१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

दुई विकल्पसहितको प्रतिवेदन पेस

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीले चीन–नेपाल जोड्ने पहिलो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि उत्तम ‘रुट’ छनोट सहितको प्रतिवेदन तयार पारेको छ । उक्त टोलीले नेपालतर्फ दुई उत्तम ‘रुट’ निर्माण गर्न सकिने प्रतिवेदन तयार पारी प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ समक्ष पेस गरेको छ।

केरुङ–चिलिमे–रातमाटेसम्मको ७० किलोमिटर उक्त प्रसारण लाइन निर्माणका लागि १ सय ११ टावर आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ । उक्त प्राविधिक टोलीले दुई उत्तम ‘रुट’ छनोट गरेको छ ।पछिलो उत्तम ‘रुट’ रसुवाको उच्च हिमाली भेगबाट र अर्को ‘रुट’ आरक्षण हुँदै प्रसारण लाइन निर्माण गर्न सकिने सम्भावना देखाइएको छ।

चीन र नेपालबीच बिजुली आदान–प्रदान गर्न अति महत्वपूर्ण मानिएको ४०० केभीको केरुङ–रातमाटे अन्तरदेशीय प्रसारण लाइन निर्माणका दुवै ‘रुट’ उत्तम भएको  प्रतिवेदनमा उल्लेख छ ।बिजुली आयात–निर्यात भारततर्फ मात्र हुँदै आएकोमा चीनतर्फ पनि त्यस्तो गर्ने पहल सुरु गरिएको हो । प्राधिकरणले नेपालतर्फको उत्तम ‘रुट’ छनोट गर्न गत फागुन पहिलो साता प्राविधिक टोली खटाएको थियो।

यसअघि परराष्ट्र मन्त्रालय र चिनियाँ उच्च अधिकारीबीच चीन–नेपाल जोड्ने पहिलो अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न उत्तम ‘रुट’ छनोट गर्न प्राविधिक टोली खटाउने सहमति भएको थियो।उक्त प्राविधिक टोलीले यसअघि प्रारम्भिक प्रतिवेदनमा देखाइएको तीन रुट (मार्ग) मध्ये दुईलाई छनोट गरेको छ । त्यसमध्ये पनि एक रुट मात्र निर्माण गरिने छ।

‘प्राविधिक टोलीले आफ्नो प्रतिवेदन तयार पारेको छ,’ केरुङ–चिलिमे–गल्छी ४०० केभी अन्तरदेशीय प्रसारण लाइनका आयोजना प्रमुख कोमलनाथ आत्रेयले नागरिकसँग भने, ‘उक्त प्रतिवेदन प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई बुझाएका छौं ।’ प्रतिवेदनमाथि छलफल हुँदैछ ।  त्यसरी तयार भएको प्रतिवेदन प्राधिकरण, ऊर्जा मन्त्रालय, परराष्ट्र मन्त्रालय हुँदै चीन पठाइने पनि उनले जानकारी दिए।

चिनियाँ पक्षले पनि आफ्नो भू–भागमा पर्ने अन्तर्राष्ट्रिय प्रसारण लाइनको अध्ययन गरिरहेको छ । चीनतर्फको अध्ययन तिब्बत इलेक्ट्रिक कम्पनीले गरिरहेको छ । ‘ल्हासादेखि केरुङसम्मको प्रसारण लाइनको रुट अध्ययन चिनियाँ पक्षले गर्दैछ,’ आत्रेयले भने, ‘दुवै प्रतिवेदन तयार भएपछि दुवै देशका सचिव, मन्त्री र प्रधानमन्त्रीस्तरसम्म छलफल भई आयोजना निर्माणले गति लिनेछ।’

