१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

बायर्न लगातार छैटौं पटक च्याम्पियन

बर्लिन – हामेस रोडरिग्वेजले नायकको भूमिका निर्वाह गरेको खेलमा शनिबार सुरुमा गोल खानाका बावजुद औसबर्गमाथि ४–१ को अवे जित हासिल गरेपछि बायर्न म्युनिखले लगातार छैटौं पटक जर्मन बुन्डेसलिगाको उपाधि जितेको छ।

२०१३ मा तेहेरो उपाधि जितेयता बायर्नले लगातार जर्मन बुन्डेसलिगाको उपाधिमा कब्जा जमाइरहेको छ । क्लबको इतिहासमा यो बायर्नले जितेको २८औं बुन्डेसलिगा उपाधि हो।

निकलस सुइलेले आत्मघाती गोल उपहार दिएपछि औसबर्गले घरेलु मैदानमा अनपेक्षित अग्रता लिएको थियो । तर टोलीले १८औं मिनेटमा लिएको त्यो अग्रता धेरैबेर टिक्न सकेन । कोरेन्टिन टोलिसोले ३२औं मिनेटमा बायर्नका लागि बराबरी गोल फर्काए भने त्यसको ६ मिनेटपछि हामेसले गोल गर्दै पहिलो हाफमै बायर्नलाई अग्रता दिलाए । दोस्रो हाफमा आर्येन रोबेन र सान्ड्रो वाग्नरले गोल गर्दा पनि हामेसले अवसर सिर्जना गरेका थिए।

शनिबारको जितपछि जारी सिजनका पाँच खेल बाँकी रहँदा बायर्न दोस्रो स्थानको साल्केलाई २० अंकले पछि पार्दै उपाधिमा कब्जा जमाउन सफल भएको हो।

क्लबको इतिहासमा यो बायर्नले जितेको २८औं बुन्डेसलिगा उपाधि हो।

‘उपाधि जित्नु भनेको जहिले पनि खुसीको कुरा हो । हामीलाई यो सफलता प्राप्त हुन्छ भन्ने पहिल्यै थाहा थियो,’ २००९ मा बायर्नसँग अनुबन्धित भएयता सातौं पटक उपाधि जितेका रोबेनंले भने, ‘तथापि बुन्डेसलिगामा कुनै पनि कुरा पक्का हुँदैन । अत्यन्त कठिन प्रतिस्पर्धामा उपाधि टुंगो नलागेसम्म आराम गर्न सक्ने अवस्था रहँदैनथ्यो ।’
गत सेप्टेम्बरमा कार्लो एन्सेलोट्टी बर्खास्त हुँदा बायर्न शीर्ष स्थानभन्दा पाँच अंकले पछि थियो । तर उनलाई स्थानान्तरण गरेका ७२ वर्षे युप हाइनेक्सको नेतृत्वमा टोलीले भाग्य परिवर्तन गर्यो।

‘यो ठूलो सफलतामा प्रशिक्षकको नाताले जस मलाई आउनु स्वाभाविक हो । तर मेरो विचारमा उपाधिको पहिलो श्रेय खेलाडीलाई दिनुपर्छ । समग्रमा हामीले संगठित भएर सानदार सिजन बितायौं,’ हाइनेक्सले भने।

२–१ को खतरनाक अग्रता लिएको च्याम्पियन्स लिग क्वार्टरफाइनल दोस्रो लेगअन्तर्गत सेभियाविरुद्ध बुधबार हुने खेललाई ध्यानमा राख्दै हाइनेक्सले शनिबार स्टार खेलाडीहरूलाई आराम दिएका थिए । उच्च गोलकर्ता रोबर्ट लेवान्डोवस्की, थोमस मुलर, थियागो अल्सान्टारा, माट हुमेल्स र जाभी मार्टिनेजजस्ता खेलाडी औसबर्गविरुद्धको खेलमा बेन्चमै सीमित थिए।

च्याम्पियन्स लिगको खेलका लागि तयारी गरिरहेको सेभिया शनिबार बायर्नको रक्षापंक्तिले गरेका हास्यास्पद गल्तीहरूबाट उत्साहित भएको हुन सक्छ । रक्षापंक्तिमा भएका अनावश्यक गल्तीका कारण औसबर्गले खेलमा अग्रता लिने मौका पाएको थियो।

बायर्नले जितका साथ उपाधि पक्का गरेको दिन निकट प्रतिद्वन्द्वी साल्केले ह्यामबर्ग र एसभीलाई ३–२ को नतिजा सुम्पियो । नाल्डोको गोलमा नवौं मिनेटमै अग्रता लिए पनि साल्केले त्यसलाई जोगाउन सकेन । फिलिप कोस्टिकले १७औं मिनेटमा घरेलु टोली ह्यामबर्गरका लागि बराबरी गोल गरे भने लेविस होल्थीले ५२औं मिनेटमा गोल गरेपछि घरेलु टोली अघि लाग्यो । गुइडो बर्गस्टलरले ६३औं मिनेटमा गोल गर्दै साल्केलाई बराबरीमा ल्याए । तर आरोन हन्टले समय सकिन ६ मिनेट बाँकी रहँदा ह्यामबर्गरका लागि विजयी गोल गरे।

जर्मन बुन्डेसलिगामा शनिबारै सम्पन्न अन्य खेलमा ह्यानोभर ९६ले वेर्डेर ब्रेम्यान तथा बोरुसिया मोन्चेनग्लाडबाचले हार्था बर्लिनलाई २–१ को समान अन्तरमा हराउँदा एफसी कोलोग्न र मेइन्ज ०५ ले १–१ को बराबरी नतिजा निकाले। यसै गरी उल्फसबर्गले फ्रेइबर्गमाथि २–० को विजय हासिल गर्यो।

प्रकाशित: २६ चैत्र २०७४ ०४:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App