१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

आइटीमा उज्ज्वल भविष्य

शिक्षा रिसाल

सूचनाप्रविधिको बढ्दो विकाससँगै युवापुस्तामा यो विषयप्रति आकर्षण बढ्दो छ । देश मात्र होइन, विदेशमा पनि सूचना प्रविधिमा दक्ष जनशक्तिको माग उच्च छ ।
‘अहिले अत्यन्तै क्रेज भएको विषय नै आइटी हो,’ काठमाडौं भ्याली कलेज अध्यक्ष तथा हिसानका केन्द्रीय उपाध्यक्ष डा. स्वागत श्रेष्ठ भन्छन्, ‘नयाँ पुस्ताले नयाँ कुरा सिक्न चाहने भएकाले उनीहरू यसतर्फ आकर्षित भएका हुन् ।’
कुनै बेला आइटी पढ्नु भविष्य दाउमा लगाउनुजस्तो अवस्था रहे पनि अहिले युवापुस्तामा यो विषयमा भविष्य सुनिश्चित रहेको आत्मविश्वास जागिसकेको उनको अनुभव छ । ‘पहिलेका मान्छेलाई सूचनाप्रविधिसम्बन्धी त्यति ज्ञान थिएन र इच्छा पनि । सोसल मिडिया भन्ने नै थिएन,’ श्रेष्ठ सम्झन्छन्, ‘अहिले आइटी विद्यार्थीको रुचि मात्र नभई आममानिसकै अभिन्न अंग बनिसकेको छ ।’
दुई दशकअघि नोबेल एकेडेमी स्थापनासँगै प्लसटुमा कम्प्युटर साइन्स विषय राखियो । यो देख्दा धेरैले आश्चर्य जनाएको एकेडेमीका संस्थापक अध्यक्ष सुरेन्द्र श्रेष्ठ बताउँछन् । ‘त्यति बेला ब्ल्याक एन्ड ह्वाइट मोनिटरमा ४८६ मोडलको कम्प्युटरमा फ्लपी डिस्क राखेर बुट गर्नुपथ्र्यो,’ उनले भने, ‘अहिले त समय कहाँबाट कहाँ पुगिसकेको छ ।’  
सूचना प्रविधि विषयमा युवापुस्ताको रुचि बढ्नुको अर्को कारण यसको समग्र शैक्षिक प्रणाली पनि भएको एभरेस्ट फ्लोरिडा कलेजका संस्थापक प्रिन्सिपल शिशिर उप्रेती बताउँछन् । अहिलेको समयमा सर्टिफिकेटभन्दा पनि सीप महŒवपूर्ण हुने भएकाले अभिभावक–विद्यार्थी दुवैको रोजाइमा आइटी परेको उनको अनुभव छ । ‘पछिल्लो सात वर्षमा प्राविधिक विषयप्रतिको क्रेज ह्वात्तै बढेको छ,’ उनले भने ।


प्लसटुमा सूचनाप्रविधि

एलएलसीलगत्तै विद्यार्थीले विज्ञान र व्यवस्थापन संकायमा कम्प्युटर साइन्स पढ्न सक्छन् । प्लसटुमा कम्प्युटर साइन्स पढ्नु सम्पूर्ण सूचनाप्रविधि अध्ययनको जग बसाल्नु रहेको शिक्षक बताउँछन् । आइटी अध्ययनको आधार नै यही विषय भएको एभरेस्ट फ्लोरिडाका प्रिन्सिपल उप्रेतीले जानकारी दिए ।
प्लसटुमा होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्स एउटा छन्नुपर्नेमा धेरैजसो विद्यार्थी कम्प्युटर साइन्समै आउने टेक्सस कलेजका सिएसआइटी प्रमुख शंकरप्रसाद उप्रेती बताउँछन् । ‘युवापुस्ता प्रविधिसँग धेरै अभ्यस्त भइसक्यो, प्लसटुदेखि नै आइटी पढेकाहरू ब्याचलरमा गएर व्यक्तिगत करियर विकास गर्न सक्छन्,’ उनी भन्छन् ।  
सूचनाप्रविधि प्राविधिक विषय भएकाले यसको अध्ययन वा अभ्यासले मान्छेलाई दक्ष बनाउँछ । अध्ययन पूरा गरेपछि विद्यार्थी आफ्नै ‘स्टार्टअप कम्पनी’ खोल्न सक्छन् । विभिन्न आइटी कम्पनीमा अवसर पाउन सहज हुन्छ । नवीनतम आइडिया दिन सक्ने विद्यार्थी अन्तर्राष्ट्रिय स्तरमा पनि प्रतिस्पर्धी बन्न सक्ने शर्मा बताउँछन् । ‘त्रिभुवन विश्वविद्यालयले बिएससिसिएसआइटी विषय सुरु गरेको छ । त्यसबाट स्नातक गरेका कतिपय विद्यार्थी उच्चशिक्षाका लागि विदेश गएका छन्, नगएकाहरु नेपालकै लिडिङ आइटी कम्पनी चलाएर बसेका छन्,’ उनी भन्छन् ।
टेक्सस कलेजले पाँच वर्षअघि सुरु गरेको कम्प्युटर साइन्स विषयमा १ सय ६० विद्यार्थी छन् ।  बिएससिसिएसआइटीमा भने कोटाअनुसार ४८ विद्यार्थी मात्र पढ्न पाउँछन्  ।
सूचनाप्रविधि विषयको दायरा पनि फराकिलो छ । सफ्टवेयर विकास, स्टार्टअप स्थापना, विभिन्न एप्लिकेसन विकासलगायत फरकफरक विधा छन् । रुचिअनुसार कुनै एउटा विधामा विशेषज्ञता हासिल गरे भविष्य उज्ज्वल हुने उप्रेती बताउँछन् । ‘विद्यार्थीले जे गरे पनि एप्लिकेसन सिक्ने हो, स्ूचनाप्रविधिलाई दैनिकीमा कसरी उतारेर सदुपयोग गर्ने भन्ने हो,’ उनी भन्छन् । जुनसुकै कोर्स गरे पनि सूचनाप्रविधिसँग सम्बन्धित सीप विकास गर्ने भएकाले फरक नपर्ने उनको धारणा छ ।
अहिले नोबेल एकेडेमीमा ४ सय विद्यार्थी प्लसटुमा कम्प्युटर साइन्स अध्ययन गरिरहेका छन् । एभरेस्ट फ्लोरिडामा पनि लगभग त्यति नै विद्यार्थी छन् । तर, सूचना प्रविधिमा भविष्य बनाउन प्लसटुको पढाइ मात्रै पर्याप्त नहुने नोबेलको श्रेष्ठ बताउँछन् । ‘प्लसटुमा बेसिक कन्सेप्ट मात्रै हुन्छ । बाँकी स्नातक र स्नातकोत्तरमा धेरै हुन्छ,’ उनी बताउँछन् ।
 