यसअघि  नेपाल र चीन जोडने अन्तरदेशीय प्रसारण लाइन बेल्ट एन्ड रोड इनिसिएटिभ अन्तर्गत निर्माण गर्ने समझदारी दुवै देशबीच भएको थियो । नेपालतर्फको प्रसारण लाइन निर्माणको प्रारम्भिक प्रतिवेदन अर्थ, परराष्ट्र मन्त्रालयमार्फत चीन पठाइएको थियो । उक्त प्रसारण लाइन निर्माण गर्न चीनले प्राथमिकतामा दिएको छ।बिजुलीको किनबेच भारतसँग मात्र हुने गरेकोमा विकल्पका रुपमा चीनतर्फको प्रसारण लाइन निर्माणलाई प्राथमिकता दिन थालिएको हो । उक्त प्रसारण लाइन बनाउन कति रकम लाग्छ, यकिन तथ्यांक निकालिने छ।

चीनमा सन् २०२० सम्ममा बढी हुने दुई हजार मेगावाट बिजुली ल्याउने योजनाअनुसार अन्तरदेशीय प्रसारण लाइन निर्माणमा नेपालले जोड दिँदै आएको छ । ‘नेपाललाई बढी बिजुली चाहिने समय (हिउँद) मा चीनमा बढी बिजुली उत्पादन हुने रहेछ,’ प्राधिकरणका एक उच्च प्राविधिकले भने, ‘त्यति बेला हामीलाई बिजुली अत्यधिक आवश्यक पर्ने भएकाले पनि अन्तरदेशीय प्रसारण लाइनको आवश्यकता झन् बढी भएको हो ।’उक्त प्रसारण लाइन निर्माणपछि बर्खामा चीनतर्फ बिजुली निर्यात गर्न सकिने सम्भावना छ । नेपालको त्रिशूली तथा सो क्षेत्र आसपास उत्पादन हुने बिजुली चीनतर्फ आपूर्ति गर्न यो प्रसारण लाइन प्रयोग गर्न सकिन्छ।

सन् २०१६ मार्चमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी जिनफिङबीच उक्त प्रसारण लाइन निर्माण गर्ने सहमति भएको थियो ।चिनियाँ पक्षले प्राविधिक रुपमा उपयुक्त भए, नभएको अध्ययन गर्न नेपाल र चीनका प्राविधिकलाई आग्रह गरेको थियो।

दुई महिनापहिले प्राधिकरणका कार्यकारी निर्देशकसहितको प्राविधिक टोलीले उक्त क्षेत्रको निरीक्षण गरेको थियो । त्यसपछि प्राधिकरण र चीनका प्राविधिकले संयुक्त छलफल गरेका थिए ।नेपाली भू–भागमा पर्ने भाग नेपालले र चीनतिरको चीनले नै बनाउने गरी कुराकानी भइरहेको प्राधिकरणका उच्च अधिकारी बताउँछन्।

केरुङ–काठमाडौं जोड्ने रेलमार्गसँगै उक्त प्रसारण लाइन निर्माण गर्ने योजना अघि सारिएको हो । रेलमार्ग निर्माणबारे छलफल गर्न गत कात्तिक तेस्रो साता  चिनियाँ उच्च अधिकारीको एउटा टोली नेपाल आएको थियो । उक्त टोलीले रेलमार्ग निर्माणबारे स्थलगत अध्ययन गरेको थियो।
नेपाली पक्षले रसुवागढीदेखि गल्छीसम्म प्रसारण लाइन निर्माण गर्दैछ । यसका लागि चालु आर्थिक वर्षमा तीन करोड रुपैयाँ छुट्ट्याइएको छ । गत आर्थिक वर्ष ५० लाख रुपैयाँ विनियोजन गरिएको थियो।

भारततर्फ भने यसअघि नै अन्तरदेशीय प्रसारण लाइन बनिसकेका छन्; केही बन्ने क्रममा छन् । नेपाल र भारतबीच बिजुली आयात–निर्यात गर्न ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण भइसकेको छ । त्यसलाई भारतबाट नेपालमा विद्युत् आयात गर्ने सबैभन्दा ठूलो मार्गका रुपमा लिइएको छ।

यसअघि रक्सौल–परवानीपुर र कुशाहा–कटैया अन्तरदेशीय प्रसारण लाइनको उद्घाटन गत भदौ ७ गते भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा गरेका थिए । यसैगरी, बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने योजना पनि दुवै देशले बनाएका छन्।
 

प्रकाशित: २९ चैत्र २०७४ ०२:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App