१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सीमामा छैन राज्यकाे उपस्थिति

नेपालको मुस्ताङ र चीनको तिब्बतको सीमामा पर्ने कोरला नाका । पृष्ठभूमिमा चीनले निर्माण गर्दै गरेको भौतिक संरचना । तस्बिर : छवि/नागरिक

पर्वत – चीनको तिब्बतसँग जोडिएको मुस्ताङको सीमा नाका कोरलामा नेपालको उपस्थिति छैन। चिनियाँ पक्षले ठाउँठाउँमा सिसिटिभीसहित निगरानी बढाएको छ तर नेपालका तर्फबाट सुरक्षाकर्मीसमेत खटाइएको छैन।

कोरला नाकाबाट झन्डै १२ किलोमिटर दूरीमा नेपाल प्रहरीको चौकी छ तर सो चौकीले सीमासम्म आफ्नो पहुँच पु-याउन सकेको छैन। चार हजार आठ सय ९५ मिटर उचाइमा रहेको कोरला नाका सञ्चालनका लागि जनस्तरदेखि राज्यका अधिकारीसम्म चर्चा चलिरहे पनि सीमामा त्यसअनुसारको गतिविधि भने पाइँदैन।

पछिल्लो समयमा मुस्ताङको मुक्तिनाथ हुँदै लोमान्थाङदेखि कोरला नाकासम्म घुम्न जाने पर्यटक बढे पनि नेपालले सीमामा सुरक्षाकर्मी राख्न सकेको छैन। सीमामा सुरक्षाकर्मी परिचालन नगर्दा कोरला नाकासम्म घुम्न जाने पर्यटकको सुरक्षा, भौगोलिक उचाइका कारण उनीहरुको स्वास्थ्यमा समस्या आउँदा उद्धार गर्ने वातावरण छैन।

कोरला नाकासम्म पुग्दा चारैतिर हिउँ नै हिउँको दृश्यावलोकन गर्न पाइने भए पनि नजिक नेपाली बस्ती र नेपाली सुरक्षाकर्मीको उपस्थिति नहुँदा समस्या आउनसक्ने त्यहाँ गएर फर्केका आन्तरिक पर्यटकले बताउने गरेका छन्।

मुस्ताङको लोमान्थाङ हुँदै छोसेरसम्म मानिसको बस्ती भए पनि त्यहाँबाट उत्तरतर्फ झन्डै १२ किलोमिटरसम्मको दूरीमा कुनै बस्ती छैन। कोरला नाकासम्म पुग्दा चारैतिर हिउँ नै हिउँको दृश्यावलोकन गर्न पाइने भए पनि नजिक नेपाली बस्ती र नेपाली सुरक्षाकर्मीको उपस्थिति नहुँदा समस्या आउनसक्ने त्यहाँ गएर फर्केका आन्तरिक पर्यटकले बताउने गरेका छन्।

लोमान्थाङ गाउँपालिकाका बासिन्दा सुरेन्द्रकुमार बिष्टले चीनसँग जोडिएको सीमामा नेपाली सुरक्षा बल परिचालन हुनुपर्ने बताए। ‘अन्य समस्याभन्दा पनि कोरला नाकासम्म पुग्ने पर्यटकको सुरक्षाका लागि पनि सीमामा सुरक्षाकर्मी खटाइनुपर्छ’, उनले भने। उनले सीमामा नेपाली सुरक्षा बल राखेर कोरला नाका सञ्चालन गर्न सकेमा मुस्ताङसहित समग्र ४ नम्बर प्रदेशले नै प्रचुर लाभ लिन सक्ने बताए। ‘सीमामा नेपालको उपस्थिति हुनुपर्छ, नाका पनि खोल्नुपर्छ’, उनले भने।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले भने सीमामा नेपाली सुरक्षाकर्मी राख्ने चाहना भए पनि जिल्लामा सुरक्षाकर्मीको संख्या कम हुँदा पु-याउन नसकिएको बताए। नाका सञ्चालनमा ल्याउने तयारी भइरहेको र त्योसँगै नेपाली सुरक्षाकर्मी परिचालन हुने उनले दाबी गरे। ‘नाका खोल्न नसक्नुभन्दा पनि नाका खोल्नका लागि पहिला पूर्वाधार बन्नुप-यो। अहिलेकै अवस्थामा नाका खोल्दैमा कसैले व्यापार गर्न सक्दैन। चिनियाँ अधिकारी र हामी नेपालका अधिकारी बसेर पटकपटक सीमा सुरक्षाका विषयमा छलफल गरिरहेका छौं’, उनले भने, ‘नेपालतर्फबाट बेनी–जोमसोम–कोरालासम्म सडकको काम धमाधम भइरहेको छ, यो सडक निर्माणसँगै अन्य भौतिक संरचना बनाएर नेपाली सुरक्षाकर्मीसमेत परिचालन हुन्छन्।’

उनले चीनतर्फ कोरला नाकामा पूर्वाधार विकास भइरहेको र नेपालले दुई महिनाअघि भन्सार, सीमा सुरक्षा बल र अन्य पूर्वाधार निर्माणका लागि जग्गा छुट्याउने काम भइरहेको जानकारी दिए। ‘नाका खोल्नका लागि चिनियाँ पक्षले पूर्वाधार निर्माण गरिरहेको छ, नेपाली पक्षले पनि प्रक्रिया सुरु गरिसकेको छ’, उनले भने। उनले निकट भविष्यमै सशस्त्र प्रहरीको सीमा सुरक्षा बल स्थापना गर्न लागेको पनि जानकारी दिए।

‘नेपालले सीमामा भरपर्दो सुरक्षा व्यवस्था मिलाउँछ । सीमामा सुरक्षाको चासो घुम्न जाने पर्यटकलाई पनि छ, उता चिनियाँ पक्षलाई पनि उत्तिकै छ’, प्रजिअ तिवारीले भने। उनले चिनियाँ पक्षले राख्ने गरेको एक चीन नीतिप्रतिको चासोलाई नेपालले समर्थन गर्दै सुरक्षाको ग्यारेन्टी गरेपछि नाका सञ्चालनमा आउने जानकारी दिए। ‘अहिले नाका नखुल्नुको मुख्य कारण सुरक्षा होइन, पूर्वाधार हो’, उनले भने, ‘पूर्वाधार बनेपछि नाका स्वतः सञ्चालनमा आउँछ।’ यो नाका खुलेपछि ४ नम्बर प्रदेशले भारतसँग निर्भर हुने अवस्था अन्त्य हुनेछ। प्रजिअ तिवारीले सीमामा नेपाली सुरक्षा बल नभए पनि साप्ताहिक र मासिक रुपमा चिनियाँ पक्ष र नेपालका सुरक्षाकर्मीले संयुक्तरुपमा सीमास्तम्भको अनुगमन र निरीक्षण गर्दै आएको जानकारी दिए।

प्रकाशित: २२ चैत्र २०७४ ०२:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App