२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मातातीर्थ कुण्डमा भक्तजनको भीड

काठमाडौँ (रासस)- चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्नका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ।
प्रत्येक वर्ष वैशाख कृष्ण औँसीको दिन आमाको मुख हेर्ने दिन वा मातातीर्थ औँसीका दिन यहाँ मेला लाग्ने गर्दछ । कुण्डमा स्नान गरेपछि आफ्नो आमाको मुक्तिको कामना गर्दै तर्पण दिन्छन्। दिवंगत माताको स्मरणमा उक्त कुण्डमा स्नान गरेर पवित्र मनका साथ तर्पण दिएपछि र पोखरीमा हेरेमा जन्म दिने माताको स्वरूपको दर्शन पाइने जनविश्वास छ।
उक्त कुण्डमा वैशाख कृष्ण औँसीका दिन एक जना ग्वालाले प्यास लागेर पानी खान जाँदा दिवंगत भएकी आफ्नो माताको स्वरुप देखेको किंवदन्ती पाइन्छ।
नगरपालिकाका उपप्रमुख लीसा नकर्मीले त्यहाँ आउने भक्तजनको सुविधाका लागि सुरक्षाकर्मी, स्वयम्सेवकको व्यवस्थापन गरिएको जानकारी दिए। उनका अनुसार दिवंगत भएकी माता प्रसन्न भइदिएको आशीर्वादको प्रभावले छोराछोरीहरू शान्ति, सुखी र समृद्धि हुने पनि विश्वास गरिएको छ। उक्त स्थानलाई धार्मिक पर्यटकीयस्थलका रुपमा प्रवद्र्धन गर्न गृहकार्य भइरहेको उपप्रमुख नकर्मीले जानकारी दिए।
स्वस्थानी कथामा यो कुण्डमा सतीदेवीको अंग पतन भई मातुलेश्वर महादेवको उत्पत्ति भएको प्रसंग पाइन्छ । हिन्दू धर्मावलम्बीले जन्म दिने आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुन मान्यता तथा विश्वासका साथ सो तीर्थस्थलमा मेला भर्न आउने गर्दछन् । विशेषगरी आमा दिवंगत भएका भक्तजन आउने उक्त तीर्थस्थलमा काठमाडौँ तथा त्यस वरपर क्षेत्रबाट भक्तजनको सहभागिता बढेको छ । आमाप्रति सम्मान गर्ने र आमालाई सम्झने दिनका रुपमा हिन्दूले आजको दिन दिवसका रुपमा मनाउने गर्दछन् । स्थानीय गुर्जुधारादेखि मातातीर्थसम्म चल्ने सवारी साधनलाई आज निषेध गरी अन्यत्रैबाट वैकल्पिक व्यवस्था गरिएको छ।
 

 

प्रकाशित: ३ वैशाख २०७५ ०५:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App