कसरी रोज्ने ?

कुनै पनि विषय रोज्नुभन्दा पहिले विद्यार्थी त्यो विषय पढ्नुको उद्देश्यमा स्पष्ट हुनुपर्ने विज्ञको बुझाइ छ । अझै पनि धेरै विद्यार्थी आफूलाई आत्मनिर्भर बनाउनभन्दा प्रमाणपत्र देखाउन मात्रै पढिरहेजस्तो लाग्छ, सुरेन्द्र श्रेष्ठलाई  । ‘केही गर्ने भावनासहित पढे मात्र उपलब्धि हात लाग्छ,’ उनले भने ।
आइटी पढेर नेपालमै करियर बनाउन सकिने अवसर भए पनि त्यसमा केही सीमितता रहेको उप्रेती बताउँछन् । स्रोतसाधन र लगानी कम भएकाले अझै पनि आइटी प्राथमिकताको क्षेत्रमा नपरेको उनी बताउँछन् । यसले गर्दा रोजगारीको क्षेत्र पनि सीमित हुन पुगेको छ । ‘त्यसैलm सहरका केटाकेटी पढिसकेपछि विदेश गएर भविष्य खोज्ने सोच्न थाल्छन्, जति सिर्जनशील भयो, विदेशमा उति माग छ,’ उनी भन्छन् ।
कम लगानीमा धेरै कमाइ
आइटी पढेकाहरूले नयाँ सफ्टवेयर विकास गरी पनि नाम र दाम कमाउन सक्ने काठमाडौं भ्याली कलेजका अध्यक्ष श्रेष्ठ बताउँछन् । ‘आइटी भनेको कम लगानीमा धेरै पैसा कमाउन सकिने क्षेत्र हो,’ उनी भन्छन् । एउटा कोठाभित्र बसेर धेरै काम गर्न सकिने, त्यही कोठाबाट आफ्नो सिर्जनशीलता संसारभर पु¥याई बिक्री गर्न सकिने सम्भावना औंल्याउँछन् उनी ।
श्रेष्ठको तर्कसँग शर्मा पनि सहमत छन् । ‘एकपटक लगानी गरेर ल्यापटप र इन्टरनेट जोड्यो भने धेरैकाम गर्न सकिन्छ । सफ््टवेयर विकास, डिजाइनिङ, वेबसाइट डिजाइनिङ, आउट सोर्सिङजस्ता काम गर्न सकिन्छ,’ उनी भन्छन् ।
सबै घरमा कम्प्युटर, इन्टरनेट अनि सबै विद्यालय र कार्यालयमा कम्प्युटर एप्लिकेसन प्रयोग नभए पनि प्रविधिकोे प्रयोगमा नेपाल अगाडि नै रहेको उप्रेतीको भनाइ छ । ‘त्यसैले नेपालमा यसको प्रशस्त सम्भावना छ,’ उनी थप्छन्, ‘आँट गर्ने हो भने पढिसकेपछि यहीँ कम्पनी खोल्न सकिन्छ । विदेश जाँदा पनि कम्प्युटर नजानेको मान्छेले २० हजार कमाउँदा जान्नेले ४० हजार कमाउन सक्छ ।’

 

प्रकाशित: ८ असार २०७३ ०३:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App