१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

साउदीमा बलबहादुरको बेहाल

साउदीमा अलपत्र परेका उदयपुरका बलबहादुर। तस्बिरः महेश्वर

उदयपुर – पैसा कमाउँला, घरजग्गा जोडुँला, परिवार र छोराछोरीसँग आरामसँग जीवन बिताउँला भन्ने सपना साँचेर धेरै युवा विदेशीने गर्छन्। यस्तै सपना साँचेर १३ महिनाअघि साउदी अरव पुगेका उदयपुरका एक युवाको भने सपना मात्र चकनाचुर भएन, स्वदेश फर्कननै पाउने कि नपाउने भन्ने चिन्ताले भोक निन्द्रा टुटेको छ।

जिल्लाको उदयपुरगढी गाउँपालिका ८ खोल्मेका बलबहादुर राईलाई श्रम स्वीकृति नलिई काम गर्न हुँदैन भन्ने थाहा हुँदाहुँदै १ वर्षदेखि साउदीमा लुकीलुकी गैरकानुनी कामदार हुनु परेको छ। कम्पनी टुटेपछि उनी घर फर्कन चाहन्थे, तर पैसा थिएन न त कागजात नै। उनले साउदीस्थित नेपाली दुताबास गएर घर फकाईपाउँ भनेर निवेदन दिए। तर, ८ महिनाअघि दिएको निवेदन उपर अहिलेसम्म कुनै ठोस प्रक्रिया अघि नबढेपछि गैरकानुनी कामदार हुन बाध्य छन्। १३ महिनादेखि तलव नपाएर भोकभोकै बस्न बाध्य उनी घर फर्कन नपाएपछि पहिले काम गरेको कम्पनी आसपास विना परिचयपत्र जोखिम मोलेर घरेलु कामदारको रुपमा बस्दै आएका छन्।

विना श्रमस्वीकृति काम गरेको थाहा पाउने बित्तिकै प्रहरीको फन्दामा पर्ने खतरा मोल्दै उनी घरको सरसफाई गर्ने, सामान मिलाई दिनेजस्ता काम गरेर हातमुख जोड्दै आएका छन्। साउदी पुगेको २ महिनामै कम्पनी टुटेपछि उनी घर फर्कन चाहन्थे। तर, तत्काल फिर्ने वातावरण नभएपछि उद्धार गरी घर फर्काइपाउँ भन्दै बलबहादुरले आफूलाई साउदी पठाउने म्यानपावर कम्पनीसँग आग्रह गरे। म्यानपावर कम्पनीकै आग्रह अनुसार बलबहादुरका आफन्तले नेपालस्थित साउदी अरेवियाको कन्सुलर विभागमा २०७४ भदौ २२ गते दिएको उजुरी दर्ता नम्बर २१३४ हो। अहिलेसम्म आफ्नो निवेदनको कुनै कारबाही नभएको पीडितको गुनासो छ।

२०७३ साल पुस ५ गते वैदेशीक रोजगार विभागबाट श्रमस्वीकृति लिएर साउदी गएका उनलाई मोदी अल बेकरी फार्म कम्पनीमा मासिक साउदी रियल (मुद्रा) १ हजार ४ सय अर्थात ४० हजार हाराहारी र काम कृषि हेल्पर भनेर म्यानपावर कम्पनीले सम्झौता गरेको थियो। यो सम्झौताबाट हौसिएका उनले चर्को व्याजमा साहुसँग काडेको ८० हजार रुपैयाँ म्यानपावर कम्पनी अल्फा इन्टरनेशनल प्रालिलाई बुझाएर साउदी पुगेको बताउँछन्। उनले लिएको सो ऋण डेढवर्षमा बढेर २ लाख पुग्न लागे पनि अहिले उनको कमाईको त के कुरा घर फर्कने टुंगोसमेत छैन।

सम्झौतापत्रमा उल्लेख भए अनुसार उनले न काम पाए न पारिश्रमिक नै। उनले त्यहा पुगेपछि मेशनको काम गर्नुपर्यो भने तलब १ हजार २ सय मासिक तोकियो। तर, २ महिना नपुग्दै कम्पनी टुटेपछि गरेको कामको ज्याला पनि मिलेन न त काम गर्ने कम्पनी नै। साउदीस्थित नेपाली राजदुताबासमा दिएको उजुरी धमिराले खाईसकेको हुनसक्छ वा कतै फोहोर फाल्ने टोकरी भरियो उनलाई थाहा छैन। काम गरेको ठाउँभन्दा दुताबास निकै टाढा पर्ने भएकाले पटक–पटक धाउन नसक्ने तथा गैरकानुनी बसाईले उनलाई जतिबेला पायो उतिबेला हिड्न डुल्न कठिनाई छ। धाउन नसकेपछि उनी दिनदिनै फोन गरेर जानकारी लिन खोज्छन् तर, हतपत फोन नउठ्ने र उठे पनि चित्तबुभ्दो जवाफ नपाउने गुनासो उनको छ।

 

प्रकाशित: ११ वैशाख २०७५ ०६:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App