१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

म्यानेजरको मासिक तलब पाँच सय !

पाल्पा- तपाईको मासिक तलब कति छ?  कसैले तपाईलाई सोध्यो भने तपाई एक पटक सोंचेरमात्र जवाफ दिनुहुन्छ। तर जिल्लाको रिब्दीकोट गाउँपालिका–६, मा रहेको सहकारीकी म्यानेजर ललिता बगाले भने ढुक्कसँग जवाफ दिन्छिन्, मासिक पाँच सय। तपाईंलाई आश्चर्य लाग्नसक्छ तर बगाले बिगत ६ महिनादेखी पाँच सय रुपैयाँ मासिक लिएर सहकारीको म्यानेजर पद सम्हालि रहेकी छिन् । जुन सहकारीले दुई वटा कोठा भाडामा लिएको छ । भाडा भने मासिक एक हजार रुपैयाँ तिर्ने गर्दछ।

रिब्दीकोट गाउँपालिका–६, मा रहेको धुस्तुङ्गडाँडा कृषि सहकारी संस्थाकी म्यानेजर हुन् ललिता बगाले। गाउँमा विपन्न समुदायका लागि २०६८ सालमा जिल्ला वन कार्यालयले वन कबुलियती गरिदियो । यस ठाउँमामात्रै चार कबुलियति वन समूह छन् । आर्थिक स्तर न्यून रहेका विपन्न समुदायका लागि हस्तान्तरण गरिने वनमा यहाँका किसानहरुले तेजपात र अम्रिसोसँगै विभिन्न बिरुवाहरु लगाएका छन् । ठुस्टुङ्ग क्षेत्र वरपर जिल्ला वनकै सक्रियतामा गठन गरिएका १५ कबुलियति वन समूह सक्रिय भएर काम गरिरहेका छन् । यहि क्रममा २०७३ सालमा यस क्षेत्रमा छरिएर रहेको पुँजी संकलन गर्ने, बचत गर्ने तथा लगानीमा प्रोत्साहित गर्न कार्यालयकै सक्रियतामा माघ १५ गते कबुलियति वन समूहकै नाममा सहकारी गठन गर्न उपभोक्ताहरु क्रियाशिल भए। अहिले कृषि सहकारीले कबुलियति वन समूहमा आवद्ध ४८ घरधूरीका व्यक्तिहरुको बचत संकलन गर्ने र बचत परिचालन गर्ने काम गर्दै आएको छ।

सहकारीकी व्यवस्थापन ललिताले आफ्नै गाउँठाउँका आमाबुबा दाजुभाई दिदीबहिनीको रकम संकलन गरि आवश्यकता अनुसारका क्षेत्रमा लगानी गर्न थालेको बताउँछिन् । उनी भन्छिन्, ‘तलब त सेवा शुल्क भन्न पनि नसुहाउने छ। तर म खुसी छु । यहाँका मानिसहरुको आर्थिक स्थितीमा केही सुधार होला भन्ने आशाले काम गरिरहेकी छु । मानिसहरु तरकारी खेती, बाख्रापालन, कुखुरापालन लगायतको कार्यका लागि सहकारीमा आउन थालेका छन् ।’ सहकारीले सदस्यहरुसँग मासिक अनिवार्य एक सय रुपैयाँ र अरु थप रकम संकलन गर्दै आएको उनी बताउँछिन् । उनले अहिले सहकारी मासिक एक पटक खुल्ने गरेको बताउँदै आवश्यकता अनुसार आफुले नियमित सञ्चालनका लागि कार्ययोजना समेत बनाईरहेको बताईन्।

‘जिल्ला वन कार्यालयले दुई लाख रुपैयाँ सहयोग गरेको थियो । सो रकमबाट तालिम, भ्रमण गर्‍यौं र बचत भएको १ लाख ५ हजार ७ सय रुपैयाँ घुम्ति कोषका रुपमा सञ्चालन गरेका छौं । अहिले झण्डै दुई लाख रुपैयाँ संकलन गरि लगानी गरेका छौं,’–सहकारीका अध्यक्ष हुमबहादुर बगालले भने । सहकारीको कार्यालय व्यवस्थापन गर्न एक हजार रुपैयाँ र म्यानेजरलाई पाँच सय रुपैयाँमात्र मासिक दिँदै आएका छौं। सरकारका अन्य निकायबाट सहयोग भए हाम्रो स्तर माथि जाने थियो भन्ने आशामा छौं । सहकारीका सदस्य पदम बगाले भन्छन्, ‘काम गरेर खान नपुग्ने किसानले हैसियत बिग्रेको वनलाई सुधार गरि यहीबाट आयआर्जन गर्न चाहेका हुन् । सहकारी सञ्चालन गर्न भने कठिन हुँदो रैछ । हामीलाई तालिम तथा आजआर्जनमुखि कार्यक्रमको आवश्यकता छ।’

जिल्ला वन कार्यालयका सूचना अधिकृत महम्मद अतिउल्लाहले ठीमुरे क्षेत्रका जनताको आर्थिक स्थितिमा सुधार ल्याउन समूह परिचालनका लागि ५० हजारको दरले रकम सहयोग गरेको बताए । समूह व्यवस्थापन, बिरुवा रोपण, जीविकोपार्जनका कार्यक्रममा कार्यालयले सहयोग गरेको छ, उनले भने।

प्रकाशित: २६ चैत्र २०७४ १२:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App