१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बाघसँग लड्ने भारतीय युवतीकाे चर्चा

बाघको आक्रमणमा परेलगत्तै रुपाली मेस्राम (बायाँ)ले आमासहित लिएको सेल्फी । तस्बिर : बिबिसी

नयाँ दिल्ली – रुपाली मेस्राम नाम गरेकी एक भारतीय महिलाले आफ्नो बाख्रालाई आक्रमण गर्न आउने बाघसँग केबल लौरोको सहाराले जुधेकी छन्।

बाघसँग लडेकी ती युवतीको ज्यान जोगिनु नै सबैभन्दा अचम्मको विषय रहेको चिकित्सकहरुलाई उधृत गर्दै बिबिसीले जनाएको छ।

बाघको आक्रमणमा परेको बाख्रा  कराएको सुनेपछि २३ वर्षीया रुपाली मेस्राम भारतको पश्चिमी राज्य महाराष्ट्रस्थित आफ्नो घरभित्रबाट दौडिएर बाख्रा भएको ठाउँतिर गएकी थिइन्। त्यहाँ पुगेपछि उनले लौरो उठाएर बाघलाई हिर्काएपछि बाघले उनीमाथि नै आक्रमण गरेको थियो। छोरी बाघसँग जुधिरहेको देखेपछि मेस्रामकी आमाले उनलाई तानेर घरभित्र लगेकी थिइन्। छोरीलाई बचाउन गएकी मेस्रामकी आमा पनि बाघको आक्रमणमा परि घाइते भएकी छिन्। बाघको आक्रमणमा परेपनि आमा–छोरी दुवै नै सामान्यमात्रै घाइते भएको र अहिले अस्पतालबाट डिस्चार्ज पनि भइसकेको बताइएको छ।

बाघको आक्रमणमा परेको बाख्रा बचाउन आफ्नो ज्यान नै दाउमा राखेपनि बाख्रा भने नबाँचेको बिबिसीले उल्लेख गरेको छ। बाघको आक्रमणमा परेपछि घाइते भएकी मेस्रामले रगतै रगत भएको आफनो सेल्फी लिएकी थिइन्। घटना गत साता भएको भएपनि समाचार बुधबारमात्रै बाहिरिएको थियो। बाघको आक्रमणमा घाइते भएकी मेस्रामको उपचारमा संलग्न चिकित्सकले उनको साहसलाई उदाहरणीय भएको भए पनि बाघले सख्त घाइते बनाउन नपाएकाले उनी भाग्यमानी भएको बताएका छन्। बाघको आक्रमणका कारण मेस्रामको टाउको, कम्मर, गोडा र हातमा चोट लागे पनि ती साधारण रहेको र पूर्ण निको हुने क्रममा रहेको चिकित्सकलाई उधृत गर्दै बिबिसीले जनाएको छ। टाउकोमा चोट लागेको कारण उनको सिटी स्क्यान गरिएको र चिकित्सकको निरीक्षणमा राखिएको छ। ‘मलाई लाग्यो मेरी छोरीको ज्यान जाँदै छ,’ उनकी आमा जिजाभाईलाई उधृत गर्दै बिबिसी हिन्दीले उल्लेख गरेको छ। रगतपिच्छे भएर आफ्नी छोरी साधारण लौरोले बाघसँग लडिरहेको देख्दा आफू अत्यन्तै त्रसित भएको पनि मेस्रामकी आमाले बताएकी छन्।

बाघसँग लडिरहेकी छोरीलाई सुरक्षित स्थलतर्फ लगेकी जिजाभाई बाघको ठ्याक्कै अघि परेकी थिइन्। बाघले उनलाई पनि आक्रमण गरेको थियो। तर अहिले उनको घाउ पनि निको भइरहेको छ। मेस्राम र उनकी आमाले बाघका बारेमा बन सुरक्षाकर्मीलाई जानकारी गराएपनि ३० मिनेटपछि उनी आउँदा बाघ उक्त क्षेत्रबाट गइसकेको थियो। वन्यजन्तु निकुञ्ज नजिकै रहेका कारण उक्त गाउँमा जंगली जनावर आइरहने उनीहरुले बताएका छन्। ‘यस्तो खालको आक्रमणमा परेपछि मलाई मेरो गाउँ जानेबारे सुरुमा त केही चिन्ता लाग्यो तर म डराएकी भने थिइँन,’ मेस्रामलाई उधृत गर्दै बिबिसी हिन्दीले जनाएको छ।

प्रकाशित: २२ चैत्र २०७४ ०३:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App