१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

न प्राविधिक न डकर्मी!

तिनाउँ गाउँपालिका–५, बिस्कुनडाँडामा आफ्नो घर आफै बनाउँदै एक दम्पत्ती। तस्बिरः मुक्तिप्रसाद/नागरिक

पाल्पा – भूकम्प गएको तीन वर्ष पूरा भएको छ। तर गाउँमा प्राविधिक नपुग्दा पुनःनिर्माणले गति लिन सकेको छैन। घर बनाउने कामदार अभावमा भूकम्पपीडित परिवार आफै जानी–नजानी घर बनाउन बाध्य छन्।

गाउँका युवाहरू वैदेशिक रोजगार तथा अन्य क्षेत्रमा गएका कारण घर बनाउन जनशक्ति अभाव भएको हो।  गाउँ–गाउँमा रहेका सीमित डकर्मीका भरमा एकैपटक धेरै घर बनाउनुपर्दा समस्या भइरहेको स्थानीय बासिन्दा बताउँछन्। साविक कोलडाँडा गाविसका ७९ घर ध्वस्त भएका थिए। तिनाउँ गाउँपालिका–५, बिस्कुनडाँडा गाउँमा मात्रै ३९ घर क्षति भए।

गाउँका ५० घरका ८० युवा वैदेशिक रोजगारमा छन्। सरकारको राहतको आशमा तीन वर्ष बिताएका भूकम्पपीडित गाउँमा प्राविधिक नआएपछि आफ्नो घर बनाउन आफै कस्सिएका हुन्। स्थानीय दलबहादुर मिदुन भन्छन्, ‘गाउँमा प्राविधिक आएनन्, हामीलाई सिकर्मी डकर्मीको समेत अभाव भयो। अहिले श्रीमान्–श्रीमती मिलेर घर बनाउँदैछौं।’ उनले अगाडि भने, ‘प्राविधिकलाई सम्पर्क गर्दा यसरी बनाउने उसरी बनाउने भनेर निर्देशनमात्र दिने गर्छन्, अहिलेसम्म मुख देखाउन पनि आएका छैनन्।’

सोही स्थानका कमलबहादुर चिदी मलेसियामा हुँदा नेपालमा भूकम्प गयो। धेरै दिन परिवारसँग सम्पर्कमा आउन नसकेपछि उनी आफै गाउँ आए। घर पूर्णरूपमा नष्ट भएका कारण उनको परिवारले तीन वर्ष बारीको पाटामा बिताए। ‘सरकारले सहयोग गर्ने आशामा बारीमै जाडो गर्मी, घामपानी नभनी बितायौं। अझै सरकारको मुख ताकेर बस्नुभन्दा आफ्नै परिवार मिलेर घर बनायौं,’ चिदीले भने, ‘सरकारबाट पहिलो र दोस्रो किस्ता गरी दुई लाख लियौं तर, प्राविधिक अहिलेसम्म हेर्न आएनन्।’

स्थानीय गंगाबहादुर गाहाले आफू गाउँदेखि तल चर्चरेमा पुगेर प्राविधिकसँग छलफल गरी घर निर्माणमा लागेको बताए। आफूले पहिलेदेखि सिकर्मी डकर्मी काम गरिरहेका कारण घर बनाउन केही सहज भएको उनको भनाइ छ।

समयमै सरकारले खटाएको प्राविधिक गाउँमा नआएपछि भूकम्पप्रभावितले घर बनाउन सकेका छैनन्। हावा, हुरी, जाडो, वर्षा सहेर तीन वर्षसम्म पीडा झेलेका भूकम्पपीडित इन्जिनियरको सहयोगमा घर बनाउने आशामा छन्। जिल्ला आयोजना कार्यान्वयन इकाइका आयोजना व्यवस्थापक निर्मल प्याकुरेल भने तानसेन र निस्दी गाउँपालिकामा एक÷एक हप्ताको डकर्मी तालिम प्रदान गरिएको बताउँछन्। एक सय युवाले डकर्मी तालिम लिएको प्याकुरेल बताउँछन्।

निस्दी–२, सहलकोटका भुमबहादुर रानाले पुनःनिर्माणका लागि माथागढी–४ देउगिरबाट डकर्मी मगाई काम गरिरहेका छन्। राना भन्छन्, ‘पहिले प्राविधिकलाई कुरेर बसियो। अहिले सबैले एकैपटक काम सुरु गरेका छन्। गाउँका डकर्मीबाट पालो ढिलो आउलाजस्तो भो, त्यसैले बाहिरबाट डकर्मी ल्याई तालिमप्राप्त डकर्मीको निर्देशनअनुसार घर निर्माण गर्दैछौं।’ सुकेकोटका गंगाबहादुर रानाले गाउँका अधिकत्तर युवा गाउँ बाहिर रहेका कारण काम गर्न झनै गाह्रो भएको गुनासो गरे।

