१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मैलुङ–स्याफ्रुबेसी सडक खुलेपछि भूकम्पपीडितलाई सहज

नुवाकोटको त्रिशुलीबाट आयात भएको सामग्री हाकुबेसीको पुल नजिकै निकाल्दै भूकम्पपीडित। तस्बिरः हिमनाथ देवकोटा

रसुवा – राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको मैलुङ–स्याफ्रुबेसी सडक खुलेपछि हाकुका भूकम्पपीडितलाई निर्माण सामग्री लैजान सहज भएको छ।

निर्माणाधिन सडक निश्चित समयका लागि रक्षा मन्त्रालयले प्रयोग गर्न अनुमति दिएपछि सामग्री गाउँमा लैजान सहज भएको आमाछोदिङ्मो गाउँपालिका–१ हाकुबेसीका भूकम्पपीडित रामबहादुर तामाङले बताए।

‘सडक खुलेपछि नुवाकोटबाट सामन ल्याएका छौं, हाकुबेसीका तामाङले भने, गाडीबाट ल्याउँदा सजिलो भएको छ।’ यसअघि त्यहाँका भूकम्पपीडितले सदरमुकाम धुन्चेबाट जोखिमपूर्ण यात्रा पार गर्दै सामग्री लैजाने गरेका थिए।

गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रुबेसी सडकको मैलुङ–हाकुबेसी सडक खण्ड नेपाली सेनाले यसअघि नै निर्माण सम्पन्न गरेपनि सवारी सञ्चालनका लागि अनुमति दिएको थिएन।

यहि बुधबारदेखि चार दिनका लागि सडक खुला गरिएपछि भूकम्पपीडितले घर निर्माणका लागि आवश्यक पर्ने रड, सिमेन्ट, बालुवा, प्लाईहुड, प्लेन जस्तापाता लगायतका सामग्री धमाधम ओसारी रहेका छन्।

तीन दिनमा ८ वटा गाडीमा निर्माण सामग्री आयात भएको मैलुङ–स्याफ्रुबेसी सडक निर्माण कार्यदलले जनाएको छ। कार्यदलले दिएको जानकारी अनुसार भूकम्पपीडितले नुवाकोटको त्रिसुलीदेखि सामग्री आयात गरिरहेका छन्।
समय सकिन एक दिन मात्रै बाँकी रहँदा सामग्री ल्याउने क्रम पनि बढेको निर्माण कार्यदलका प्रमुख एवं  प्राविधिक सेनानी सञ्जय केसीले बताए। निजी आवास निर्माणका लागि निर्माण सामग्री बोक्ने बाहेक अन्य सवारी साधन सञ्चालन गर्न अनुमति नदिएको उनले जानकारी दिए।

एउटा गाडीले एक चोटीमा १२ टनसम्म सामग्री बोक्न पाउने निर्माण कार्यदलका प्रमुख एवं प्राविधिक सेनानी केसीले बताए। मैलुङ र स्याफ्रुबेसी बिचमा पर्ने हाकुबेसीको पुलसम्म निर्माण सामग्री पु¥याउनका लागि वडा कार्यालयले रक्षा मन्त्रालयसँग अनुमति मागेको थियो।

आमाछोदिङ्मो गाउँपालिका– १ मा पर्ने ठुलोहाकु र हाकुबेसीमा तीन सय ६२ लाभग्राही रहेका छन्। सडक सुचारु भएपछि निर्माण सामग्री हाकुबेसीको पुलसम्म छिटो पुर्याउन सहज भएको वडाध्यक्ष निमादिण्डु तामाङले बताए।

अनुदान सम्झौता भएर घर निर्माण गरेका लाभग्राहीमध्ये दुई सय ४० जनाको दोस्रो किस्ताको लागि सिफारिस भएको सब–इन्जिनियर छत्रबहादुर शाहीले बताए। शाहीका अनुसार १० जनाको तेस्रो किस्ताको लागि सिफारिस भएको छ।

प्रकाशित: २४ चैत्र २०७४ ०५:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App