावमा शैक्षिक संस्था जस्तो संवेदनशिल क्षेत्रमा देखिएको समस्या प्रति सम्बन्धित पक्षको ध्यान पुग्न सकेको छैन्।

प्रकाशित: १४ वैशाख २०७५ १०:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App