१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

इतिहासकै सबैभन्दा बढी उखु क्रसिङ गर्दै यो सिजनका लागि इन्दुशंकर बन्द

सर्लाही-स्थापनायताकै सबैभन्दा बढी उखु क्रसिङ गर्दै हरिवन स्थित इन्दुशंकर चीनि उद्योग यस सिजनका लागि बन्द भएको छ।

यसवर्ष ४० लाख २० हजार क्वीन्टल उखु क्रसिङ गरेको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिए। ‘इन्दुशंकर चिनी उद्योग स्थापना यताकै यस वर्ष सबै भन्दा बढी उखु क्रसिङ भएको छ’, रजकले भने, ‘सर्भे गरिएका सबै किसानको उखु सकिएकाले मंगलबारबाट चालू सिजनको क्रसिङ बन्द गरेका हौं।’ यस सिजनका लागि पुस पहिलो साताबाट उद्योग सञ्चालन भएको थियो।

गत वर्ष २६ लाख १७ हजार क्वीन्टल क्रसिङ गरेको इन्दुशंकरले केही वर्ष अघि ३७ लाख ५० हजार क्वीन्टल उखु पेलेको थियो। २०४२ सालमा स्थापना भएको उद्योगले यसवर्ष स्थापना यताकै सबैभन्दा बढी उखु क्रसिङ गरेको हो। उद्योग सञ्चालन ताका ३० लाख क्वीन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिइएको भए पनि भारतीय उखु तथा जिल्लाकै दक्षिणी क्षेत्रका किसानहरुको समेत इन्दुशंकर प्रति नै आकर्षण बढेकाले क्रसिङ परिमाण बढी भएको बताईएको छ।

त्यस्तै जिल्लाकै पश्चिम धनकौल स्थित अन्नपूर्ण सुगर मिल भने अझै एक साता सञ्चालन हुने उखु प्रबन्धक बीएल गुप्ताले जानकारी दिए। हालसम्म १२ लाख २० हजार क्वीन्टल उखु क्रसिङ गरेको सो उद्योगले १४ लाख पुर्‍याउने अनुमान गरेको छ।

मुलुकमै सबैभन्दा बढी उखु खेती हुने सर्लाहीमा यस वर्ष १ करोड क्वीन्टल भन्दा बढी उखु उत्पादन भएको इन्दु शंकरका उखु प्रबन्धक रजकले जानकारी दिए। सर्लाही बाटै महोत्तरीको एभरेष्ट, रौतहटको श्रीराम, बाराको मानकौर, सिराहा लगायत उद्योगमा समेत उखु जाने गरेको छ भने जिल्लामै सञ्चालन भएका दर्जनौं क्रसर उद्योगले समेत मिठा (सख्खर) उत्पादन गर्ने गरेका छन्। चालू सिजनमा साँढे २१ हजार हेक्टर क्षेत्रफलमा उखु खेती भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।

प्रकाशित: २८ चैत्र २०७४ १२:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App