१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

आर्थिक गणना कार्य प्रभावकारी बनाउन सरोकारवालाको सुझाव

आर्थिक गणना सम्बन्धी छलफलका सहभागी। तस्बिरः नागरिक

ताप्लेजुङ – आर्थिक क्रियाकलाप गर्ने प्रतिष्ठानको संख्या,वैधानिक स्थिति,क्षेत्रगत प्रतिष्ठानको घनत्व,लिङ अनुसारको रोजगारीको स्थिति र बैदेशिक पुँजीको लगानी लगायतका सूचक प्राप्तीका लागि सुरु हुन लागेको आर्थिक गणना कार्य प्रभावकारी बनाउन ताप्लेजुङका सरोकारवालाले सुझाएका छन्।

जिल्ला आर्थिक गणना कार्यालयले शुक्रबार सदरमुकाम फुङलिङमा आयोजना गरेको कार्यक्रमका सहभागीले देशकै आर्थिक अवस्थाको मापन र विश्लेषणका लागि हुन लागेको आर्थिक गणना उदेश्य अनुरुप केन्द्रित भए प्रभावकारी हुने बताए। ‘देशकै समग्र आर्थिक स्थितिको मूल्याङकन गरी नीति तथा कार्यक्रम तर्जुमा गर्न समेत आर्थिक गणना आवश्यक छ’ कार्यक्रमका प्रमुख अतिथि रहेका प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङले भने। उनले गणनाकार्य प्रभावकारी र तथ्यगत हुनुपर्नेमा जोड दिएका छन्।

प्रदेशसभा सदस्य होमकुमारी साँवाले नेपालमै पहिलो पटक सबै क्षेत्र समेटेर संकलन हुने आर्थिक गणना प्रभावकारी बनाउन स्थानीय सरकारले आर्थिक क्रियाकलापमा केन्द्रित समुदायका सदस्यलाई बढी प्रेरित गर्नुपर्ने बताइन्। जिल्ला समन्वय समितिका प्रमुख घनेन्द्र मादेले संकलन हुने तथ्याङक, भरपर्दो र समसामयिक हुनुपर्नेमा जोड दिँदै यसका लागि सबै स्थानीय सरकारले भरपूर सहयोग गर्ने बचन दिए।

जिल्ला आर्थिक गणना समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले आर्थिक गणना कार्य प्रभावकारी बनाउन सबै संयन्त्रलाई उत्तिकै सजग र प्रभावकारी ढंगले परिचालन गरिने बताए। उनले गणना कार्यमा खटिएका व्यक्तिलाई सहि, तथ्य र समसामयिक सूचना दिएर सहयोग गर्न आर्थिक क्रियाकलाप गर्ने इकाइहरूलाई आग्रह गरेका छन्।

जिल्ला आर्थिक गणना कार्यालयका प्रमुख मुकुन्द दाहालका अनुसार आर्थिक क्रियाकलाप गर्ने प्रतिष्ठानको कुल स्थिर सम्पतिमा भएको लगानी र प्रतिष्ठानहरुको ऋणमा पहुँच स्थापित गर्न गणना कार्य अघि बढाइन लागिएको हो। नयाँ वर्ष २०७५ को पहिलो दिनबाट सुरु हुने गणना कार्य जेठ ३१ गते सम्म गरिन्छ। दाहालले यसका लागि १८ जना गणक नियुक्ति गरी शनिबारबाट ५ दिने अनुशिक्षणमा सहभागी गराउने तयारी भइ रहेको जानकारी दिए।

आर्थिक गणना कार्यका लागि फुङलिङ नगरपालिकामा ४,फक्ताङ्लुङ,मेरिङदेन, आठराई त्रिवेणी,पाथीभरा याङ्वरक,सिदङ्वा र सिरीजङ्घा गाउँपालिकामा २–२ र मिक्वाखोला तथा मैवाखोला गाउँपालिकामा १–१ जना गणक नियुक्ति गरिएको छ। कुनैपनि व्यवसायिक प्रकृतिको प्रतिष्ठानलाई गणना क्षेत्रको रुपमा लिइने समेत उनले जानकारी दिए। जिल्ला आर्थिक गणना कार्यलयका नायव सुब्बा सुरेश अधिकारीका अनुसार सबै प्रकारका पसलहरू, अस्पताल, विद्यालय, विश्वविद्यालय, तालिम केन्द्र, साना तथा ठूला होटल, चमेना गृह, दर्ता भएका कृषि व्यवसायहरू,बस्तु उत्पादन गर्ने उद्योग,ल तथा अडिट फर्म, बैंक तथा बित्तिय संस्था,सहकारी, राजनीतिक पार्टीका संगठन तथा भातृ संस्थाहरू,मठ–मन्दिर, र उपभोक्ता समूह जस्ता आर्थिक क्रियाकलाप गर्ने केन्द्र गणनाको कार्य क्षेत्रमा पर्नेछन्।

यस्ता क्षेत्रहरूलाई राष्ट्रिय योजना आयोग÷केन्द्रिय तथ्याङ्क बिभागले आर्थिक प्रतिष्ठानको रुपमा ब्याख्या गरेको छ। प्रतिष्ठान तथा व्यवसायको व्यवसायिक क्रियाकलाप सम्बन्धी वर्तमान अवस्था र यसको बित्तिय पक्ष सहित आधारभूत तथ्याङ्क उपलब्ध गराउन, केन्द्र, प्रदेश र स्थानीय तहका सरकारहरुलाई योजना–तर्जुमा र नीति निमार्ण गर्नका लागि आधारभूत तथ्याङ्क उपलब्ध गराउन,राष्ट्रिय लेखा प्रणाली सुदृढीकरण गर्न र तथ्याङ्कीय व्यवसायिक रजिष्ट्रर खडा गर्न आर्थिक गणना गर्न लागिएको हो।

आर्थिक गणना कार्यमा क्रियाशील सबै आर्थिक इकाइहरूको ठेगाना, दर्ता तथा स्वामित्व स्थिति, व्यवसाय सञ्चालन अवधि, व्यवसायको प्रकार, व्यवसाय शाखा÷प्रशाखाको स्थिति,मूख्य आर्थिक क्रियाकलाप, रोगजारीको स्थिति, पुँजी लगानी, ऋणमा पहुँच आदि तथ्याङ्क संकलन गरिन्छ। नेपालको तथ्याङ्कीय इतिहासमा पहिलो पटक हुन लागेको यस्तो प्रकृतिको आर्थिक गणनक कार्यका लागि कागजी प्रश्नावली फारामका साथै अनलाईन सर्वेक्षण मार्फत उत्तरदाताले आफ्नो व्यवसायको विवरण आफैं भर्न सक्ने र गणक मार्फत ट्याबलेट कम्प्युटर प्रयोग गरी गणना गर्न सकिने बिधी अपनाईन लागेको छ।

जिल्ला आर्थिक गणना अधिकृत दाहालका अनुसार यसका लागि तथ्याङ्क संकलनका लागि तोकिएका क्षेत्र, प्रयोगकर्ता, संघसंस्था, सरोकारवाला, नागरिक समाज र सञ्चारकर्मीको ठूलो भूमिका रहेको हुन्छ। ‘तथ्याङ्क भरपर्दो, सहि र विश्वसनीय बनाउन आम नागरिक र सरोकारवाला चनाखोे बन्न आवश्यक छ’दाहालले भने। जिल्ला समन्वय समितिको कार्यकक्षमा जिल्ला आर्थिक गणना कार्यालय स्थापना भएको छ।

प्रकाशित: २३ चैत्र २०७४ ११:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App