१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

उपराष्ट्रपति पुनद्वारा मेलम्ची सुरुङ ब्रेक थ्रुको औपचारिक घोषणा (भिडियाे)

मेलम्ची (सिन्धुपाल्चोक) – उपराष्ट्रपति नन्दबहादुर पुनले बहुचर्चित तथा बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्ग बिहीबार औचारिक रुपमा ‘‘ब्रेक थ्रु’’ भएको घोषणा गरेका छन्। नेपालकै सबैभन्दा लामो २६ किलोमिटर मेलम्ची (अम्बाथान–सुन्दरीजल) सुरुङ प्राविधिक रुपमा भने मंगलबार नै ‘ब्रेक थ्रु’ भएको थियो।

अन्तिम पटक छिचोलिएको दोस्रो खण्ड सिन्धु–ग्याल्थुम अडिटमा रिबन काटेर उपराष्ट्रपति पुनले सुरुङमार्ग छेडिएको घोषणा गरेका हुन्। ‘ब्रेक थु्र’ घोषणा कार्यक्रममा सहभागी हुन पुन खानेपानी मन्त्री विना मगर, आयोजनाको मुख्य दाता एसियाली विकास बैंक, इटालियन ठेकेदार कम्पनी सिएमसी रेभेनाका प्रतिनिधि, आयोजनाका अधिकारीसहित सरकारका उच्च अधिकारी सिन्धु अडिट आएका थिए।

उपराष्ट्रपति पुन, मन्त्री मगरले सिन्धु–अम्बाथान खण्डको साढे सात किमि सुरुङ सवारी यात्राद्वारा छिचोले। ‘महत्वपूर्ण योजना सफल हुने संघारमा छ,’ अम्बाथान अडिट उत्रेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै पुनले भने। उनले मेलम्ची सुरुङ समृद्धिको आधार भएको बताए। उनले थपे, ‘मुलुकमा अब यस्ता धेरै सुरुङ बन्न सक्छन्। त्यस क्रममा मेलम्ची सुरुङ सिकाइको कोसेढुंगा हुन सक्छ।’

कानूनमन्त्री शेरबहादुर तामाङले मेलम्चीलाई चेलीको संज्ञा दिँदै अन्माएर बिदाइ गर्ने बेला आएको बताए। स्थानीयसमेत रहेर यसै क्षेत्रबाट निर्वाचित सांसद तामाङले भने, ‘हाँसेर अन्माउन पाए हुन्थ्यो!’

उपत्यकावासीको खानेपानी समस्या दीर्घकालीन रुपमा हल गर्न मेलम्ची खोलाबाट यो सुरुङमार्फत पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी आपूर्ति गरिने छ। मुख्य संरचना सुरुङ ब्रेक थु्रसँगै सात वर्षमा सक्ने लक्ष्यसाथ सन् २००१ बाट थालिएको आयोजना १८ वर्षमा पूरा हुने संघारमा पुगेको हो। चार वर्षमा सक्ने गरी निर्माण थालिएको सुरुङ ‘ब्रेक थु्र’ हुनै सात वर्ष लाग्यो। 

औपचारिक रुपमा सुरुङ ‘ब्रेक थ्रु’ गरिएपछि मेलम्चीमा आयोजित विशेष कार्यक्रममा बोल्दै खानेपानी मन्त्री मगरले उपत्यकावासीले मेलम्चीको पानी पाउने सुनिश्चित भएको बताइन्। ‘जुगल हिमशृंखलाबाट पक्लेर आएको स्वच्छ पानी खान पाउने उपत्यकावासीलाई धन्यवाद छ,’ उनले भनिन्।

सुरुङ ‘ब्रेक थ्रु’सँगै एउटा गौरवको आयोजना सम्पन्न हुने चरणमा पुगेको भन्दै उनले ढिलासुस्ती छाडेर दौड्दै मेलम्ची पानी उपत्यका पु-याउन गम्भीर रहेको बताइन्। उनले मेलम्ची पानी लगेबापत स्थानीयको माग सम्बोधन गर्नसमेत सरकार सकारात्मक रहेको प्रतिक्रिया दिइन्।

कानूनमन्त्री शेरबहादुर तामाङले मेलम्चीलाई चेलीको संज्ञा दिँदै अन्माएर बिदाइ गर्ने बेला आएको बताए। स्थानीयसमेत रहेर यसै क्षेत्रबाट निर्वाचित सांसद तामाङले भने, ‘हाँसेर अन्माउन पाए हुन्थ्यो!’ खानेपानी आयोजनामा २५ प्रतिशत हक स्थानीयको हुने दाबी गर्दै उनले मेलम्ची लगेबापत स्थानीयलाई रोयल्टी दिनुपर्ने बताए।

आयोजनाको मुख्य दाता एडिबीका दक्षिण एसिया महानिर्देशक हुन किमले सुरुङ खन्ने काम पूरा हुनु मेलम्चीको इतिहासमा महत्वपूर्ण कोसेढुंगा भएको बताए। उनले भने, ‘यो आयोजना अग्रगमनका लागि ठूलो छलाङ हो।’ महानिर्देशक किमले मेलम्ची आयोजनाको परियोजना–२ मा समेत सहयोग गर्न एडिबी तयार रहेको बताए।

