१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कारागार चलान भएका बारुद सिंहसँग थप ५ मुद्दामा बयान सुरु

सर्लाही- मध्य तराई क्षेत्रमै विगत लामो समयदेखि अपहरण, कर्तव्य ज्यान, विष्फोट लगायत गम्भिर खाले अपराधिक मुद्दाका फरार प्रतिवादी बारुद सिंह भनिने सुरेन्द्र यादव कारागार चलान भएका छन्।

अपहरण उद्योग मुद्दामा शुक्रबार जिल्ला अदालत सर्लाहीका न्यायाधीश राजेश काफ्लेको इजलासले यादवलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो। कारागार चलानको आदेश भए पनि उनलाई जिल्ला प्रहरी कार्यालय मलंगवाकै थुनुवा कोठामा राखिएको छ।

यादवसँगै सोही मुद्दामा पेश गरिएका रौतहटकै जोगेन्द्र राय र नागेन्द्र रायलाई भने न्यायाधीश काफ्लेको ईजलासले धरौटीमा छाड्ने आदेश दिएको छ।

‘एउटा मुद्दामा पुर्पक्षको आदेश आएको छ’, जिल्लाप्रहरी कार्यालयका प्रवक्ता एवं नायव उपरीक्षक राजेश थापाले भने, ‘पहिले अदालतमा पेश भईसकेका अन्य ५ वटा मुद्दामा बयानको काम हुने भएकाले हाम्रै हिरासतमा राखेका छौं।’

यादवकै मुख्य योजनामा गत जेठ १५ गते रौतहट जिल्ला गढिमाई गाउँपालिका–१ घर भई सर्लाहीको बरहथवा नगरपालिका–६ बस्दै आएका गोरु व्यापारी रामपुकार यादवका ७ वर्षिय छोरा राकेशकुमार यादवलाई अपहरण गरेको तथा गत माघ यता पुनःगोरु व्यापारी रामपुकारलाई पटक–पटक फोन गरेर फिरौती माग गरेको आरोपमा अपहरण उद्योग मुद्दामा अदालतबाट म्याद लिएर प्रहरीले कारबाही अगाडि बढाएको थियो। सोही मुद्दामा यादव पुर्पक्षका लागि जेल चलान भएका हुन्। अपहरित बालकलाई दुई सातापछि प्रहरीले सकुशल मुक्त गराएको थियो।

एउटा मुद्दामा पुर्पक्षको आदेश आएपछि त्यस अगाडि नै पेश भएका अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान, आगजनी, विष्फोट, हातहतियार मुद्दामा अदालतले बयान सूरु गरेको र उक्त मुद्दाहरुमा आदेश आएपछि यादवलाई सुनसरीको झुम्का कारागार पठाईने प्रनाउ थापाले जानकारी दिए।

रौतहटको गरुडा नगरपालिका–६ निवासी ३६ वर्षिय यादवले जनतान्त्रिक तराई मुक्ति मोर्चाको सैन्य कमान्डर हुँदै विभिन्न भूमिगत सशस्त्र समूहमा आवद्ध रहेर विगत लामो समयदेखि सर्लाही सहित मध्य तराई क्षेत्रमा अपहरण तथा शरीर बन्धक, हत्या, फिरौती, आगजनी, विष्फोट लगायत गम्भिर खाले अपराधिक घटना गराएको प्रहरीको दाबी छ। यादव विरुद्ध रौतहटमा समेत ३ वटा गम्भिर खाले अपराधिक घटनामा अदालतमै मुद्दा दर्ता भईसकेको पाईएको नायव उपरीक्षक थापाले जानकारी दिए। सर्वाधिक खोजीको सूचीमा रहेका यादवलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले चैत १२ गते राती भारतीय भूमिबाट पक्राउ गरी सर्लाही प्रहरीलाई बुझाएको थियो।

प्रकाशित: ८ वैशाख २०७५ १२:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App