१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रङ्गी बिरङ्गी सगरमाथा आधार शिविर

पर्यटक र टेन्टले झकीझकाउ सगरमाथा आधार शिविर। तस्बिरः राधा/नागरिक

सोलुखुम्बु – विश्वको सर्वाेच्च शिखर सगरमाथा सहित अन्य दुई हिमालका लागि समेत प्रयोग हुँदै आएको आधार शिविर अहिले भरिभराउ छ।

हिमाल आरोहण सुरु नभए पनि आफ्ना आरोहीलाई ब्यवस्थित रुपमा राख्नका लागि क्याम्प खडा गर्न अहिले दर्जन भन्दा बढि एक्सपिडिशन कम्पनीहरूलाइ भ्याईनभ्याई छ। आरोही र आरोहण सहयोगी, एक्सपिडिशन कम्पनीका कर्मचारीहरू र घुम्दै पुगेका पदयात्रीहरूको वृद्धिका कारण वर्षेनी साँघुरिदै गएको आधार शिविरमा क्याम्प खडा गरेपछि स्थान समेत नपाउने डरले पहिले नै शिविर निर्माण सुरु गर्ने गरिएको छ। त्यसैको तयारीका कारण समेत अहिले आधार शिविर रङ्गी बिरङ्गी देखिन थालेको छ भने कुनै धार्मिक स्थलमा लाग्ने मेला जस्तै देशी विदेशी पर्यटकको भीड आधार शिविरमा देखिन थालेको छ।

सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल आरोहणका लागि ५ हजार ३ सय ६४ मिटरको उचाइमा रहेको एउटै आधार शिविर साझा रुपमा प्रयोग गर्ने गरिएको छ। तीन वटै हिमालको आधार शिविर एउटै भएकाले पनि आरोहणको मौसममा पाइला टेक्ने ठाउँ समेत नहुने गरेको आधार शिविरमासम्पर्क अधिकृतको रुपमा खटिएका ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए। सम्पर्क अधिकृतका रुपमा खटिसकेका उनले अनुभव सुनाउदै भने, ‘हिमाल आरोहण गर्ने करिव डेढ महिना त आधार शिविरमा ठूलो मेला लाग्ने गर्दछ।’

हिमाल आरोहण गर्नुअघि आरोहीहरूले आफूलाइ त्यहाँको मौसम अनुकुल बनाउन केही हप्ता आधार शिविरमै बस्नु पर्दछ भने क्रमिक रुपमा उचाइ लिदै जानु पर्दछ। पूर्व तयारीका लागि समेत आधार शिविर महत्वपूर्ण हुने भएकाले त्यहाँ बढि भिड हुने गर्दछ। हिमाल आरोही मात्रै होइन, खुम्बु पदमार्ग प्रयोग गरी गएका पदयात्रीहरू समेत पुग्ने सबैभन्दा अन्तिम बिन्दु भएकाले यहाँ त्यस्ता पदयात्रीहरूको पनि उपस्थिति रहन्छ।

ल्हाक्पा तेन्जी शेर्पाले भने, ‘स्प्रीङ सिजनको मज्जा भनेकै सगरमाथा आधार शिविर हो। यो समयमा आधार शिविर पुगेपछि मलाइ फर्कनै मन लाग्दैन।’ उनले आधार शिविरलाइ स्मरण गर्दै भने, ‘एउटा एक्सपिडिशन कम्पनीको ५० भन्दा बढि कर्मचारी हुन्छन्। आरोही समेतलाइ खानाको ब्यवस्था क्याम्पमै गरिएको हुन्छ। सगरमाथा आरोहणको ठूलो तयारीमा रहेका उनीहरुले खुसीले हामीलाइ खानाको पैसा समेत लिदैनन्। अहिले आधार शिविरमा छुटै मज्जा छ।’

एक्सपिडिशनहरूको पूर्व तयारी संगै अहिले आरोहीहरू समेत आधार शिविर पुग्न थालेका छन्। अहिले सम्म उक्त आधार शिविर प्रयोग गरि हुने तीन हिमालका लागि ३० समूहले एसपिसिसि नाम्चेबजारबाट अनुमति लिइ उकालो लागेका छन्।  त्यसमध्ये २६ समूहले सगरमाथा आरोहणका लागि, ३ समूहले ल्होत्से हिमाल र एक समूहले नुप्त्से हिमाल आरोहणका लागि अनुमति लिएको एसपिसिसि नाम्चेका कार्यक्रम अधिकृत कपिन्द्र राइले जानकारी दिए।

उनीहरू ठूला हिमाल आरोहण गर्नुअघि अहिले तयारी स्वरुप साना हिमाल अर्थात पिकहरू आरोहणमा ब्यस्त हुन्छन्। अल्टीच्युट लिन र अभ्यासका लागि साना पिकहरूको आरोहण गरिरहेका हुन्।

प्रकाशित: ३० चैत्र २०७४ ०६:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App