परियोजना–२ अन्तर्गत मेलम्चीकै नजिक रहेका दुई खोला लार्के र यांग्रीबाट थप १७–१७ करोड लिटर पानी एउटै सुरुङमा हालेर ल्याउने सरकारको तयारी छ। लार्के र यांग्रीको प्रारम्भिक काम सुरु भइसकेको छ। मेलम्चीका लागि एडिबीले एक सय ४५ मिलियन अमेरिकी डलर ऋण उपलब्ध गराएको किमले जानकारी दिए।

आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले आगामी दसैंअगावै उपत्याकावासीले मेलम्चीको पानी पाउने बताए । ‘आयोजना पूर्णरुपमा सम्पन्न गर्न तीन–चार महिना लाग्छ,’ उनले भने।  देवकोटाका अनुसार मुहानमा वैकल्पिक लाइन जडान गर्न बाँकी छ। त्यस्तै तीन किमि सुरुङको ढलान र फिनिसिङ भए पनि बाँकी २३ किमिलाई यसै अवधिभित्र अन्तिम रुप दिनु पर्नेछ। ‘हाइड्रो मेकानिकल (अडिटमार्गका ढोका) बन्द गर्ने कामले केही समय लिन्छ,’ उनले भने।

सुरुङ निर्माणमा संलग्न ठेकेदार इटालियन ठेकेदार सिमसी रेनेभाका प्रतिनिधि सार्वेतोरे कसारोले सुरुङ खन्ने काम ज्यादै चुनौतीपूर्ण रहेको अनुभव सुनाए। ‘यहाँको भौगर्भिक अवस्था निकै चुनौतीपूर्ण थियो,’ उनले भने, ‘चुनौती चिर्दैै सुरुङ ‘ब्रेक थ्रु’ गर्न पाउँदा खुसी छौं।’ उनले सुरुङलाई जतिसक्दो छिटो अन्तिम रुप दिने बताए ।

मेलम्ची खानेपानी विकास समितिका अध्यक्ष तथा खानेपानी मन्त्रालयका सचिव कृष्णराज बिसीले सुरुङका बाँकी काम कार्यतालिका बनाएर समयमै सक्न ठेकेदार कम्पनीलाई आग्रह गरे। ‘स्थानीय, कामदार, आपूर्तिकर्ता सबैलाई साथमा लिएर अघि बढ्नुस्। आवश्यक सामग्री अभाव हुन नदिनुस्,’ उपत्यकावासीलाई मेलम्ची पानी खुवाउन हतारिएको बताउँदै उनले भने।

आयोजनाका पूर्वकार्यकारी निर्देशक घनश्याम भट्टराईले भूकम्पपछिको कठिन समयमा समेत सुरुङ निर्माण अघि बढाएको विगत स्मरण गराए। आयोजनामा पाँच वर्ष काम गरेका उनका अनुसार भूकम्पपछिको एक वर्षमा मात्रै नौ किमि सुरुङ खनिएको थियो। निकै भावुक मुद्रामा प्रस्तुत भएका भट्टराईले सुनाए, ‘२०४२ तिर भारतमा इन्जिनियरिङ पढ्दा मेलम्ची आयोजनाको चर्चा सुनेको थिएँ। नेपाल फर्केर ३२ वर्ष सरकारी सेवा गरी बाहिरिँदा बल्ल आयोजना सम्पन्न हुने क्षणमा पुगेको छ।’

रोयल्टी तोक्न माग
मेलम्ची आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेपछि स्थानीयले भने पानी लगेबापत त्यसअघि नै रोयल्टी निर्धारण गरिनुपर्ने माग गरेका छन्। रोयल्टीलगायत स्थानीय माग जति चाँडो सम्बोधन ग-यो उति छिटो आयोजना सम्पन्न हुने बताए।

ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिका अध्यक्ष उपेन्द्र तामाङले आयोजना जथाभावी चलेको र स्थानीयसँग समन्वय गर्ने नगरेको गुनासो गरे। ‘वर्षोंदेखि रोयल्टीका कुरा ग-यौं। थामथुम पार्ने बाहेक निर्णयमा पुग्ने काम भएको छैन,’ उनले भने। मेलम्ची राजधानी जानुअघि खोलामा छाडिने पानीको मात्रा निश्चित गरिनुपर्नेमा उनले जोड दिए।

स्थानीयको तर्फबाट मेलम्ची खानेपानी विकास समितिमा प्रतिनिधित्व गरेका चन्द्रबहादुर थापाले रोयल्टी सम्बन्धी कानून बनाउनु पर्ने आवश्यकता रहेको बताए। समितिका सदस्य उनले भने, ‘छिट्टै यस सम्बन्धी व्यवस्था होस्।’

प्रकाशित: २९ चैत्र २०७४ ०७:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App