१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मेयरले लगाए कार्यकारीको कोठामा ताला

ललितपुर - ललितपुर गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले कार्यकारी अधिकृत टेकराज पन्थीको कार्यकक्षमा ताला लगाइदिएका छन्। गत आइतबार अवैध रुपमा वालुवा निकासी गर्दै आएको खानी दर्ता गर्नका लागि मेयरले कार्यकारीलाई दवाव दिएका थिए।

तर, कार्यकारीले मेयरले लेखेको पत्रमा हस्ताक्षर गर्न नमानेपछि त्यसैलाई निहुँ बनाएर मेयरले कार्यकारीलाई कार्यालयमा नआउन भन्दै 'नेम प्लेट' समेत निकालेका छन्। कार्यकारी अधिकृत पन्थीले हस्ताक्षर गर्न नमानेपछि मेयरले स्थानीय सरकार सञ्चालन ऐन मिच्दै सोमबारदेखि वीरगन्जबाट काजमा आएका सन्तबहादुर बस्नेतलाई निमित्त कार्यकारीको जिम्मा दिएका छन्। शुक्रबार नागरिककर्मी विहान ११ बजे नगरपालिकामा पुग्दा प्रशासकीय अधिकृत पन्थीको ‘नेम प्लेट’ ढोकामाथि झुण्डाएको थियो। केहीबेर मेयर महर्जनलाई भेटेर फर्किदा उक्त ‘नेमप्लेट’ समेत मेयरले कर्मचारीलाई हटाउन लगाएका थिए।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार मेयरले कुनै पनि कर्मचारीलाई निमित्त कार्यकारीको पदमा नियुक्ति गर्न पाइँदैन। यदी आवश्यक परिहाले कार्यकारी र मन्त्रालयले नियुक्ति गर्न सक्छ। जनप्रतिनिधिलाई कार्यालयको नीतिगत निर्णय गर्ने र कुनै पनि प्रशासनिक चिठीपत्र वा व्यवसाय दर्ता गर्ने अधिकार छैन। कार्यकारीलाई निकालेपछि अहिले प्रशासकीय अधिकृतले गर्ने हस्ताक्षर पनि मेयर आफैले गर्दै आएका छन्। नियम मिच्दै उनले शुक्रबार जिल्ला प्रशासन कार्यालय ललितपुर र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउने चिठीमा हस्ताक्षर गरेका थिए। यो कानुन विपरीत मानिन्छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव प्रेम प्रसाद लुइँटेलले मेयरले यसो गर्नु कानुन विपरीत भएको बताए। ‘यो पूरै काननु विपरीत मानिन्छ,’ उनले भने, ‘मेयरले प्रशासकीय अधिकृतले गर्ने पत्रमा हस्ताक्षर गर्न पाउँदैनन्।’ उनले गोदावरी नगरपालिकाले शुक्रबार नै टेकराज पन्थीको ठाउँमा निमित्त कार्यकारी अधिकृत खटाएको पत्र प्राप्त भएको बताए। ‘मेयरले कार्यालयमा नआउनु भनेपछि कार्यकारीले घर विदा फारम भर्नुभएको छ,’ उनले भने, ‘यदी मेयरले कार्यकारीको ‘नेमप्लेट’ निकालेको हो भने हामीले तुरुन्तै त्यसलाई मिलाउँछौं।’ 

मेयरले पाँचदिन अघिदेखि कार्यकारीको कक्षमा ताला लगाइदिएका थिए। आफ्नो कार्यकक्षमा ताला लगाएपछि मंगलबारसम्म विद्युतीय हाजिर थिचेर  फर्किएका कार्यकारी अधिकृत टेकराज पन्थीले जानकारी दिए। उनले लामो समयदेखि विवाद चुलिएको ढुंगाखानीको विषयमा आफूहरुको भनाभन भएको स्वीकारे। ‘मैले प्रशासनिक कामका कुनै पनि अवरोध गरेको छैन,’ उनले भने, ‘आइतबार नागरिक दैनिकमा वालुवा खानीको समाचार छापिएपछि उक्त खानीसँगै अन्य क्रसर उद्योगको दर्ता पक्रिया छिटो सक्न आग्रह गरेका थिए, मैले उक्त आग्रहलाई नमान्दा यस्तो भएको हो।’ मेयरसँग भनाभन भएपछि हारगुहार गर्दै शुक्रबार उनी सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसँग सरुवा माग्न गएका थिए । तर, मन्त्री पण्डितले अन्त सरुवा गर्न नमिल्ने भन्दै त्यही मिलेर काम गर्न उनलाई सुझाएका थिए । मन्त्री पण्डितलाई भेटेलगत्तै उनी मेयरसँगको टकराब मिलाउन जिल्ला प्रशासन कार्यालय ललितपुरका पुगेका थिए। ‘आजसम्म प्रशासनिक काम गर्न कुनै कठिनाई परेको थिएन,’ पन्थीले भने, ‘जनप्रतिनिधि आएपछि कर्मचारीलाई काम गर्न सकस परेको छ, धेरैजसो काम त पार्टी र मेयरका कागजात हेरफेरमै समय जान्छ।’

मेयर महर्जनले कार्यसम्पादन प्रति स्थानीयको गुनासो बढ्न थालेपछि कार्यालयबाट निकालेको दाबी गरे। ‘कार्याकारीले स्थानीयको भावना बुझेनन्, खाली बकमफुसे कामतिर मात्रै लागे, त्यसकारण मैले कार्यालय नआउन भनेको हुँ,’ उनले भने।

 

प्रकाशित: २३ चैत्र २०७४ १२:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App