सरकारले हरेक स्थानीय तहमा इन्जिनियर, ओभरसियर र सव–ओभरसियर सहितको टोली खटाएको जनाएको छ। तर ती प्राविधिकहरू सुगम स्थानमा बस्ने र दुर्गम बस्तीहरूमा नजाने अनि बनिसकेको घरको प्राविधिक त्रुटि देखाउँदै किस्ता दिन स्थानीय तहले आनाकानी गरिरहेको पीडितहरू बताउँछन्।

जिल्लाका ६ सय ५२ पीडितले घरमुली श्रीमान् विदेशमा भएको, नाम नमिलेको, आफ्नै लालपूर्जा नभएको, नाम बिग्रिएकोजस्ता समस्याले पहिलो किस्तासमेत पाएका छैनन्।

१२ वैशाख २०७२ मा नेपालमा महाभूकम्प गएको थियो। तीन वर्ष बितिसक्यो, तर जिल्लामा अहिलेसम्म एउटा पनि घर पुनःनिर्माण पूरा हुन सकेका छैनन्।  जिल्लामा १० हजार ३ सय ९८ घरमा सर्वेक्षण गरिएकामा ४ हजार ६ सय ५२ लाभग्राही सूचीमा छन्। अहिलेसम्म निर्माण सकिएका घरहरूको तथ्यांक छैन। तर ३ सय ३० घर निर्माण हुँदै छन्। हालसम्म २१ घरधनीले तेस्रो किस्ताका लागि अनुदान सम्झौता गरेका छन्। यस्तै, दुई सय ६४ घरधनीले दोस्रो किस्ता र तीन हजार ८ सय २९ लाभग्राहीले पहिलो किस्ताको सम्झौता गरेका छन्।

आयोजना व्यवस्थापक निर्मल प्याकुरेलले राज्य पुनःसंचरनापछि आफूलाई  पुनःनिर्माणको जिम्मेवारी आएको भए पनि कार्यादेश भने नपाएको बताए। जिल्ला प्राविधिक कार्यालयका प्रमुखसमेत रहेका उनले आयोजना कार्यान्वयन इकाइ बनाउने र पुनःनिर्माणलाई तीव्रता दिने बताए। तत्कालीन कार्यक्रम फोकल पर्सन दुर्गाबहादुर थापाले जिल्लामा पहिलो किस्ता ५० हजार पाउने तीन हजार ८ सय २९ जना रहेको जानकारी दिए। उनले भने, ‘जगसम्म हालेर १ लाख ५० हजार रूपैयाँ पाइन्छ भने गारो लगाउने काम भ्याएर छानो छाउने समयमा १ लाख रुपैयाँ उपलब्ध हुन्छ।’

माथागढी गाउँपालिका–४, बगालेका केशरबहादुर विक, सरकारले तीन लाख रुपैयाँ उपलब्ध गराउने भनेपछि पक्की घर निर्माणमा लागे। अहिले उनको घर ढलान भइसकेको छ। पहिलो किस्ताबापत सरकारबाट ५० हजार रुपैयाँ पाए र सरकारले भनेबमोजिमको घर बनाउन थाले।

‘पाँच लाख रुपैयाँसम्ममा घर पूरा होला भनेको तर, साढे १३ लाख खर्च भैसक्यो। सरकारबाट थप अनुदान पाउन सकेको छैन,’ विकले भने, ‘सोचेभन्दा डब्बल खर्च भो। धान्न नसकिने रहेछ। सयकडा तीनमा सात लाख रुपैयाँ ऋण लिएको छु।’

गत आर्थिक वर्षमा निर्वाचन वर्षका रूपमा रहेका कारण पनि पुनःनिर्माणमा केही कमजोरी भएको तिनाउँ गाउँपालिका अध्यक्ष ओमबहादु घर्ती बताउँछन्। ‘गाउँमा प्राविधिक नपुगेको गुनासो आइरहेको छ। हामी छिटो यसको व्यवस्थापन गर्ने प्रयासमा छौं,’ उनले भने, ‘प्राविधिक सरुवा हुने र भएका गाउँमा नपुग्ने गर्दा जनता समस्यामा परेका छन्, यसलाई छिटो सम्बोधन गर्दै छौं।’

प्रकाशित: १४ वैशाख २०७५ ०१:२६ शुक्रबार

प्राविधिक डकर्मी